१० बजे १० समाचार : आगामी आर्थिक वर्षको बजेट घोषणादेखि राजावादी आन्दोलनसम्म

काठमाडौँ । आज मिति २०८२ साल जेठ महिनाको १५ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १० बजे १० समाचार लिएर उपस्थित भएका छौँ–
१. बजेट घोषणा
सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले संसद्को संयुक्त बैठकमा बिहीबार आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि उक्त आकारको बजेट ल्याएका हुन् ।
यो चालु आवको तुलनामा ५.५८ प्रतिशतले धेरै हो । यो संशोधित बजेट भन्दा १८.२ प्रतिशत धेरै हो । यस वर्ष सरकारले १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएको थियो ।
सरकारले चालु बजेट ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन गरेको छ । यो कुल विनियोजनको ६०.१ प्रतिशत हो ।
पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड विनियोजन भएको छ । यो कुल बजेटको २०.८ प्रतिशत हो । वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब २४ करोड विनियोजन भएको छ । यो कुल बजेटको १९.१ प्रतिशत हो ।
आगामी आर्थिक वर्ष सरकारले प्रदेश र स्थानीय तहमा ४ खर्ब १७ अर्ब ८३ करोड रुपैयाँ हस्तान्तरण गर्दैछ । चालु आर्थिक वर्षमा ४ खर्ब ८ अर्ब २७ करोड रुपैयाँ हस्तान्तरण भएको थियो ।
खर्च बेहोर्ने स्रोततर्फ आगामी वर्ष राजस्वबाट सरकारले १३ खर्ब १५ अर्ब रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेको छ । यस वर्ष राजस्व १२ खर्ब ४८ अर्ब ६२ करोड सङ्कलनको लक्ष्य राखेको थियो ।
आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब सङ्कलन गर्ने लक्ष्य रहेको छ । वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब ६६ करोड र वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड जुटाउने अर्थमन्त्री पौडेलले जानकारी दिए ।
२. बजेटबारे निजी क्षेत्र
सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटबारे निजी क्षेत्रले खुलेरै स्वागत गरेको गरेको छ । आर्थिक वर्ष २०८२÷८३ को बजेट यथार्थपरक र मुलुकको आवश्यकतालाई आधार बनाएर ल्याइएको निजी क्षेत्रले दाबी गरेको हो ।
बजेटले अब लामो समयदेखि समस्या रहेको मुलुकको अर्थतन्त्र चलायमान हुने उसले विश्वास लिएको छ ।
३. बजेटबारे थप समाचार
सुन पसलबाट कुनै ग्राहकले किनेको सुन फेरि बिक्री गर्दा २ प्रतिशत शुल्क लाग्ने भएको छ ।सरकारले आर्थिक विधेयकमार्फत सुनको बिक्री गर्दा विलासिता करका लागि तोकिएको सीमा हटाउँदै सबैलाई कर लाग्ने व्यवस्था गरेको हो ।
४. राजावादी र गणतन्त्रवादीको प्रदर्शन
देशमा गणतन्त्र स्थापना भएको १७ वर्ष पूरा भएको छ । विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकले २४० वर्षदेखि नेपालमा कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।
सोही ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ । तर, यही गणतन्त्र दिवसको दिन राजावादी समूहले व्यवस्थाकै विरुद्ध राजधानीमा प्रदर्शन गरेको छ ।
‘राजतन्त्र पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’को आयोजनामा राजधानीको शान्तिबाटिका क्षेत्रमा बिहीबार दिउँसो २ बजेपछि प्रदर्शन गरिएको हो । राजावादी समूहले बिहीबारदेखि वर्तमान व्यवस्थाविरुद्ध आजैदेखि अनिश्चितकालसम्म आन्दोलन गर्ने बताउँदै आएको छ । गर्दै एमालेले पनि आजै प्रदर्शन गरेका छ ।
५. बढुवा सिफारिस
सशस्त्र प्रहरी बलका डीआईजी गणेश बहादुर ठाडा मगरलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएको छ । बिहीबार गृह मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीको नेतृत्वमा बसेको बढुवा समितिले उनलाई एआईजीमा बढुवा सिफारिस गरेको हो ।
६. विप्लवको पार्टीको बैठक
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक जेठ १८ गते बस्ने भएको छ । हरेक ६÷६ महिनामा बस्ने नियमित प्रक्रिया अनुसार नै केन्द्रीय समिति बैठक बोलाइएको स्थायी समिति सदस्य कर्णजित बुढाथोकीले जानकारी दिए ।
७. त्रिविको स्पष्टीकरण
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) का ६ जना लेक्चरलाई स्पष्टीकरण सोधेको छ । त्रिवि रेक्टरको कार्यालयले ६ जना लेक्चरलाई स्पष्टीकरण सोधेकोमा एक जनाले जबाफ पेस गरेका छन् । बाँकीले कुनै प्रतिक्रिया जनाएका छैनन् ।
८. संसदको अर्को बैठक तय
प्रतिनिधिसभा बैठक जेठ २० गतेसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक जेठ २० गते बिहान ११ बजेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेका हुन् ।
आजको बैठकमा आर्थिक वर्षको बजेट पेस भयो । बजेट प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेका हुन् ।
९. रथयात्रा
रातो मच्छिन्द्रनाथको रथ आज लगनखेलबाट तानेर जावलाखेल पुर्याइएको छ । बिहीबार अपराह्नदेखि रथ तान्न सुरू गरेर साँझ जावलाखेल पुर्याइएको हो । वर्षा र सहकालका देवताका रूपमा पुजिने मच्छिन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाउने गरिन्छ । जावलाखेल पुर्याएसंगै अब आइतबार भोटो जात्रा मनाइन्छ ।
१०. दुखद खबर
नेकपा एमालेका नेता तथा पूर्व मन्त्री लालबालु पण्डितलाई पत्नी शोक परेको छ ।
उनकी पत्नी विमला महतको गएराति १२ः४५ बजे ६० वर्षको उमेरमा निधन भएको नेता पण्डितले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।