आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय
गणतन्त्र दिवसको दिन प्रदर्शन

शान्तिवाटिका क्षेत्रमा ४ हजार प्रहरी परिचालन, महत्त्वपूर्ण प्रतिष्ठानको सुरक्षामा खटियो सशस्त्र

२ बजेभित्र एमालेको प्रदर्शन पूरा गर्नुपर्ने
बिहीबार, १५ जेठ २०८२, १३ : ३४
बिहीबार, १५ जेठ २०८२

समाचार सारांश

  • राप्रपाले गणतन्त्रको विरोधमा शान्तिवाटिकामा प्रदर्शन गर्दैछ, जसलाई जिल्ला प्रशासनले अनुमति दिएको छ।
  • एमालेले भृकुटीमण्डपमा झाँकीसहितको सांस्कृतिक कार्यक्रम गर्दैछ, जसलाई दिउँसो २ बजेसम्म सक्ने अनुमति छ।
  • सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै, दुवै समूहलाई भेट्न नदिने गरी सुरक्षा योजना बनाइएको छ, जसमा ४ हजार प्रहरी परिचालन हुनेछन्।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गणतन्त्रको विरोधमा शान्तिवाटिका क्षेत्रमा प्रदर्शन गर्दैछ । बिहीबार मध्यान्ह २ बजेपछि प्रदर्शन गर्ने गरी जिल्ला प्रशासन कार्यालय काठमाडौँले राप्रपालाई अनुमति दिएको छ ।

नेकपा (एमाले)ले काठमाडौँको भृकुटीमण्डपमा प्रदर्शन गरिरहेको छ । नेकपा (एमाले)ले भृकुटीमण्डप र टुँडिखेल क्षेत्रमा झाँकीसहितको सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्न जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएको छ । दिउँसो २ बजेसम्म एमालेको प्रदर्शन पूरा गर्नुपर्नेछ ।

सुरक्षा चुनौतीका कारण दुई समूहलाई भेट हुन नदिने गरी सुरक्षा रणनीति तय गरिएको जिल्ला सुरक्षा समितिका एक जना अधिकृतले रातोपाटीलाई बताए । राप्रपाले शक्ति प्रदर्शन गर्न खोजेको शान्तिवाटिका क्षेत्रमा ४ हजार प्रहरी परिचालन गर्ने गरी सुरक्षा रणनीति तयार गरिएको छ । सशस्त्र प्रहरीलाई चाहिँ महत्त्वपूर्ण प्रतिष्ठानको सुरक्षामा परिचालन गर्ने निर्णय गरिएको काठमाडौँ जिल्ला सुरक्षा समितिका अधिकृतहरू बताउँछन् । ती अधिकृत भन्छन्, ‘सशस्त्रलाई विमानस्थल लगायत महत्त्वपूर्ण प्रतिष्ठानको सुरक्षामा केन्द्रित गरिएको छ ।’

सुरक्षामा खटिएका सशस्त्रको संख्या सार्वजनिक गरिएको छैन । प्रहरीले पनि औपचारिक रूपमा सुरक्षाकर्मीको संख्या सार्वजनिक गरेको छैन । काठमाडौँका एसएसपी विश्व अधिकारी भन्छन्, ‘आवश्यकता अनुसार सुरक्षाकर्मी परिचालन गरिएको छ ।’

८ सय ट्राफिक परिचालन

समाचार तयार गर्दासम्म राप्रपाका समर्थकहरू सिफल क्षेत्रमा भेला हुन थालेका छन् । प्रदर्शन केन्द्रित ट्राफिक व्यवस्थापनका लागी करिब ८ सय ट्राफिक प्रहरी परिचालन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले रातोपाटीलाई बताए ।

प्रदर्शन सुरु भएसँगै आवश्यकता अनुसार सवारी डाइभर्ट गरिने गिरीले बताए । उनले भने, ‘सडकमा प्रदर्शनकारीको संख्या धेरै भएमा वा कुनै झडपको अवस्था आएमा सवारी डाइभर्ट गर्ने गरी कार्ययोजना बनाएका छौँ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप