शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय

गणतन्त्रका उपलब्धिलाई नकार्ने प्रवृत्ति राजनीतिक पूर्वाग्रह : प्रदेश प्रमुख देवकोटा

बिहीबार, १५ जेठ २०८२, १४ : २८
बिहीबार, १५ जेठ २०८२

हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले गणतन्त्रको उपलब्धिलाई नकार्ने प्रवृत्तिलाई राजनीतिक पूर्वाग्रहको उपज भन्दै आलोचना गरेका छन् । 

१८ औँ गणतन्त्र दिवसको अवसरमा बिहीबार हेटौँडामा आयोजित औपचारिक समारोहलाई सम्बोधन गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र शासन व्यवस्था मात्र नभई न्याय, समानता, समावेशिता र सेवाभावको प्रतीक हुनुपर्ने धारणा व्यक्त गरे ।

‘गणतन्त्र अमूर्त कुरा होइन, यो अनुभूत गर्न सकिने व्यवस्था हो,’ प्रदेश प्रमुख देवकोटाले भने, ‘तर अझै पनि जनताले अपेक्षा गरेअनुसारको परिवर्तन महसुस गर्न सकेका छैनन् । त्यसैले अब राजनीतिक दलहरू सत्ता होइन, सेवा केन्द्रित भएर अघि बढ्नुपर्छ ।’

उनले राजनीतिक दलहरुलाई परिणाममुखी कार्यमार्फत जनताको सुखद दैनिकी सुनिश्चित गर्न र नागरिकलाई सर्वोपरि राखेर अगाडि बढ्न पनि आग्रह गरे ।

‘जनता विकास, रोजगारी र समृद्धि चाहान्छन् । जनताले हामीलाई सत्ताकेन्द्रित नभै सेवाकेन्द्रित भएको देख्न चाहान्छन्,’ उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रमा जनतालाई सर्वोपरि राखेर परिणाममुखी कार्यहरुमार्फत जनताको सुखद दैनिकीको सारथी हामी बन्नुपर्छ ।’

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले संघीय लोकतान्त्रिक गणतन्त्रको मुल आत्मा संघीयता र समावेशी शासन प्रणाली भएको उल्लेख गर्दै शासकीय सत्ता जनताको तहमा पुर्‍याउन काम अझै बाँकी रहेको बताए । नागरिकलाई अधिकार सम्पन्न बनाई समृद्ध प्रदेश निर्माण गर्न आफुहरु प्रतिबद्ध रहेको उनको भनाई थियो ।

मुख्यमन्त्री लामाले मुलुकमा सुशासनको अनुभूति हुन सकेन भने शासन गर्ने वैधतामा नै प्रश्न उठ्ने भन्दै असल शासनको प्रत्याभूती दिलाउन बागमती प्रदेश सरकार दृढताका साथ लागिरहेको दावी गरे । 

प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्न ढिलाइ भएको अवस्थामा प्रतिगामी तत्वहरूले शासन व्यवस्थामै प्रश्न उठाउने चेष्टा गरेको भन्दै उनले गणतन्त्रको विकल्प निरंकुश राजतन्त्र हुनै नसक्ने प्रस्ट पारे । नेपालको संविधानको मर्म र भावना अनुसार अघि बढ्न, राष्ट्रहित, गणतन्त्र र संविधानको रक्षार्थ एकजुट हुँदै समुन्नत राष्ट्र निर्माणको उद्देश्यप्रति समर्पित हुन पनि मुख्यमन्त्री लामाले सबैलाई आग्रह पनि गरे ।

गणतन्त्र दिवसको अवसरमा बागमती प्रदेशका विभिन्न जिल्लामा रहेर सामाजिक क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मानसमेत गरिएको थियो । उक्त अवसरमा गत १२ असोजमा नख्खु खोलामा आएको बाढीमा परेका दुई जनाको ज्यान जोगाएका चणिकलाल तामाङलाई प्रदेश सरकारले नगद डेढ लाख रुपैयाँसहित सम्मान गरेका छ ।

काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर ९ चोकटारका तामाङले गत १२ असोजमा आएको अबिरल बर्षाको कारण आएको बाढीमा नख्खु खोलामा बग्दै गरेका रौतहटका राजु साहकी छोरी ६ बर्षीया मेघना साह र राजुका भाइ २२ बर्षीय राज साहको ज्यानको जोखिम मोलेर उद्दार गरेका थिए । 

कार्यक्रममा पत्रकार प्रताप विष्ट, नवराज छत्कुल्लि, शोभा अर्याल, नेपोलियन चेपाङ लगाएत सम्मानित हुँदा सामाजिक विकास मन्त्रालयले आयोजना गरेको समाचार लेखन प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुने चारजना महिला पत्रकार पुरस्कृत भएका छन् । 

प्रतियोगितामा प्रथम हुने मकवानपुरकी कृष्णा विष्ट (सुनिता), बतिय हुने सरस्वती अधिकारी, तृतिय हुने स्मिता अर्जेल र सान्त्वना हुने काभ्रेकी सुनिता सापकोटालाई नगदसहित पुरस्कृत गरिएको हो । उनीहरुलाई पुरस्कार स्वरुप क्रमशः नगद २० हजार, १५ हजार, १० हजार र ५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । 

त्यसअघि विभिन्न जातजातिको भेषभूषा झल्काउने झाँकीसहितको र्‍यालीले नगर परिक्रमा गर्दै मुख्यमन्त्री कार्यालयको प्रांगणमा पुगेर गणतन्त्र दिवस कार्यक्रमको आयोजना गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप