शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
बजेट

युवा तथा खेलकुद मन्त्रालयको बजेट करिब दोब्बरले बढ्यो, यस्ता छन् प्राथमिकता

बिहीबार, १५ जेठ २०८२, १६ : ४५
बिहीबार, १५ जेठ २०८२

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि युवा तथा खेलकुद मन्त्रालयलमा ६ अर्ब आठ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । 

चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि खेलकुद मन्त्रालयमा विनियोजन गरिएको बजेट करिब दोब्बरले बढी हो । 

चालु आर्थिक वर्षमा युवा तथा खेलकुद मन्त्रालयका लागि तीन अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । 

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बिहीबार संसद्को संयुक्त सदनमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ५४ करोड बजेट विनियोजन गरेका हुन् ।

कर्णाली प्रदेशमा पहिलो पटक आयोजना हुन लागेको १०औँ राष्ट्रिय खेलकुदका लागि चालु आर्थिक वर्षको बजेटमा पनि रकम विनियोजन गरिएको थियो । १०औँ राष्ट्रिय खेलकुदका लागि चालु आर्थिक वर्षमा ६० करोड रुपैयाँ विनियोजन गरिएको छ । 

तर, १०औँ विभिन्न कारणले यो प्रतियोगिता निर्धारित समयमा आयोजना हुन नसकेपछि आगामी आर्थिक वर्षको बजेटमा रकम विनियोजन गरिएको हो । यसैगरी, झापाको दमकमा एकै स्थलमा विभिन्न खेलका प्रतियोगिता खेल्न मिल्ने गरी सुविधासम्पन्न अत्याधुनिक रंगशाला निर्माण गर्न आगामी आर्थिक वर्षको बजेटमा रकम विनियोजन गरिएको छ । 

यसैगरी, आगामी वर्षको बजेटले खेल पूर्वाधारलाई विशेष प्राथमिकतमा राखेको छ । सोलुखुम्बु, जुम्ला र मुस्ताङमा हाइअल्टिच्यूड स्पोर्टस स्टेडियम निर्माण गर्न पनि रकम विनियोजन गरिएको छ । 

काठमाडौंको मुलपानी क्रिकेट रंगशाला, मोरङको गिरिजा प्रसाद कोइराला रंगशाला, कैलालीको फाप्ला क्रिकेट रंगशाला र रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशाला निर्माण गर्न ४२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । 

यसैगरी, कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको स्तरोन्नतिका लागि ४० करोड बजेट विनियोजन गरिएको छ । चितवनस्थित गौतम बुद्ध क्रिकेट रंगशालाको सृजित सम्पत्ति खरिद गर्न सशर्त अनुदानको व्यवस्था गरिएको पनि बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।

चालु आर्थिक वर्षको बजेटमा भने भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा अगाडि बढाइने उल्लेख छ । यसैगरी, राष्ट्रिय एन्टी डोपिङ एजेन्सी सञ्चालन गर्न पनि आवश्यक बजेट विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।  प्रत्येक प्रदेशमा कम्तीमा तीन वटा विद्यालयमा स्पोर्टस एकेडेमी सञ्चालन गर्न पनि आवश्यक बजेट विनियोजन गरिएको छ ।

यसैगरी, १६ वर्षमाथिका युवालाई निश्चित मापदण्डका आधारमा राष्ट्रिय स्वमसेवक परिचयपत्र प्रदान गरिने पनि बजेट वक्तव्यमा उल्लेख गरिएको छ । युवा लक्षित यो नयाँ कार्यक्रम हो । यस्ता युवालाई विपद् उद्धारसँगै विभिन्न सामाजिक कार्यमा संलग्न गराइने छ ।

यसैगरी, निश्चित सर्तका आधारमा युवालाई धितोबिना नै दुईदेखि २० लाख रुपैयाँसम्म केवल तीन प्रतिशत ब्याजमा ऋण उपलब्ध गराइने पनि बजेट वक्तव्यमा उल्लेख गरिएको छ । खेलकुद क्षेत्रको विकासमा निजी क्षेत्रसँग सहकार्य गरिने पनि उल्लेख छ । 

पछिल्लो सात वर्षको बजेट

० आर्थिक वर्ष २०८२/८३ : ६ अर्ब ८ करोड
० आर्थिक वर्ष २०८१/८२: ३ अर्ब ५० करोड 
० आर्थिक वर्ष २०८०/८१ : २ अर्ब ८७ करोड ५९ लाख
० आर्थिक वर्ष २०७९/८० : ३ अर्ब २५ करोड २५ लाख
० आर्थिक वर्ष २०७८/७९ : २ अर्ब ७४ करोड ६८ लाख
० आर्थिक वर्ष २०७७/७८ : २ अर्ब ३६ करोड
० आर्थिक वर्ष २०७६/७७ : ३ अर्ब ९९ करोड ८ लाख

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप