‘नेपाली मिडियाको इतिहास : छापादेखि डिजिटलसम्म’ लोकार्पण

समाचार सारांश
- प्रेस काउन्सिल नेपालले 'नेपाली मिडियाको इतिहास: छापादेखि डिजिटलसम्म' पुस्तक लोकार्पण गर्यो, जसमा प्रेस स्वतन्त्रताको महत्वबारे जोड दिइयो।
- शिक्षा मन्त्रीले प्रेस स्वतन्त्रता जोगाउनुपर्ने र प्रेस काउन्सिललाई सशक्त बनाउनुपर्ने विचार व्यक्त गरे, साथै दक्षिण एसियामा नेपालको प्रेस स्वतन्त्रता तुलनात्मक रूपमा राम्रो रहेको बताए।
- पुस्तक विमोचन समारोहमा पत्रकारिताको विश्वसनीयता गुम्दै गएको र अफवाह बढेको चिन्ता व्यक्त गरियो, साथै पत्रकारिताको मूल मर्ममा गम्भीर हुन आह्वान गरियो।
काठमाडौँ । प्रेस काउन्सिल नेपालद्वारा प्रकाशित ‘नेपाली मिडियाको इतिहास: छापादेखि डिजिटलसम्म’ आज एक समारोहका बिच लोकार्पण गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्मा र वरिष्ठ पत्रकार रामकृष्ण रेग्मीले पुस्तक विमोचन गरे ।
कार्यक्रममा शिक्षामन्त्री पन्तले पत्रकारले लडेर ल्याएको प्रेस स्वतन्त्रतालाई संरक्षण गरी राख्नुपर्ने धारणा व्यक्त गरे । उनले पत्रकारका क्षेत्रका काम गर्ने निकायलाई सक्षम, प्रभावकारी बनाउँदै प्रेस स्वतन्त्रतालाई संरक्षण गर्न सबैको सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिए ।
‘तुलनात्मक रूपमा दक्षिण एसियामा हेर्दा नेपालमा प्रेस स्वतन्त्रता बढी रहेको छ’, मन्त्री पन्तले भने, ‘पत्रकार बेपत्ता हुनुपरेको छैन, जागिर गुमाउनुपरेको छैन । तुलनात्मक रूपमा यहाँको अवस्था सुधारोन्मुख छ । पत्रकारहरूले लडेर ल्याएको हो प्रेस स्वतन्त्रता । यसलाई सबैले जोगाउन सहयोग गर्नुपर्छ । सधैँ सरकारमा नभए पनि प्रेस स्वतन्त्रतालाई खुम्च्याउन दिनुहुँदैन ।’ उनले प्रेस काउन्सिललाई शक्तिशाली र प्रभावकारी बनाउनेतर्फ लाग्नुपर्ने बताए ।
‘प्रेस काउन्सिललाई शक्तिशाली बनाउनुपर्छ र न्याय प्रणालीसँग सम्बन्धित जनशक्ति यहाँ आवश्यक छ । आजको समयलाई निर्देश गर्न सक्ने काउन्सिल चाहिन्छ । काउन्सिलले प्रेस स्वतन्त्रताका बारेमा चिन्ता राख्दै सञ्चारमाध्यम निर्धारित मार्ग दिशाभन्दा बाहिर नजाओस् भनेर प्रभावकारी अनुगमन र मूल्याङ्कन गर्नुपर्छ’, उनले भने ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले पछिल्लो समय सञ्चारमाध्यममा भएका परिवर्तन कोशेढुङ्गाका रूपमा रहेका उल्लेख गर्दै समाचारका विषयवस्तुमा बृहत् छलफल गर्नु आजको आवश्यकता देखिएको बताइन् ।
उनले भनिन्, ‘प्रकाशन÷प्रसारण गर्ने सामग्रीका विषयमा छलफल गर्न आवश्यक देखिएको छ । सूचना सत्य हुनुपर्छ । सत्य सूचनाले नै ज्ञान र बौद्धिकता बढाउँछ । ज्ञान र बुद्धि बढाएर समाज रूपान्तरणमा पत्रकारिताले के गरेको छ भन्ने प्रश्नमा गम्भीर भएर लाग्न सबै सञ्चारजगतलाई अनुरोध छ ।’
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रकाशित पुस्तकले नेपाली पत्रकारिताको हिजोको कठिन अवस्था, विभिन्न कालखण्डका सङ्घर्ष र यथार्थ बोकेको बताए । उनले भने, ‘पत्रकारितामा विश्वासको धागो मक्किँदै जान थालेको छ । अफवाह र आधारहीन सूचना तथा समाचार छरिएका छन् । पत्रकारिताको मूल मर्ममा हामी सबै गम्भीर हुन आवश्यक छ ।’ उनले यो पुस्तक अङ्ग्रेजी संस्करणमा पनि प्रकाशन गर्ने तयारी भइरहेको जानकारी गराए ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले नेपाली सञ्चारमाध्यमको इतिहास छापादेखि डिजिटल प्रविधिसम्म आउँदा विश्वसनीयता गुम्दै गएको हो कि भन्ने अवस्था देखिएको बताइन् । उनले भनिन्, ‘सञ्चारमाध्यममा आएका आधारहीन र तथ्यहीन सामग्रीलाई कसरी परास्त गर्ने भन्नेतर्फ सबै सचेत हुनु आवश्यक छ ।’
पुस्तकबारे समीक्षात्मक टिप्पणी गर्दै वरिष्ठ पत्रकार रामकृष्ण रेग्मीले पत्रकारिताका नयाँ र पुराना पुस्ताबिच सार्थक संवादको आवश्यकता देखिएको बताए । उनले यस्तो छलफल अघि बढाउन र सञ्चारमाध्यमसँग चासो राख्ने सबैलाई यो पुस्तक उपयोगी हुने प्रतिक्रिया दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्खननको पर्खाइमा तामाखानी
-
‘धिमे बाजा’ को संरक्षणमा जुट्दै भोजपुरका नेवार समुदाय
-
तीन पटकको विजेतालाई हराउँदै पीएसजीले जित्यो यूईएफए च्याम्पियन्स लिगको उपाधि
-
यूईएफए च्याम्पियन्स लिगः डेसिरे डुएको दोस्रो गोलमा पीएसजीलाई ४ः० को अग्रता
-
सुदूरपश्चिमको क्रिकेट टोली घोषणा
-
यूईएफए च्याम्पियन्स लिगः ‘हाफ टाइम’ सम्म पीएसजीको अग्रता कायमै