आइतबार, १८ जेठ २०८२
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : राजावादीलाई रोक्न नारायणहिटीमा निषेधाज्ञा, आलमलाई मस्तिष्कघात

शुक्रबार, १६ जेठ २०८२, २२ : ००
शुक्रबार, १६ जेठ २०८२

काठमाडौँ । आज मिति २०८२ साल जेठ महिनाको १६ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

१. राजावादीलाई रोक्ने प्रयास

काठमाडौँको नारायणहिटी दरवार संग्रहालय क्षेत्रमा निषेधाज्ञा घोषणा गरिएको छ । 

शुक्रबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले उक्त स्थानमा पाँच जनाभन्दा बढि व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न नपाउने गरी निषेधाज्ञा जरी गरेका हुन् ।

शनिबार देखि आगामी असार २४ गतेसम्म केशरमहल चोकदेखि नारायणहिटी दरवार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म तथा महेन्द्र सालिक हुँदै नारायणहिटी दरवार संग्रहालय दक्षिण गेटसम्म विरोधका कार्यक्रम गर्न नपाइने भएको हो । शनिबार नै राजावादी समूहले सो क्षेत्रमा प्रदर्शनको तयारी गरेको सन्दर्भमा उनीहरुलाई रोक्ने उद्देश्यका साथ निषेधाज्ञा जारी गरेको बताइएको छ ।

२. आलम अस्पतालमा

नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री अफताव आलमलाई मस्तिष्कघात भएको छ । आज बिहान ९ बजे नै उनलाई अस्पताल पुर्‍याइएको बताइएको छ।

मानिसलाई इँट्टाभट्टामा ज्युँदै जलाएको अभियोगमा जन्मकैद पाएका आलमलाई केही दिनअघि मात्रै उच्च अदालत वीरगञ्जले सफाइ दिएको थियो ।

३. अदालतको आदेश

निजी विद्यालयमा नेपाली भाषा बोल्दा विद्यार्थीलाई कारबाही गर्ने प्रवृत्तिविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

शुक्रबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले विद्यालयले विद्यार्थीलाई नेपाली भाषा बोल्न नदिने वा त्यसका लागि कारबाही गर्ने कार्य नगर्न आदेश जारी गरेको हो ।

४. बजेटबारे मोर्चामा असन्तुष्टि

आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले ल्याएको बजेटप्रति संघीय लोकतान्त्रिक मोर्चामा आवद्ध दलहरूले असन्तुष्टि जाहेर गरेका छन् ।

बजेट सार्वजनिक हुनुभन्दा एक साता अगाडि लोकतान्त्रिक मोर्चाको बैठकले सरकारलाई बजेटबारे केही सुझाव दिएको थियो, तर त्यो अनुसार बजेट नआएको मोर्चामा आवद्ध दलका नेताहरूले बताएका छन् ।

५. विपक्षी अडान

आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट संसदमा पेस गर्न दिएका प्रतिपक्षी दलले बजेटमाथिको छलफल अघि सहमति नजुटे संसद् बैठक अवरोध गर्ने भएका छन् । आगामी जेठ २० गतेदेखि संसदमा बजेटमाथि छलफल गर्न संसद्को कार्यतालिका छ ।

६. गगन–शेखर भेट

नेपाली कांग्रेसमा इतर समूहको नेतृत्व गरेका नेता डा शेखर कोइराला र महामन्त्री गगन थापाबिचच ११ महिनापछि शुक्रबा भेटवार्ता भएको छ  ।आज बिहान डा कोइरालाको बालुवाटारस्थित सचिवालयमा दुई नेताबिच भेटवार्ता भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।

७. प्रहरीमा पदस्थापन र सरुवा

११ प्रहरी नायव महानिरीक्षक (डीआईजी)को बढुवा भएको छ । गृहमन्त्रीस्तरीय निर्णयअनुसार बढुवा भएसँगै उनीहरूको पदस्थापन तथा काज गरिएको प्रहरी प्रधान कार्यालयले शुक्रबार जनाएको छ ।

८. आयोग

नेपालमा २०५२ सालदेखि २०६३ सालसम्म सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकार उल्लङ्घन सम्बन्धी घटना छानबिन गरी सत्य उदघाटन गर्न, पीडितलाई परिपूरण प्रदान गर्न र न्याय स्थापित गर्न कार्यादेश पाएका सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले पूर्णता पाएसँगै म्याण्डेटअनुसार काम गर्न थालेका छन् ।

सर्वोच्च अदालतको आदेश, पीडितहरूको संगठनका माग तथा अन्तर्राष्ट्रिय समुदायको चासोलाई समेत सम्बोधन गर्दै २०८१ भदौमा ऐन संशोधन भएपछि यी आयोग गठन भएका हुन् । नयाँ आयोग गठनको प्रक्रियाप्रति एकथरि पीडित र केही मानवअधिकार संस्थाले असहमति जनाएका छन् भने अर्काथरि संगठनहरूले ‘पर्ख र हेर’को रणनीति अनुसार दुई आयोगले गर्ने कामको आधारमा समर्थन वा विरोध जनाउने बताउँदै आएका छन् ।

९. बजेटको कुरा

यसपटक १० वटा मन्त्रालयको बजेट दोहोरो अङ्कले बढेको छ । एकल अङ्कले बजेट बढे पनि २ वटा मन्त्रालयले कुल बजेटमा पाएको हिस्सा बढेको देखिन्छ । एकल अङ्कमै बजेट बढेका ७ मन्त्रालयको यसपटक बजेटको हिस्सा घटेको छ । बाँकी ३ मन्त्रालयको भने बजेट नै घटेको छ । यसले बजेटमा ती मन्त्रालयको हिस्सा समेत स्वतः घटेको देखिन्छ ।

१०. राष्ट्रिय परिचयपत्र

सरकारले राष्ट्रिय परिचयपत्रको छपाइ बन्द गर्ने तयारी गरेको छ । हाल भौतिक रूपमा छपाइ भएर वितरण हुँदै आएको कार्डलाई अब डिजिटल कार्डमा रूपान्तरण गरेर कार्ड छपाइ बन्द गर्न लागिएको हो ।

थप समाचार

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप