खुम्बु क्षेत्रमा आठ महिनामा १३ विदेशी पर्यटकको मृत्यु

समाचार सारांश
- सोलुखुम्बुको खुम्बु क्षेत्रमा पछिल्लो आठ महिनामा १३ विदेशी पर्यटकको मृत्यु भएको छ। मृत्युको मुख्य कारण लेक लाग्ने, मुटुसम्बन्धी समस्या र मौसमको प्रतिकूलता रहेको पाइएको छ।
- मृत्यु हुने पर्यटकहरू जापान, अष्ट्रेलिया, भारत, सिङ्गापुर, रोमानिया, चीन, बेल्जियम, मलेसिया र फिलिपिन्सका नागरिक छन्। उनीहरूको उमेर समूह ३० देखि ६५ वर्ष रहेको छ।
- सगरमाथा आरोहणका क्रममा ६ जनाको मृत्यु भएको छ। पर्यटन व्यवसायीहरूले स्वास्थ्य परीक्षण, तालिम र सचेतना कार्यक्रमको आवश्यकता औंल्याएका छन्।
सोलुखुम्बु । पछिल्लो आठ महिनामा खुम्बु क्षेत्रमा १३ विदेशी पर्यटकले भवितव्यमा परी ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार गत वर्षको असोजदेखि यही जेठ ४ गतेको अवधिमा खुम्बु क्षेत्रमा उक्त सङ्ख्यामा विदेशी पर्यटकको मृत्यु भएको हो ।
जिल्ला प्रहरीका सूचना अधिकारी विकास राईका अनुसार मृत्यु भएकामध्ये अधिकांशको लेक लागेर, मुटुसम्बन्धी समस्या र मौसमको प्रतिकूलता देखिएको छ । मृत्यु हुने पर्यटकहरु जापान, अष्ट्रेलिया, भारत र सिङ्गापुरका दुई/दुई जना, रोमानिया, चीन, बेल्जियम, मलेसिया र फिलिपिन्सका एक/एक जना छन् ।
उनीहरूको उमेर समूह ३० देखि ६५ वर्ष छ । जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक मनोवत कुँवरका अनुसार मृत्यु भएकामध्ये छ जनाको हिमाल आरोहणका क्रममा मृत्यु भएको हो ।
जसमा सगरमाथा आरोहणका क्रममा फिलिपिन्स र भारतका एक/एक आरोहीले ज्यान गुमाएका छन् भने ल्होत्सेमा भारत र रोमानियाका आरोहीले ज्यान गुमाएका छन् । मेरा पिकमा एक जना बेल्जियमका नागरिक र आमादब्लम आरोहणका क्रममा एक अष्ट्रेलियन नागरिकले ज्यान गुमाए ।
खुम्बु क्षेत्रको सौन्दर्य र चुनौती
खुम्बु क्षेत्र विश्वभरका पर्यटकको सपनाको गन्तव्य हो । सगरमाथा मात्र नभई यहाँका सम्पूर्ण हिमाली भूभाग, ल्होत्से, नुप्त्से, आमादब्लम, थामसेर्कु, खाङ्तेका, चोयुजस्ता हिमशृङ्खलाहरूले यो क्षेत्र मनमोह छ । यहाँका गाउँघर, शेर्पा समुदायको संस्कृति, उनीहरूको धार्मिक आस्था र हिमाली जीवनशैलीले पनि पर्यटकलाई आकर्षित गर्छ । सगरमाथा राष्ट्रिय निकुञ्जभित्र पर्ने यो क्षेत्र युनेस्कोद्वारा विश्वसम्पदा सूचीमा सूचीकृत छ ।
जसका कारण हरेक वर्ष हजारौँ पर्यटकले खुम्बु क्षेत्र भ्रमण गर्छन् । तर खुम्बु क्षेत्रमा जोखिम पनि उत्तिकै छ । लेक लाग्ने, चिसो मौसम, अक्सिजनको कमी, हिमपहिरो र स्वास्थ्यसम्बन्धी अन्य समस्याले पर्यटकहरुले ज्यान गुमाउने सगरमाथा आरोही विजय विश्वकर्माले बताए । उनले भने, ‘हिमाल घुम्नु जति आनन्द छ त्यतिकै चुनौती पनि छ, यही सिजनमा सगरमाथा आरोहण गर्दा म आफैँ पनि दुर्घटनामा परेँ, सगरमाथाको तेस्रो शिविर माथिबाट खसेको आइसको डल्लाले लागेर मेरो टाउकामा आठ टाँका लगाउनुपर्यो ।’
पर्यटन व्यवसायीहरूले प्रत्येक पर्यटकीय याम सुरु हुनुअघि स्वास्थ्य परीक्षण, उचाइमा हिँड्न आवश्यक तालिम र सचेतना कार्यक्रम गर्नुपर्ने आवाज उठाउँदै आएका छन् ।
पर्यटकका लागि आवश्यक पूर्वतयारी, स्वास्थ्य परीक्षण, पथप्रदर्शकको भूमिका, आवश्यक पूर्वाधारको उपलब्धता, हेलिकप्टर उद्धार प्रणालीको मजबुतीकरण, मौसम पूर्वानुमानको सही जानकारी र जोखिम न्यूनीकरणका उपायहरू थप मजबुत बनाउनुपर्ने स्थानीय पर्यटन व्यवसायीहरू बताउँछन् ।
यस क्षेत्रमा आउने पर्यटकहरू प्रायः ‘हाइ अल्टिच्यूड’ कै कारण समस्यामा पर्ने गरेको कान्छो सगरमाथा आरोही तेम्बा छिरी शेर्पा बताउँछन् । पर्यटकका लागि अनिवार्य स्वास्थ्य परीक्षणको व्यवस्था, वातावरणीय सचेतना र स्थानीय प्रशासनको प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातो मच्छेन्द्रनाथको भोटो आज देखाइँदै
-
मुक्तिनाथधाममा पदमार्ग निर्माण
-
उत्खननको पर्खाइमा तामाखानी
-
‘धिमे बाजा’ को संरक्षणमा जुट्दै भोजपुरका नेवार समुदाय
-
तीन पटकको विजेतालाई हराउँदै पीएसजीले जित्यो यूईएफए च्याम्पियन्स लिगको उपाधि
-
यूईएफए च्याम्पियन्स लिगः डेसिरे डुएको दोस्रो गोलमा पीएसजीलाई ४ः० को अग्रता