सोमबार, १९ जेठ २०८२
ताजा लोकप्रिय

इमान, निष्ठा र क्षमताले कार्यसम्पादन गरे न्यायपालिका कहिल्यै बदनाम हुँदैन : प्रधानन्यायाधीश राउत

शनिबार, १७ जेठ २०८२, १४ : ५०
शनिबार, १७ जेठ २०८२

समाचार सारांश

  • प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिकालाई बदनाम हुन नदिन इमान, निष्ठा र क्षमताका आधारमा काम गर्नुपर्ने बताए।
  • उनले कर्मचारीको भूमिका महत्त्वपूर्ण रहेको र न्याय सेवा गौरवपूर्ण बनाउनुपर्नेमा जोड दिए, साथै कर्मचारीको क्षमता परिचालनमा जोड दिए।
  • राउतले कर्मचारीको हितसँगै विधिको शासन र न्यायिक अक्षुण्णता कायम राख्न आग्रह गरे, र आफूले कर्मचारीमा उत्साह जगाउने प्रयास गरिरहेको बताए।

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले इमान, निष्ठा र क्षमताका आधारमा कार्यसम्पादन गर्दा न्यायपालिका कहिल्यै बदनाम नहुने बताएका छन् । शनिबार न्यायपालिका अधिकृत समाजको पाँचौँ वार्षिक साधारणसभाको उद्घाटन सत्रमा बोल्दै प्रधानन्यायाधीश राउतले न्यायपालिकाप्रति सोझिएको प्रश्नको समाधानका लागि आफूले सधैँ प्रयास गरिरहेको बताएका हुन् । 

मर्यादित, सम्मानित र प्रतिष्ठित न्यायपालिका निर्माणमा कर्मचारीको भूमिका महत्त्वपूर्ण रहने उनको भनाई थियो भयो । देशभरका न्यायालयको रेकर्ड हेर्दा कर्मचारीहरू न्यायपालिकाको आधार स्तम्भ भएको महसुस गरेको प्रधानन्यायाधीश राउतले बताए । 

प्रधानन्यायाधीश राउतले भने, ‘तपाईँहरू सबै कानुन र न्यायको क्षेत्रमा न्याय सेवामा आबद्ध हुनुहुन्छ । न्यायपालिकाको न्याय सेवा गौरवपूर्ण न्याय सेवा हो । गौरवपूर्ण न्याय सेवा हामीले बनाउन सकेका छौँ । यदि त्यस्तो पहिचान बन्न सकेको छैन भने त्यसको कारण के हो ? यसको कारण खोज्ने समय भयो कि भएन । यसको समीक्षा गर्ने बेला भएन ? यदि समीक्षाले समाधान आएन भने निर्मम समीक्षा गर्नुपर्छ । तपाईँहरूको अद्भुत क्षमता, तपाईँहरूको योग्यता, विलक्षणता आज त्यसका लागि पनि एक्सप्लोर गर्न तपाईँहरू प्रयत्नरत हुनुपर्छ । तपाईँहरूसँग जोडिने अर्को कुरा सेवा प्रवाह छ । त्यो सेवा प्रवाहमा तपाईँहरू कति सन्तुष्ट हुनुहुन्छ ?’

उनले थपे, ‘मलाई भन्नुहुन्छ र यही प्रश्न तेर्साउनुहुन्छ भने मलाई सर्वोच्च अदालतले जुन जिम्मेवारी दियो । कर्मचारीदेखि न्यायाधीशसम्मको क्षमता जाँच्ने इच्छा जाग्यो तर तपाईँहरू सबै प्रतिभावान् हुनुहुन्छ । तर संस्था र नेतृत्वले परिचालन गर्न नसकेका कारण हामीले लक्ष्य प्राप्त हुन सकेको रहेनछ । तपाईँहरूले धेरै काम गर्नुभएको छ । देशको एउटा प्रधानन्यायाधीशको हकमा तपाईँहरूप्रति सन्तुष्ट छु । यसनिम्ति अझ तयार हुनुपर्ने बेला भएको छ । म सन्तुष्ट हुने मानकहरू छन् । जस्तो मुद्दा फर्छ्यौटमा के भयो ? मुद्दा व्यवस्थापनमा के भयो ? परिणाम आयो कि आएन ? अल्टिमेट सबै ठाउँमा परिणाम आएको छ । निराश हुनुपर्ने कुरा पनि छैन । म निराश छैन । तर मलाई गम्भीर समस्या कहाँ परेको छ भने तपाईँहरूलाई उत्साही बनाउन सकिन कि भन्ने लाग्छ । तालिम, वृत्ति विकास या विदेश भ्रमण या अध्ययन केही न केही त पक्का छ । प्रेरित गर्ने प्रसङ्गहरूलाई हामीले प्रक्रिया सुरु गरेका छौँ चाँडै रिजल्ट आउँछ । 

उनले न्यायपालिकाका अधिकृतहरूको हितमा मात्र केन्द्रित नभई विधिको शासनको रक्षा र न्यायिक अक्षुण्णता कायम राख्नेतर्फ ध्यान दिन आग्रह गरे । उनले भने, ‘म हिजोआज कर्मचारीमा उत्साह जगाउनेतर्फ सजग रहेको छु । हामी अहिले न्याय सेवामा छौँ । न्याय सेवामा भएका कारण हाम्रो स्थिति कस्तो छ भने दुनियाँले हामीलाई कसरी हेरेको छ । किनभने यो संस्था जनआस्थामा टिक्ने हो । कुनै कालखण्डमा सर्वोच्च अदालतमा निर्वाचनको मुद्दा पाँच वर्ष कटेपछि मात्रै फैसला भएको थियो । तपाईँहरू न्यायपालिकाको आधार स्तम्भ हो । तपाईँहरूकै सहयोग र बलमा न्यायिक सुधार गर्छु भनेर हिँडेको छु त्यसबाट पनि भएन भने अन्तिम अवस्था भनेको नैतिकता मात्रै हो । न्यायपालिकामा सधैँ मेरो भूमिका हुँदैन तर भूमिकामा भएको समयमा मैले केही गर्न सकिन भने त्यसको कुनै अर्थ हुँदैन । त्यस कारण हामीप्रति सोझिएको प्रश्नको समाधान गर्ने प्रयासमा छु । त्यसैले निःसन्देह तपाईँहरूको योगदान हेर्दा हामी मर्यादित सम्मानित र प्रतिष्ठित न्यायपालिकाको कर्मचारी बन्दा सबैको शिर सधैँ उच्च रहन्छ । एक पटक हामीले इमान र निष्ठासँगै क्षमतालाई फ्युजन गराएर कार्यसम्पादन गर्‍यौँ भने न्यायपालिका कहिल्यै बदनाम हुँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप