सोमबार, १९ जेठ २०८२
ताजा लोकप्रिय

दोलखामा बाग्मती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

शनिबार, १७ जेठ २०८२, २१ : ३४
शनिबार, १७ जेठ २०८२

दोलखा । बाग्मती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि दोलखामा सुरु भएको छ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आज यहाँ आयोजित एक कार्यक्रमबीच प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

पूर्वगृहमन्त्रीसमेत रहेका सिटौलाले सबै राजनीतिक दल र नेताहरू जनताप्रति उत्तरदायी र जवाफदेही हुनुपर्ने धारणा राखे । लोकतान्त्रिक पद्धतिमा दलहरूबीच स्वस्थ प्रतिस्पर्धा स्वाभाविक रहेको जनाउँदै उनले नेतृत्वमा रहेका सबै जनताप्रति पारदर्शी र जवाफदेही बन्नुपर्नेमा जोड दिए ।

नेता सिटौलाले दलसँगको समन्वय र सहकार्यमा संविधान संशोधन हुने बताए । देशको अर्थतन्त्र चलायमान बनाउँदै मुलुकलाई समृद्ध बनाउन सबैबीच सहयोग र सहकार्यको भावना विकसित हुनुपर्नेमा जोड दिए ।

नेपालले खेलकुदका क्षेत्रमा राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा ख्याति प्राप्त गर्दै आएको उल्लेख गर्दै नेता सिटौलाले सङ्घीय सरकारले पनि खेलकुद क्षेत्रका लागि आगामी आर्थिक वर्षमा बजेट वृद्धि गरेको जानकारी दिए । 

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले खेलकुद क्षेत्रलाई प्रदेश सरकारले प्राथामिकताका साथ अघि बढाउँदै गएको बताउँदै आगामी आर्थिक वर्ष २०८२÷८३ मा खेलकुद क्षेत्रका लागि बजेट वृद्धि गरिने प्रतिबद्धता व्यक्त गरे । 

प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनको सभापतित्वमा सम्पन्न प्रतियोगिताको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका नेता छिरिङ लामाले पनि आफ्नो धारणा राखेका थिए ।

तीन दिनसम्म सञ्चालन हुने प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराँते र उसु गरी छ विधाका खेल हुने प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव दीपक लामाले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा प्रदेशका १३ जिल्लाबाट ११३ जना खेलाडी सहभागी छन् ।

आजै नेता सिटौलाले नेपाली कांग्रेसको दोलखा भीमेश्वर नगरपालिका–६ स्थित चरिकोट बजारमा निर्माण हुन लागेको पार्टी कार्यालय भवनको शिलान्यास पनि गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप