माओवादी आन्दोलनको ऐतिहासिक पृष्ठभूमि र औचित्य

नेपालको राजनीतिक इतिहासमा माओवादी आन्दोलन एक युगान्तकारी मोडको रूपमा स्थापित छ । यसले न केवल सत्ता संरचनामा आमूल परिवर्तन ल्यायो, बरु सामाजिक चेतनाको जरो हल्लाउँदै नेपाली जनतालाई आफ्नो अधिकारको लागि उठ्न प्रेरित गर्यो । द्वन्द्वका पीडा, संघर्षका उतारचढाव र आन्दोलनपछिको संक्रमणकालीन चुनौतीहरू हुँदाहुँदै पनि माओवादी आन्दोलनले नेपाललाई सामन्ती राजतन्त्रको अँध्यारोबाट लोकतान्त्रिक गणतन्त्रको प्रकाशमा ल्याउने ऐतिहासिक जिम्मेवारी पूरा गर्यो ।
- ऐतिहासिक पृष्ठभूमि
सदियौँदेखि नेपालमा एकल जातीय, एकल सांस्कृतिक र वर्गीय शासकीय संरचना कायम थियो । राजतन्त्रको नेतृत्वमा केही मुठीभर व्यक्तिहरूले राज्य सञ्चालन गरे, जब कि अधिकांश जनसंख्या सीमान्तकृत, उत्पीडित र वञ्चित जीवन बिताउन बाध्य थिए । २०४६ सालको जनआन्दोलनपछि बहुदलीय व्यवस्था आए पनि संरचनागत विभेदमा खासै परिवर्तन आएन । वर्गीय शोषण, जातीय भेदभाव, लैङ्गिक असमानता, क्षेत्रीय पछौटेपन यथावत् रहे ।
यसै अवस्थामा नेकपा (माओवादी) ले २०५२ सालमा जनयुद्ध सुरु गर्यो । यो सशस्त्र आन्दोलनको मुख्य उद्देश्य थियो— राजतन्त्रको अन्त्य, गणतन्त्रको स्थापना, समाजवादतर्फ अग्रसर हुने बाटो खोल्ने र सीमान्तकृत वर्गको प्रतिनिधित्व सुनिश्चित गर्ने ।
माओवादी जनयुद्ध केवल सत्ता परिवर्तनका लागि होइन, राज्य संरचनालाई समूल परिवर्तन गर्नका लागि थियो ।
- आन्दोलनको औचित्य
माओवादी आन्दोलनको औचित्य बहुआयामिक छ, जुन नेपाली समाजको गहिरो संरचनागत संकटसँग प्रत्यक्ष सम्बन्धित छ ।
१) वर्गीय, जातीय र लैङ्गिक उत्पीडनविरुद्धको विद्रोह : नेपालमा सयौँ वर्षदेखि दलित, जनजाति, महिला, मधेशी लगायत समुदाय दोस्रो दर्जाका नागरिकझैँ व्यवहार गरिँदै आएका थिए । उनीहरूको प्रतिनिधित्व राजनीतिक, प्रशासनिक र न्यायिक संरचनामा नगण्य थियो । माओवादी आन्दोलनले उनीहरूलाई राजनीतिक चेतनासँग जोड्यो, सङ्गठित बनायो र राज्य संरचनाभित्र अधिकार सुनिश्चित गर्न दबाब सिर्जना गर्यो ।
२) भूमिहीनता र आर्थिक अन्याय : ग्रामीण क्षेत्रका किसानहरू अझै जमिनदारी संरचनाको अवशेषले पिल्सिरहेका थिए । आन्दोलनले भूमिसुधारको एजेन्डा अघि सारेर वर्गीय शोषणको अन्त्यको माग गर्यो ।
३) केन्द्रीकृत राज्य संरचनाको विरोध : केन्द्रमा काठमाडौँदेखि शासन हुने तर सुदूरपश्चिम, कर्णाली र मध्य तराईजस्ता क्षेत्र सदैव विकास र सेवा–सुविधाबाट वञ्चित थिए । माओवादी आन्दोलनले संघीयताको औचित्य स्थापित गर्यो र देशको शक्तिकेन्द्रलाई विकेन्द्रित गर्न अग्रसर भयो ।
- माओवादी आन्दोलनको उपलब्धि
हिजो गोलीबाट प्रतिरोध गर्न विवश माओवादीहरू आज शान्तिपूर्ण प्रतिस्पर्धाबाट शासनमा छन् । आन्दोलनका प्रमुख उपलब्धिहरू यस प्रकार छन् ।
राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना : नेपालको हजारौँ वर्षको राजतन्त्रलाई शान्तिपूर्ण तर निर्णायक ढंगले अन्त्य गर्ने भूमिका माओवादी आन्दोलनले नै खेल्यो ।
संविधानसभाबाट संविधान निर्माण : जनताको प्रतिनिधित्वमा आधारित संविधानसभाबाट संविधान निर्माण सम्भव भयो, जुन आन्दोलनको मूल माग थियो ।
संघीय लोकतान्त्रिक गणतन्त्र : संघीयता, धर्मनिरपेक्षता, समावेशिता र समानुपातिक प्रतिनिधित्वजस्ता प्रगतिशील मूल्यहरूको आधारमा नयाँ नेपाल निर्माण गर्न थालिएको हो ।
सीमान्तकृत वर्गको सशक्तीकरण : दलित, महिला, जनजाति, मधेसी, मुस्लिम लगायत समुदायको राजनीतिक प्रतिनिधित्व अभूतपूर्व ढंगले वृद्धि भएको छ ।
- पुनःउत्थान गर्दै गरेको राजावादी प्रवृत्तिको खण्डन
अहिले केही समूहहरू ‘राजा आउ देश बचाउ’ भन्ने नाराका साथ राजावादी आन्दोलनको पुनरुत्थान गर्न खोजिरहेका छन्, तर यी नारा केवल भ्रम छर्ने प्रयत्न हुन् । हामी बिर्सनु हुँदैन, यही राजसंस्थाले जनताको आवाज दबाउँदै निरंकुशताको चरम नमुना देखाएको थियो । दरबार हत्याकाण्ड, प्रतिगमनकारी शासनशैली, पञ्चायती तानाशाही— यी सबै माओवादी आन्दोलनअघि उठ्नुको मूल कारण थिए ।
आज जनताको बलिदानबाट स्थापित संविधान, गणतन्त्र, संघीयता र समावेशितामाथि प्रश्न उठाउनु भनेको केवल जनआन्दोलनको अपमान मात्र होइन, सहिदहरूको रगतप्रति घोर अपमान हो । राजसंस्था फिर्ता ल्याउने सपना देख्नु भनेको देशलाई पुनः सामन्ती अँध्यारोतर्फ फर्काउने प्रयास हो, जुन नेपाली जनताले सहन गर्नेछैनन् ।
राजावादीहरूले व्यक्त गरेको असन्तुष्टि, विशेषतः विकास, रोजगारी र शुद्ध शासनप्रतिको अपेक्षा, जायज हुन सक्छ । तर समाधान व्यवस्था परिवर्तन होइन, व्यवस्थाको परिष्कार हो । समस्याको मूल कारण गणतन्त्र होइन, गणतन्त्रलाई इमानदारीपूर्वक कार्यान्वयन नगर्नु हो । त्यसैले समाधान भनेको जनताको शासन प्रणालीलाई अझ पारदर्शी, जवाफदेही र जनमुखी बनाउनु हो ।
- निष्कर्ष
माओवादी आन्दोलन केवल युद्धको कथा होइन, यो समता र न्यायका लागि उठेको ऐतिहासिक जनविद्रोह हो । यसले नेपाली समाजलाई आधुनिक, लोकतान्त्रिक र समावेशी मार्गमा डोर्याउने आधार निर्माण गर्यो । आन्दोलनको औचित्य हिजो पनि थियो, आज पनि छ— जबसम्म गरिब, सीमान्तकृत र उत्पीडित वर्गको मुक्तिको सपना अधुरो छ ।
राजावादीहरूको भ्रमपूर्ण नारा र प्रतिक्रियावादी आन्दोलनप्रति सजग रहन जरुरी छ । इतिहासको घडी उल्ट्याउने प्रयास केवल प्रतिक्रियावादी सपना हो । हामी यो सुनिश्चित गर्न प्रतिबद्ध छौँ कि नेपाली जनताको बलिदानबाट प्राप्त यो गणतान्त्रिक संरचना अझ सशक्त, न्यायपूर्ण र समावेशी बनोस् । माओवादी आन्दोलनको आदर्शलाई व्यवहारमा उतार्दै हामी भविष्यतर्फ अघि बढ्नुपर्छ न त बाँकी राख्नुपर्छ ।
अधिकारी नेकपा (माओवादी केन्द्र) बाग्मती प्रदेश समिति सदस्य हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप लिग २: नेपालको ऐतिहासिक जित, १ विकेटले स्कटल्याण्ड स्तब्ध
-
१२ बजे १२ समाचार: गृहमन्त्रीको राजीनामा बटमलाइनदेखि यातायात सञ्चालनबारे अझै अन्योल
-
सरकारी वार्ता टोली र यातायात व्यवसायीबीच सहमति, तर बन्दबारे अझै अन्योल
-
फेवातालमा दीर्घकालीन योजना ल्याएर मात्र पोल गाड्न आग्रह
-
‘हिन्दकुश हिमालय संसदीय सम्मेलन’ आगामी साउन २ र ३ मा
-
सशस्त्र प्रहरीले मधेस प्रदेशमा ‘डिजाष्टर भोलेन्टिर’ तयार पार्दै