गृहमन्त्रीको पक्षमा मधेसी दलहरू : भने– स्वच्छ छवि भएकालाई जबर्जस्ती आरोप लगाइयो

समाचार सारांश
- गृहमन्त्री रमेश लेखकको सचिवालयका कर्मचारीको नाम भिजिट भिसा प्रकरणमा जोडिएपछि उनको राजीनामाको माग उठेको छ।
- विपक्षी दलहरूले राजीनामाको माग गरे पनि मधेसकेन्द्रित दलहरू मौन छन्, तर अधिकांश नेताहरूले गृहमन्त्रीको समर्थन गरेका छन्।
- जनता समाजवादी पार्टीकी सांसद रेखा यादवले भने छानबिनका लागि राजीनामा दिनुपर्ने बताएकी छिन्, भने अन्य दलका नेताहरूले भने गृहमन्त्रीको बचाउ गरेका छन्।
काठमाडौँ । भिजिट भिसा प्रकरणमा आफ्नो सचिवालयका कर्मचारीको नाम जोडिएपछि गृहमन्त्री रमेश लेखकमाथि संसद् र बाहिर पनि आलोचना भइरहेको छ ।
विपक्षी दलहरूले उनको राजीनामा माग गर्दै संसद् अवरुद्ध गर्दै आए पनि मधेसकेन्द्रित दलहरू भने मौन देखिएका छन् । संसद्मा प्रतिनिधित्व गरेका कुनै पनि मधेसकेन्द्रित दलको यसप्रति आधिकारिक धारणा पनि आएको छैन । तर, अधिकांश दलका नेताहरू गृहमन्त्रीको समर्थनमा देखिएका छन् । त्यस्तै अधिकांशले गृहमन्त्री लेखकको संलग्नता नरहेका र उनले राजीनामा दिन नहुने तर्क गरेका छन्
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सहअध्यक्ष एवं सांसद सर्वेन्द्रनाथ शुक्लाले गृहमन्त्री लेखकबारे पार्टीले हालसम्म कुनै औपचारिक धारणा नबनाएको बताए । यद्यपि गृहमन्त्रीले राजीनामा दिनुपर्ने आवश्यकता नरहेको पनि बताए ।
‘उहाँले कुन आधारमा राजीनामा दिने हो, त्यो कुरा खुलेको छैन’, उनले भने, ‘राजीनामा दिने कुरा नै हुँदैन ।’ जबसम्म कुनै ठोस आधार बन्दैन, तबसम्म गृहमन्त्रीबारे बोल्ने आधार नभएको उनको भनाइ थियो । ‘कुनै कर्मचारी दोषी हुँदैमा मन्त्री पनि दोषी हुन सक्दैन, यसरी कर्मचारीले गरेको गल्ती मन्त्रीले बेहोर्ने हो भने धेरै मन्त्रीमाथि छानबिन गर्नुपर्ने हुन्छ,’ उनले तर्क गरे, ‘गृहमन्त्री लेखक दोषी हुन् भने तथ्यसहित कुरा बाहिर आउनुपर्छ, एउटा कर्मचारीले गरेको गल्तीको आधारमा उनीमाथि दोष लगाउन मिल्दैन ।’
तर जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रेखा यादवले भने गृहमन्त्री लेखकमाथि कुरा उठिसकेकाले सत्यतथ्य छानबिनका लागि राजीनामा दिएर सजिलो बनाइदिनुपर्ने बताइन् ।
‘यो मेरो व्यक्तिगत धारणा हो, पार्टीले कुनै औपचारिक धारणा बनाएको छैन, पार्टीका अध्यक्षजी (उपेन्द्र यादव) मलेसिया जानुभएको छ उहाँ फर्केपछि यो विषयमा आधिकारिक धारणा आउँछ,’ उनले भनिन् ।
लेखकले यसअघिका गृहमन्त्रीबारे (रवि लामिछानेको नामै नलिई) प्रश्न उठाउँदै राजीनामा मागेका र अहिले आफू पनि यस्तै अवस्थामा परेकाले राजीनामा दिनुपर्ने उनले सुझाइन् । ‘यस्तो वेलामा गृहमन्त्री पदमा रहँदा छानबिन तथा अनुसन्धानमा प्रभाव पर्न सक्छ,’ उनले भनिन्, उनले भनिन्, ‘संसद्मा विपक्षी दलले मात्र होइन, बाहिर आम जनताले पनि उनको राजीनामा मागिरहेका छन् ।’
खानेपानी मन्त्री एवं जनता समाजवादी पार्टीका सहमहामन्त्री प्रदीप यादवले भने गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने अवस्था नआएको बताए । तर पार्टीले हालसम्म यस विषयमा आधिकारिक निर्णय नगरेको बताएका उनले यसलाई आफ्नो व्यक्तिगत धारणा मान्न अनुरोध गरे ।
उनले भने, ‘गृहमन्त्रीको राजीनामा माग्नु पूर्वाग्राही कुरा हो ।’ लेखक स्वच्छ छविका भएकाले उनीमाथि जबर्जस्ती आरोप लगाउने काम भइरहेको उनको भनाइ थियो । ‘उहाँले पनि यस्तो काम गर्नुहुन्छ भन्ने कसैले पत्याउन सक्दैन,’ उनले लेखकको बचाउ गर्दै भने, ‘राजीनामा माग्नु राजनीतिक स्टन्ट मात्र हो ।’
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले पनि गृहमन्त्री लेखकको साथमा आफ्नो पार्टी रहेको बताइन् । कसैले प्रश्न उठाउँदैमा राजीनामा नै दिइहाल्नुपर्ने अवस्था नहुने उनको भनाइ थियो । ‘गृहमन्त्री लेखकले गलत गरेका छन् भन्ने कुरा कतैबाट पुष्टि हुनुपर्यो,’ उनले भनिन्, ‘पुष्टि नै नभएका विषय उठाएर राजीनामा माग्नु बेकार हो ।’
कर्मचारीले बयान दिँदैमा त्यसका आधारमा एउटा मन्त्रीको राजीनामा माग्नु उचित नभएको उनले टिप्पणी गरिन् । कानुनी प्रक्रिया अपनाएर सत्य तथ्य अनुसन्धान हुनुपर्ने उनले तर्क गरिन् ।
जनमत पार्टीकी सांसद अनिता साहले भने यस विषयमा आफ्नो पार्टीले कुनै धारणा बनाइनसकेका बताइन् । ‘संसदीय दलको बैठक बसेपछि यसबारे छलफल हुन्छ र त्यसपछि मात्र कुनै धारणा आउँछ,’ उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संस्थागत सुत्केरीको सङ्ख्या बढाउन नगरपालिकाको ‘कोसेली’
-
९७ वर्षमा लालुदेवीले पाइन् नागरिकता
-
भारतले कच्चा तेलमा भन्सार शुल्क घटायो, नेपालमा कस्तो पर्ला असर ?
-
कन्याम–पञ्चकन्या खानेपानी योजनाको काम चाँडो सम्पन्न नगरे ठेक्का रद्द गर्छौँ : मन्त्री यादव
-
रहेनन् कलाकार घनश्याम गौतम
-
बुटवल–गोरुसिङ्गे सडक विस्तार : शिलान्यास भएको ४ महिनामा ९ प्रतिशत भौतिक प्रगति