अन्योलपूर्ण अवस्था, नयाँ प्रशिक्षकको आगमनले जुराएको संयोग र साख जोगाउने ‘हुटहुटी’
सारांश
- नेपाल र स्कटल्याण्डबीचको खेल स्कटल्याण्डमा हुँदैछ, जसमा नेपालले लिग-२ अन्तर्गत प्रतिस्पर्धा गर्नेछ।
- नेपाल हालसम्म लिग-२ मा कमजोर प्रदर्शन गर्दै आठौँ स्थानमा छ, तर नयाँ प्रशिक्षक स्टुअर्ट लको नेतृत्वमा राम्रो गर्ने आशा गरिएको छ।
- खेल आगामी विश्वकप छनोटको आधार हो, जसमा नेपालले आफ्नो एकदिवसीय मान्यता जोगाउनुपर्ने चुनौती छ।
काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगितामा सोमबार नेपालले बलियो प्रतिद्वन्द्वी स्कटल्यान्डसँग उसैको घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ । नेपाल र स्कटल्यान्डबिचको खेल नेपाली समय अनुसार, दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।
विश्वकप लिग–२ शृङ्खला खेल्न नेपाली टोली करिब तीन साताअघि नै इङ्ल्यान्ड प्रस्थान गरेको थियो । इङ्ल्यान्डमा स्थानीय टोलीसँग केही अभ्यास खेल खेलेर नेपाली टोली स्कटल्यान्ड पुगेको थियो । नेपाली टोलीले स्कटल्यान्डमा पनि स्थानीय क्लबसँग अभ्यास खेल खेलेको थियो ।
लिग–२ प्रतियोगितामा नेपालले खेल्न लागेको यो १२औँ खेल हो । यस पटक लिग–२ प्रतियोगितामा नेपाली टोलीको अवस्था भने सन्तोषजनक छैन । नेपाली टोली ६ अंकसहित तालिकाको सबैभन्दा तल अर्थात्, आठौँ स्थानमा आसीन छ ।

हालसम्म नेपालले दुई खेलमात्र जित्न सकेको छ । आठ खेलमा पराजय भोगेको नेपाली टोलीको दुई खेल भने अनिर्णीत रूपमा सकिएको छ । एकपछि अर्को निराशाजनक प्रदर्शन गर्दै आएको नेपाली टोलीका लागि स्कटल्यान्डमा हुने शृङ्खला भने निकै महत्त्वपूर्ण छ ।
- यस्तो छ खेल तालिका
स्कटल्यान्डमा हुने शृङ्खलामा तेस्रो टोलीका रूपमा नेदरल्यान्ड्स सहभागी छ । नेपाली टोलीले दोस्रो खेल जुन ४ तारिखमा नेदरल्यान्डसँग खेल्नेछ । नेपालले तेस्रो खेल जुन ८ तारिखमा स्कटल्यान्डसँग खेल्ने कार्यक्रम छ । नेपालले आफ्नो चौथो तथा अन्तिम खेल जुन १० तारिखमा नेदरल्यान्ड्ससँग खेल्नेछ ।
लिग–२ शृङ्खला सकिएपछि नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग टी–२० अन्तर्राष्ट्रिय शृङ्खला पनि खेल्ने कार्यक्रम छ । लिग–२ को प्रत्येक शृङ्खला सकिएपछि सहभागी टोलीहरूले टी–२० शृङ्खला खेल्ने परम्परा रहँदै आएको छ ।
- नयाँ प्रमुख प्रशिक्षकको परीक्षा
लिग–२ अन्तर्गत स्कटल्यान्डमा हुने शृङ्खलाअघि नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीको नयाँ प्रमुख प्रशिक्षकमा स्टुअर्ट ललाई नियुक्त गरेको थियो । क्यानले चैत १५ गते उनलाई प्रमुख प्रशिक्षकमा नियुक्त गरेको थियो ।


अस्ट्रेलियाका पूर्वखेलाडी स्टुअर्ट ल समकालिन विश्व क्रिकेटका प्रभावशाली प्रशिक्षकमध्ये एक हुन् । ५६ वर्षीय लसँग श्रीलंका, बंगलादेश, वेस्ट इन्डिजजस्ता बलिया टेस्ट टोलीमा पनि प्रशिक्षकको भूमिकामा सफलतापूर्वक काम गरिसकेको अनुभव छ ।
स्टुअर्ट लले अफगानिस्तानको राष्ट्रिय टोलीमा पनि प्रमुख प्रशिक्षकको जिम्मेवारी निर्वाह गरेका थिए । नेपालसँग जोडिनुअघि उनी अमेरिकाको राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक थिए । त्यसैले स्कटल्यान्डमा हुने लिग–२ शृङ्खला उनका लागि पनि निकै महत्त्वपूर्ण छ ।
नेपाली टोलीको प्रमुख प्रशिक्षकको भूमिकामा यो उनको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । त्यसैले यो शृङ्खलामा नेपाली टोलीलाई उल्लेख्य सफलता दिलाउँदै उनी आफ्नो नयाँ जिम्मेवारीको सुखद सुरुवात गर्ने धुनमा रहने छन् ।
- लिग–२ शृङ्खलासँग जोडिएको संयोग
अघिल्लो संस्करणको विश्वकप लिग–२ प्रतियोगितामा पनि नेपाली टोलीसँग यस्तै रमाइलो संयोग जोडिएको थियो । त्यतिबेला पनि शृङ्खलाको सुरुआती चरणका खेलमा नेपाली टोलीको प्रदर्शन निकै निराशाजनक थियो ।
त्यसपछि क्यानले भारतका मोन्टी देशाईलाई नेपाली टोलीको प्रमुख प्रशिक्षक बनाएको थियो । त्यसपछि उनकै प्रशिक्षकत्वमा नेपाली टोली पछिल्ला तीन शृङ्खलामा खेलिएका कुल १२ मध्ये ११ खेलमा जित हात पार्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको थियो ।

यसरी त्यतिबेला नेपाली टोलीले आईसीसी एकदिवसीय विश्वकपको विश्वस्तरीय छनोट प्रतियोगितामा सहभागी हुने अवसर पाएको थियो । लिग–२ प्रतियोगिताको जारी संस्करणमा पनि नेपालसँग लगभग त्यस्तै संयोग जुर्न पुगेको छ । अहिले मोन्टी देशाईकै स्थानमा स्टुअर्ट ल नेपाली टोलीको नयाँ प्रमुख प्रशिक्षक बनेका हुन् ।
- अनुभवी कन्सल्ट्यान्ट प्रशिक्षक
यसका अतिरिक्त, क्यानले लिग–२ प्रतियोगिताको आफ्नो आगामी शृंखलालाई ध्यानमा राखी दक्षिण अफ्रिकाका निक पोथासलाई कन्सल्ट्यान्ट प्रशिक्षकमा नियुक्त गरेको छ ।
यसअघि ५१ वर्षीय निक पोथासले श्रीलंका, बंगलादेश र वेस्ट इन्डिजको राष्ट्रिय टोलीको प्रशिक्षण टोलीमा रहेर महत्त्वपूर्ण भूमिका निर्वाह गरिसकेका छन् । निक पोथासको सहकार्यमा लिग–२ को आगामी शृङ्खलामा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास क्यानले लिएको छ ।
- किन महत्त्वपूर्ण छ प्रतियोगिता ?
विश्वकप लिग–२ प्रतियोगिता सहभागी टोलीहरूका लागि निकै महत्त्वपूर्ण छ । यो प्रतियोगिता सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपका लागि छनोटको आधारका रूपमा पनि रहेको छ ।

सन् २०२७ को एकदिवसीय विश्वकप दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा संयुक्त रूपमा आयोजना हुँदैछ । लिग–२ प्रतियोगिताको समाप्तिपछि अंक तालिकाको माथिल्लो चार स्थानमा रहने राष्ट्र सिधै आगामी विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछन् । अन्तिम चार स्थानमा रहने राष्ट्रले भने विश्वकप क्वालिफायरको प्ले–अफ चरण खेल्नु पर्नेछ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)बाट सन् २०१८ मा प्राप्त एकदिवसीय मान्यता जोगाउन पनि यो प्रतियोगिताको भूमिका रहन्छ । हाल आईसीसीबाट अस्थायी रूपमा एकदिवसीय मान्यता पाएका नेपालसहितका एसोसिएट्स सदस्य राष्ट्रको मान्यता सन् २०२६ को विश्वकप छनोटसम्म कायम रहने छ । यो सूचिमा स्कटल्यान्ड, यूएई, नेदरल्यान्ड्स, नामिबिया, ओमान, अमेरिका र क्यानडा पनि छन् ।
- अंक तालिकाको अवस्था
लिग–२ प्रतियोगिताको जारी संस्करणमा २० खेलबाट २८ अंक बटुलेको अमेरिका पहिलो स्थानमा छ । अमेरिकाले १४ जित र ६ हारको नतिजा निकालेको छ । २० खेलबाट २६ अंक जोडेको नेदरल्यान्ड्स दोस्रो स्थानमा छ । तेस्रो स्थानको ओमानले २० खेलबाट २४ अंक जोडेको छ ।
यसैगरी, १६ खेलबाट २० अंक जोडेको स्कटल्यान्ड चौथो, २० खेलबाट २० अंक जोडेको क्यानडा पाँचौँ, २० खेलबाट १४ अंक बटुलेको नामिबिया छैटौँ, १६ खेलबाट ६ अंक हात पारेको संयुक्त अरब इमिरेट्स (यूएई) सातौँ र १२ खेलबाट ६ अंक जोडेको नेपाल आठौँ स्थानमा आसीन छन् ।
- हेड टु हेडमा नेपाल अगाडि
नेपाल र स्कटल्यान्डबिच हालसम्म आठवटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिएको छ । त्यसमा नेपाली टोली स्कटल्यान्डभन्दा केही बलियो देखिन्छ । आठमध्ये चार खेलमा नेपाली टोलीले स्कटल्यान्डलाई पराजित गरेको छ ।

स्कटल्यान्डले भने तीन खेलमा नेपाललाई हराएको छ । नेपाल र स्कटल्यान्डबिचको एक खेल अनिर्णीत अवस्थामा सकिएको छ । यी दुई टोलीबिचको पछिल्ला पाँच खेलको अवस्थालाई हेर्दा तीन खेलमा नेपाल र एक खेलमा स्कटल्यान्ड विजयी भएका छन् । एक खेल अनिर्णीत रूपमा सकिएको छ ।
स्कटल्यान्डको घरेलु मैदानमा भने हालसम्म यी दुई टोलीबिच दुई खेल खेलिएको छ । त्यसमध्ये एक खेलमा नेपाल र एक खेलमा स्कटल्यान्ड विजयी भएका छन् ।
- मध्यम स्कोर बन्ने पिच
नेपाल र स्कटल्यान्डबिच खेल हुने डन्डीस्थित फोर्टहिल क्रिकेट स्टेडियममा मध्यम स्कोर बन्ने गरेको छ । यो स्टेडियममा लिग–२ अन्तर्गत खेलिएको पछिल्ला ६ वटा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको तथ्याङ्कले जवाफी ब्याटिङ गर्ने टोलीलाई बलियो देखाउँछ ।
६ मध्ये पहिले ब्याटिङ गर्ने टोलीले दुई खेलमा जित हात पारेका छन् । जवाफी ब्याटिङ गर्ने टोलीले भने तीन खेल जितेका छन् । एक खेल भने अनिर्णीत रूपमा सकिएको छ । यो स्टेडियममा बन्ने औसत स्कोर दुई सय २२ रन हो ।
यो स्टेडियममा बनेको सबैभन्दा ठुलो स्कोर ६ विकेट गुमाएर तीन सय एक रन हो । त्यो स्कोर घरेलु टोली स्कटल्यान्डले लिग–२ अन्तर्गतकै खेलमा सन् २०२४ को जुलाई २६ तारिखमा नामिबियाविरुद्ध बनाएको थियो ।
एकदिवसीय क्रिकेटमा यो स्टेडियममा बनेको सबैभन्दा कम स्कोर भने ९१ रन हो । यो स्कोर ओमानले लिग–२ अन्तर्गतकै खेलमा सन् २०२४ को जुलाई २२ तारिखमा स्कटल्यान्डविरुद्ध बनाएको हो । उक्त खेलमा ओमान २१.४ ओभरमै अलआउट भएको थियो ।

- वर्षाको थोरै सम्भावना
नेपाल र स्कटल्यान्डबिच खेल हुने दिन सोमबार वर्षाको थोरै सम्भावना रहेको बताइएको छ । त्यहाँको जल तथा मौसम विज्ञान विभागका अनुसार, २० प्रतिशत सम्भावना रहेको छ । तापक्रम आठदेखि १६ डिग्री सेल्सियसको बिचमा रहने अनुमान गरिएको छ ।
- नेपाली टोली
स्कटल्यान्ड भ्रमणका लागि घोषित नेपाली टोलीमा रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, अनिल कुमार साह, भीम सार्की, आरिफ शेख, सन्दीप लामिछाने, बसिर अहमद, गुलशन कुमार झा, सोमपाल कामी, करण केसी, ललितनारायण राजवंशी, नन्दन यादव र रिजन ढकाल रहेका छन् ।
- स्कटल्यान्डको टोली
रिचर्ड बेरिङ्टन (कप्तान), चार्ली कासेल, म्याथ्यू क्रस, ब्राड करी, जास्पर डेभिडसन, क्रिस ग्रेभ्स, ज्याक जार्भिस, माइकल लिस्क, क्रिस्टोफर म्याकब्राइड, फिनली म्याकक्रिथ, ब्रान्डन म्याकमुलन, जर्ज मनसी, सफयान सरिफ, चार्ली टियर र मार्क वाट ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण