१६ वर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता : विपिन चम्किए, रौनकले कीर्तिमान बनाए

सुर्खेत । सोमबारदेखि सुर्खेतमा जारी टीबी स्मृति प्रथम १६ वर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो दिन नेपाली क्रिकेटको इतिहासमा गर्विलो कीर्तिमान बनेको छ ।
लुम्बिनी प्रदेशका रौनक श्रीवास्तवले गण्डकी प्रदेशविरुद्धको खेलमा १ सय १७ बलको सामना गर्दै १६ चौका र १६ छक्काका साथ घरेलु क्रिकेट इतिहासकै सर्वाधिक २ सय १७ र बनाउँदै कीर्तिमान कायम गरेका हुन् ।
वीरेन्द्रनगर मैदानमा भएको खेलमा गण्डकी प्रदेशमाथि ३ सय ३२ रनको फराकिलो जीत दर्ता गराउने क्रममा रौनकले लक्ष्मण कुमालसँग मिलेर २ सय ४४ रनको बलियो साझेदारी पूरा गरे ।
गण्डकीले श्रीवास्तवको दोहोरो शतकको मद्दतमा लुम्बिनी अलआउट हुनुअघि ४ सय ४ रनको कठिन लक्ष्य खडा गर्न सफल भयो ।शैलेश काफ्लेको बलमा समीर न्यौपानेबाट क्याच आउट हुनुअघिसम्म रौनकले १ सय ८५ को स्ट्राइक रेटमा आक्रामक ब्याटिङ गरेका थिए ।
लुम्बिनीको विशाल योगफलमा लक्ष्मण कुमालले ६०, आरिफ खानले २५ तथा शुभम् खनाल र समिल अली मुसलमानले समान १७/१७ रन बनाए । लुम्बिनीले ४७ रन बोनस पाएको थियो ।
गण्डकीका करण गैरेले तीन, राज परियारले दुई तथा सुप्रिम सुनार, सुजन अर्याल, रिदम पाण्डे, शैलेश काफ्ले र अनिष राउतले एक–एक विकेट लिए । ४ सय ४ रनको विशाल लक्ष्य पछ्याएको गण्डकी भने २८ दशमलव २ ओभरमा जम्मा ७१ रन जोड्दै अलआउट हुन पुग्यो । गण्डकीका अनिष राउतले नटआउट २२, प्रतिक रावलले १४ रन बटुले भने ५ ब्याटर बिना स्कोर पवेलियन फर्किदा अरूले कसैले पनि दोहोरो अङ्क कटाउन सकेनन् ।
लुम्बिनीका शुभम् खनालले सर्वाधिक ५ तथा प्लेयर अफ दि म्याच बनेका रौनकले २ विकेट लिए ।
विपिनको धारिलो स्पिन
उता कालिञ्चोक मैदानमा भएको अर्को खेलमा घरेलु टोली कर्णालीका कप्तान विपिनप्रसाद शर्माले आफ्नो धारिलो स्पिनलाई निरन्तरता दिँदा पाहुना टोली सुदूरपश्चिमलाई ५ विकेट पराजित भएको थियो ।
शर्माले ४ ओभर बलिङ गर्दा २ ओभर मेडन राख्दै २ रन खर्चिएर ५ विकेट हात पारे । १० औँ ओभरमा बलिङ गर्न आएका उनले १ रन मात्रै खर्चिए भने १२ औँ ओभरमा १ रन दिएर १ विकेट लिएका उनले १४औं ओभरमा मेडनसहित १ विकेट लिए भने १६औं ओभरमा मेडनसहित ३ विकेट लिए ।
विपिनको जिम्मेवारीपूर्ण बलिङ कै कारण ५० ओभरको खेलमा सुदूरपश्चिमले १६ ओभर खेल्दा ५५ रन बनाएर अलआउट हुन पुग्यो । जसमा विजय बोहराको ३ तथा नवीन न्यौपानेको २ विकेट महत्त्वपूर्ण रह्यो।
सुदूरपश्चिमका ओपनर विक्रम बोहोराले २१ बलमा पाँच चौकासहित २१ रन बनाउनुबाहेक अन्यले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । यस्तै अविरल बिकले ९, आहन थलालले ५ र हिमाल दुयालले २ तथा सचिन भट्टले १ रन बनाए । सुदूरपश्चिमले १७ अतिरिक्त रन बनाएको थियो ।
५६ रनको झिनो लक्ष्य लिएर जवाफी ब्याटिङ थालेको कर्णालीले १८ ओभर ३ बलमा आफ्ना ५ विकेट सुरक्षित राख्दै प्रतियोगिताको पहिलो जीतसहित अङ्क तालिकामा खाता खोल्न सफल भयो ।
कर्णालीका नेत्रविक्रम खत्रीले १५ रन बनाए भने नमनसिंह थापा र भूपेन्द्रजंग शाहीले नटआउट समान ९ रन बनाए । नवीन न्यौपानेले ७ रन बनाउँदा ओपनर कौस्तुभ खड्काले ४ रन बनाए भने कैलाश खड्का र रोशन शाहीले समान १ रन बनाए ।
लगातार दुई हार खेपेको सुदूरपश्चिम भने अङ्कविहीन छ । यसअघि सोमबार भएको खेलमा सुदूरपश्चिम कोशी प्रदेशसँग ७ विकेटले पराजित भएको थियो ।
दोस्रो दिनको खेल सकिँदासम्म एक एक खेल खेलेर समान दुई दुई अङ्क जोडेकामध्ये कोशी पहिलो र मधेस दोस्रो स्थानमा रहँदा दोस्रो खेलबाट खाता खोलेको कर्णाली तेस्रो क्रममा रहेको छ ।
प्रतियोगिता अन्तर्गत भोलि २१ गते हुने खेलमा कोशी र लुम्बिनी भिड्दा बाग्मती र कर्णालीले प्रतिस्पर्धा गर्नेछन् । नेपाल क्रिकेट सङ्घ (क्यान) काे आयोजनामा ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ७ वटै प्रदेशकाे सहभागिता रहेकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकता सम्बन्धी विधेयक छिटो सदनमा लैजाने तयारीमा छौँ: सभापति खतिवडा
-
सिमराकी डीएसपी वाइबा प्रधान कार्यालय फिर्ता
-
अग्निबारे माओवादीले सर्वोच्चको पूर्णपाठ आएपछि धारणा बनाउने
-
कालोधन रोक्न घरजग्गा किनबेचमा कडाइ, अब मूल्य बढ्छ कि घट्छ ?
-
ट्रम्पले एड्मिरल कूपरलाई दिए मध्य पूर्वको जिम्मा
-
ग्लोबल आइएमई बैंकद्वारा ईभी चार्जिङ स्टेशन सञ्चालन