आईपीएलको १८औँ संस्करणमा चम्किएका यी खेलाडी

समाचार सारांश
- इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करण सम्पन्न भयो, जसमा रोयल च्यालेन्जर्स बेंगलुरु नयाँ च्याम्पियन बन्यो।
- प्रतियोगितामा केही नयाँ खेलाडीले उत्कृष्ट प्रदर्शन गरे, जसमध्ये प्रभसिमरन सिंह, प्रियांश आर्या, दिग्वेश राठी, अनिकेत वर्मा, आयुष म्हात्रे, विप्रन निगम, वैभव सूर्यवंशी र आश्विनी कुमार रहे।
- वैभव सूर्यवंशीले आईपीएलको इतिहासमा सबैभन्दा छिटो शतक बनाए भने आश्विनी कुमारले डेब्यू खेलमै उत्कृष्ट प्रदर्शन गरे।
काठमाडौँ । विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगितामध्येको एक इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करण सकिएको छ । यसको १८ औँ संस्करणले रोयल च्यालेन्जर्स बेंगलुरुलाई नयाँ च्याम्पियन दिएको छ ।
बेंगलुरुले मंगलबार राति सम्पन्न खेलमा पञ्जाब किङ्सलाई ६ रनले हरायो । आईपीएलको यो संस्करण निकै रोमाञ्चक रह्यो । केही नसोचेका टोलीले उत्कृष्ट प्रदर्शन गरे भने विगतमा पटक–पटक उपाधि चुमेका केही टोली प्ले–अफ चरणमा समेत पुग्न सकेनन् ।
आईपीएलको १८औँ संस्करणमा विभिन्न टोलीबाट केही नयाँ खेलाडीले पनि उत्कृष्ट प्रदर्शन गरे । आफ्नो अब्बल प्रदर्शनका कारण उनीहरू चर्चामा रहे । केही नयाँ खेलाडी त आफ्नो टोलीको सफलतामा महत्वपूर्ण भूमिकासमेत निर्वाह गरे ।
यस्ता केही खेलाडीलाई सम्बन्धित क्लबले अर्को सिजन पनि रिटेन गर्ने (आगामी सिजन पनि आफूसँगै राख्ने) बलियो सम्भावना छ । आईपीएलको १८औँ संस्करणमा आफ्नो उत्कृष्ट प्रदर्शनबाट चम्किएका यस्तै केही खेलाडीबारे यहाँ चर्चा गरिएको छ ।
प्रभसिमरन सिंह (पञ्जाब किङ्स)
प्रभसिमरन सिंह यो सिजनको आईपीएलमा क्षमतावान् खेलाडीका रूपमा उदाए । उनी ‘अनक्याप्ड’ खेलाडीका रूपमा पञ्जाब किङ्ससँग जोडिएका थिए । अक्सनमा उनलाई पब्जाबले चार करोड भारतीय रुपैयाँमा खरिद गरेको थियो ।
आईपीएलको १८औँ संस्करणमा सबैभन्दा बढी रन बनाउने अनक्याप्ड खेलाडीको सूचीमा उनी पहिलो स्थानमा रहन सफल भए । उनले १७ खेलमा ३२.२९ को औसत र १६०.५२ को स्ट्राइक रेटमा कुल पाँच सय ४९ रन बनाए । यस क्रममा उनले चार वटा अर्धशतक पनि प्रहार गरे । उनको उच्च स्कोर ९१ रन रह्यो ।
प्रियांश आर्या (पञ्जाब किङ्स)
प्रियांश आर्याले यो सिजनको आईपीएल पञ्जाब किङ्सबाट खेलेका थिए । पञ्जाबलाई फाइनलसम्म पुर्याउन उनको भूमिका पनि महत्वपूर्ण रह्यो । अधिकांश खेलमा यी युवा ब्याट्सम्यानले टिमलाई गतिलो सुरुवात दिएका थिए ।
उनले १७ खेलमा २७.९४ को औसतले कुल चार सय ७५ रन बनाए । उनको स्ट्राइक रेट १७९.२४ रह्यो । यस क्रममा उनले एक शतक र दुई वटा अर्धशतक पनि प्रहार गरेका थिए । उनले चेन्नई सुपर किङ्सविरुद्ध एक सय तीन रन बनाएका थिए ।
दिग्वेश राठी (लखनउ सुपर जायन्ट्स)
दिग्वेश राठीले यो सिजन लखनउ सुपर जायन्ट्सबाट आईपीएल खेले । उनले टोलीका लागि अब्बल प्रदर्शन पनि गरे । आईपीएलको १८औँ संस्करणमा उनको सिग्नेचर सेलिब्रेसन पनि निकै चर्चित र विवादित बन्न पुग्यो ।
विकेट लिएपछि खुसीयाली मनाउने शैलीकै कारण उनले पटक–पटक जरिवाना पनि तिुर्नपर्यो । यो सिजन लखनउको प्रदर्शन सन्तोषजनक रह्यो । १४ खेलबाट १२ अंक बटुलेको लखनउ प्ले–अफ चरणमा पुग्न असफल भयो ।
लखनउका लागि दिग्वेशले अविस्मरणीय प्रदर्शन गरे । त्यसैले यो आईपीएलबाट उनी लखनउका नम्बर एक स्पिनरको रूपमा चर्चित पनि बने । त्यसैले लखनउले टोलीका मुख्य स्पिनर रवी बिश्नोईको स्थानमा दिग्वेशलाई नै अगाडि बढायो ।
दिग्वेश राठीले यो सिजन १३ खेलमा ३०.६४ को औसत र ८.२५ को इकोनोमी रेटमा कुल १४ विकेट लिए । यो आईपीएलमा उनको उत्कृष्ट प्रदर्शन भने चार ओभरमा ३० रन खर्चिएर दुई विकेट रह्यो ।
अनिकेत वर्मा (सनराइजर्स हैदराबाद)
आईपीएलको १८औँ संस्करणमा चम्किएका अर्का खेलाडी अनिकेत वर्मा हुन् । उनी यसपटक अनक्याप्ड खेलाडीका रूपमा सनराइजर्स हैदराबादमा आबद्ध भएका थिए । तर, प्रतियोगिता अवधिभर उनको प्रदर्शन निकै स्तरीय रह्यो ।
यद्दपि, उनको टोली हैदराबाद प्रतियोगिताको प्ले–अफ चरणमा पुग्न सकेन । हैदराबाद १४ खेलबाट १३ अंक बटुल्दै तालिकाको छैटौँ स्थानमा रह्यो । अब्बल प्रदर्शनका कारण अनिकेत वर्माले यो सिजन हैदराबादका लागि १४ वटै खेल खेल्ने अवसर पाए ।
मध्यक्रमका आक्रामक ब्याट्सम्यानका रूपमा उदाएका अनिकेतले २६.२२ को औसत र १६६.१९ को स्ट्राइक रेटमा कुल दुई सय ३६ रन बनाए । उनले दिल्ली क्यापिटल्सविरुद्धको खेलमा अविजित ७४ रन बनाएका थिए ।
आयुष म्हात्रे (चेन्नई सुपर किङ्स)
आईपीएलको १८औँ संस्करणमा चर्चित बनेका अर्का खेलाडी आयुष म्हात्रे हुन् । उनले चेन्नई सुपर किङ्सबाट आईपीएल खेल्ने अवसर पाएका थिए । सुरुमा टोलीमा अवसर नपाए पनि उनी पछि रिप्लेसमेन्ट प्लेयरका रूपमा प्लेइङ–११ मा परेका थिए ।
त्यसपछि उनले लगातार ओपनिङमा अवसर पाएका थिए । आफ्नो उत्कृष्ट प्रदर्शनबाट उनले आफूलाई चेन्नईको सुदख भविष्यका रूपमा उभ्याएका छन् । उनले सात खेलमा ३४.२८ को औसत र १८८.९७ को स्ट्राइक रेटमा कुल दुई सय ४० रन बनाए ।
रोयल च्यालेन्जर्स बेंगलुरुविरुद्धको खेलमा उनले केवल ४८ बलमा ९४ रन बनाएका थिए । चेन्नईसँग जोडिनुअघि युवा ब्याट्सम्यान म्हात्रेले विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए । विजय हजारे ट्रफीमा उनले शतक बनाएका थिए ।
उनी ‘लिस्ट ए’ प्रतियोगिताको एकै खेलमा एक सय ५० वा त्योभन्दा बढी रन बनाउने सबैभन्दा कम उमेरका भारतीय खेलाडी पनि थिए । त्यसपछि उनले आईपीएल खेल्न चेन्नईमा ट्रायल दिएका थिए । कप्तान ऋतुराज गायकवाड घाइते भएपछि उनले आईपीएल खेल्ने अवसर पाएका थिए ।
आयुष म्हात्रेले मुम्बई इन्डियन्सविरुद्ध आईपीएलमा ‘डेब्यू’ गर्दै १५ बलमा ३२ रन बनाएका थिए । उनले हैदराबादविरुद्ध पनि १९ बलमा ३० रन बनाएका थिए । त्यो खेलपछि उनी आईपीएलमा अर्धशतक बनाउने तेस्रो सबैभन्दा कम उमेरका ब्याट्सम्यान बनेका थिए ।
विपराज निगम (दिल्ली क्यापिटल्स)
आईपीएलको १८औँ संस्करणमा उत्कृष्ट प्रदर्शन गर्ने अर्का युवा खेलाडी विप्रन निगम हुन् । उनले दिल्ली क्यापिटल्सबाट आईपीएल खेल्ने अवसर पाएका हुन् । त्यसअघि उनले यूपी टी–२० लिगमा उत्कृष्ट प्रदर्शन गर्दै सबैको ध्यान आफूतिर तानेका थिए ।
आईपीएलमा उनले दिल्लीका लागि १४ वटै खेल खेले । उनी कुलदीप यादवसँगै टोलीका मुख्य स्पिन हतियार थिए । यसका अतिरिक्त तल्लो क्रमको ब्याट्सम्यानका रूपमा पनि निगतले गतिलो प्रदर्शन गरेका थिए ।
त्यसैले आगामी सिजनको आईपीएलमा विप्रजलाई सायदै दिल्लीले रिलिज गर्नेछ । उनले १४ खेलमा ३२.३६ को औसत र ९.१२ को इकोनोमी रेटमा कुल ११ विकेट लिए । उनको उत्कृष्ट प्रदर्शन १८ रन खर्चिएर दुई विकेट हो । उनले २०.२८ को औसत र १७९.७४ को औसतले कुल एक सय ४२ रन पनि बनाए ।
वैभव सूर्यवंशी (राजस्थान रोयल्स)
वैभव राजवंशी आईपीएलको १८औँ संस्करणमा सबैभन्दा बढी चर्चा पाउने युवा खेलाडी हुन् । उनले यो सिजनको आईपीएल राजस्थान रोयल्सबाट खेलेका हुन् । संजु सामसनका कारण सुरुमा उनले टोलीमा स्थान पाएका थिएनन् ।
तर, सामसन घायते भएपछि उनले प्लेइङ–११ मा अवसर पाएका थिए । त्यसपछि उनले दिल्लीका लागि सात खेल खेले । उनले सात खेलमा ३६ को औसत र २०६.५५ को स्ट्राइक रेटमा कुल दुई सय ५२ रन बनाएका थिए ।
१४ वर्षीय बैभवले गुजरात टाइटन्सविरुद्धको खेलमा केवल ३५ बलमा शतक बनाएर सबैलाई चकित पारे । आईपीएलको इतिहासमा कुनै पनि युवा ब्याट्सम्यानले बनाएको यो सबैभन्दा तिब्रगतिको शतक पनि थियो । चेन्नईविरुद्धको आफ्नो अन्तिम खेलमा पनि उनले अर्धशतक बनाएका थिए ।
वैभवले आईपीएलमा आफ्नो पहिलो बल शार्दुल ठाकुरको सामना गरेका थिए । उनले शार्दुललाई पहिलो बलमै छक्का प्रहार गरेर आफ्नो क्षमताको परिचय दिएका थिए ।
अश्विनी कुमार (मुम्बई इन्डियन्स)
बायाँ हाते तिब्रगतिका बलर आश्विनी कुमारले पनि यो सिजनको आईपीएलमा गतिलै चर्चा बटुले । उनले मुम्बई इन्डियन्सबाट आईपीएल ‘डेब्यू’ गरेका हुन् । उनले आईपीएलमा सात खेल खेल्दै कुल ११ विकेट लिए ।
आश्विनको इकोनोमी रेट ११.३१ रह्यो । उनको उत्कृष्ट प्रदर्शन भने चार ओभरमा केवल २४ रन खर्चिएर चार विकेट रह्यो ।
उनी आईपीएलको ‘डेब्यू’ खेलमै सर्वोत्कृष्ट प्रदर्शन गर्ने भारतीय बलरको रूपमा पनि दरिन पुगे । उनी आफ्नो ‘डेब्यू’ खेलको पहिलो बलमै विकेट लिने मुम्बई इन्डियन्सको चौथो बलर पनि बने ।
नेहल बधेरा (पञ्जाब किङ्स)
आईपीएलको १८औँ संस्करणमा आफ्नो उत्कृष्ट प्रदर्शनका कारण चम्किएका अर्का खेलाडी नेहल बधेरा हुन् । उनले पञ्जाब किङ्सको तर्फबाट आईपीएल खेलेका हुन् । बायाँहाते ब्याट्सम्यानले मध्यक्रममा अब्बल प्रदर्शन गरे ।
नेहललाई पञ्जाबले चार करोड २० लाख भारतीय रुपैयाँमा खरिद गरेको थियो । उनले आईपीएल भने यसअघि नै खेलिसकेका थिए । सन् २०२३ मा मुम्बई इन्डियन्सबाट उनले आईपीएलमा ‘डेब्यू’ गरेका थिए ।
यो सिजनको आईपीएलमा उनले १६ खेल खेल्दै कुल तीन सय ६९ रन बनाए । उनको स्ट्राइक रेट १४५.८४ रह्यो । यस क्रममा उनले दुईवटा अर्धशतक पनि प्रहार गरे । उनले आईपीएलमा आफ्नो पहिलो सिजन कुल एक सय नौ र दोस्रो सिजन दुई सय ४१ रन बनाएका थिए ।