शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

वर्तमान सरकारको प्राथमिकता स्थायित्व र आर्थिक विकास : परराष्ट्रमन्त्री

बुधबार, २१ जेठ २०८२, १८ : ०८
बुधबार, २१ जेठ २०८२

काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले वर्तमान सरकारको प्राथमिकता राजनीतिक स्थायित्व प्रदान गरी यसैका माध्यमबाट आर्थिक विकास गर्नु रहेकाे बताएकी छन् । 

सुदूरपश्चिम प्रदेश लगानी तथा विकास तयारी सम्मेलनलाई बुधबार सम्बोधन गर्दै मन्त्री डा.राणाले भनिन्,“मुलुक राजनीति अस्थिरताको बन्दी बनेपछि स्थायित्व प्रदान गर्न दुई प्रमुख दल कांग्रेस र एमालेको सरकार बनेको हो । त्यसैले यो सरकारको प्राथमिकता स्थायित्व, आर्थिक विकास र शान्ति हो ।”

मन्त्री डा.राणाले कुनै पनि देशमा स्वदेशी तथा वैदेशिक लगानीका लागि सबैभन्दा पहिला राजनीतिक स्थायित्व र शान्तिको वातावरण आवश्यक पर्ने भएकाले यसैका लागि वर्तमान सरकार कार्यरत रहेको धारणा पनि राखिन् ।

कानुनमा सुधार गरेर हुन्छ या नयाँ नीति नियमहरू निर्माण गरेर लगानीमैत्री वातावरण निर्माण गरी स्वदेशी तथा विदेशी लगानी प्रवर्धनमा वर्तमान सरकार लागेको पनि उनले बताइन् । 

मन्त्री डा.राणाले सरकारको आर्थिक विकासको एजेन्डालाई थप प्रवर्धन गर्न आफूले परराष्ट्र मन्त्रालयमा अलग्गै आर्थिक कूटनीति महाशाखाको स्थापना गरेर कूटनीतिका माध्यमबाट विदेशी लगानी भित्र्याउने कामका लागि सहजीकरण गरिरहेको जानकारी पनि दिइन् । 

मन्त्री डा.राणाले कुनै पनि देशको आर्थिक विकासको इञ्जिन भनेको निजी क्षेत्र हो भन्ने मान्यतामा वर्तमान सरकार र आफ्नो पार्टी नेपाली कांग्रेस रहेको स्पष्ट गर्दै लगानीमैत्री नीति तथा कानुनहरू निर्माण गरेर बढीभन्दा बढी लगानीका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति सरकारले लिएको पनि बताइन् । 

उनले भनिन्,“जुनसुकै लगानीका लागि पनि राजनीतिक स्थायित्व र शान्तिको वातावरण आवश्यक पर्दछ, यो स्वाभाविक हो । त्यस्तै कुनै पनि देशमा विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्न स्वदेशी लगानीकर्ताहरूलाई पनि उचित वातावरण आवश्यक पर्दछ । यो वास्तविकता बुझेर वर्तमान सरकारले काम गरिरहेको छ ।”

मन्त्री डा.राणाले सुदूरपश्चिम पर्यटन, संस्कृति, कृषि उपजलगायतका धेरै क्षेत्रमा धेरै सम्भावना बोकेको प्रदेश हो भन्दै सो क्षेत्रमा बढी भन्दा बढी लगानी गरेर मुनाफा लिन निजी क्षेत्रलाई आह्वान पनि गरिन् । 

साथै मन्त्री डा.राणाले आफ्ना क्षेत्रमा ठुलो लगानी भित्र्याउनका लागि प्रदेश सरकार तथा स्थानीय नागरिकहरू पनि आफ्ना ठाउँबाट सशक्त रूपमा लाग्नुपर्ने धारणा राखिन् । 

उनले भनिन्,“यस क्षेत्रको विकासका लागि सबै एकजुट भएर लागौँ । विकासमा राजनीति शोभनीय हुँदैन । राजनीतिलाई आफ्ना ठाउँमा राखौँ र आफ्ना क्षेत्रको विकासका लागि एकमत बनाएर लागौँ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप