इन्टर मिलान छाडेलगत्तै अल–हिलालसँग जोडिए प्रशिक्षक सिमोन इन्जाघी

काठमाडौँ । साउदी अरेबियन क्लब अल–हिलालले इटालीका सिमोन इन्जाघीलाई आफ्नो नयाँ प्रमुख प्रशिक्षक नियुक्त गरेको छ । ४९ वर्षीय सिमोन इन्जाघी यसअघि इटालियन क्लब इन्टर मिलानका प्रमुख प्रशिक्षक थिए ।
अल–हिलालले इन्जाघीसँग दुई वर्षका लागि सम्झौता गरेको हो । इन्टर मिलान छाडेको एक दिनपछि नै इन्जाघी अल–हिलालसँग जोडिएका हुन् । यूईएफए च्याम्पियन्स लिगको उपाधि जित्न असफल भएपछि उनले इन्टर मिलान छाडेका हुन् ।
इन्टर मिलानले च्याम्पियन्स लिगको फाइनलमा फ्रान्सेलकी प्रतिद्वन्द्वी पेरिस सेन्ट जर्मन (पीएसजी)सँग ०–५ गोलको लज्जास्पद हात ब्यहोरेको थियो । योसँगै इन्जाघी सन् २०१९–२० सिजनपछि पहिलो ठूलो उपाधि जित्ने अभियानबाट चुकेका थिए ।
प्रशिक्षक इन्जाघी सन् २०२१ मा इन्टर मिलानको प्रशिक्षक बनेका थिए । आफ्नो प्रशिक्षकत्वमा उनले इन्टर मिलानलाई सन् २०२३–२४ सिजनको इटालियन सिरिएको उपाधि चुमाएका थिए । उनको प्रशिक्षकत्वमा इन्टर मिलानले दुईपटक कोपा इटालियाको उपाधि पनि जितेको थियो ।
इन्जाघीले सन् २०२३ मा पनि इन्टर मिलानलाई च्याम्पियन्स लिगको फाइनलसम्म डो¥याएका थिए । तर, त्यतिबेला पनि उनको टोली फाइनलमा इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीसँग ०–१ गोलले पराजित भएको थियो ।
अल–हिलालमा इन्जाघीले पोर्चुगिज प्रशिक्षक जोर्गे जिससको स्थान लिएका हुन् । जिससकै प्रमुख प्रशिक्षकत्वमा अल–हिलालको टोलीले सन् २०२३–२४ सिजनमा साउदी ब्यवसायीक लिगको उपाधि कुम्ल्याएको थियो ।
तर, टोलीलाई एसियन च्याम्पियन्स लिगको फाइनलमा पु¥याउन नसकेपछि क्लबले उनलाई पदबाट बर्खास्त गरेको थियो । इटालियन सञ्चारमाध्यमले जनाए अनुसार, अल–हिलालले प्रशिक्षक इन्जाघीलाई प्रत्येक सिजनका लागि तीन करोड युरोमा भित्राएको हो ।
इन्जाघीको प्रशिक्षकत्वमा अल–हिलालले पहिलो महत्वपूर्ण प्रतियोगिताका रुपमा आगामी क्लब विश्वकप खेल्नेछ । अमेरिकामा आयोजना हुने क्लब विश्वकपको पहिलो खेलमा अल–हिलालले स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडको सामना गर्नेछ । उक्त खेल जुन १८ तारिखमा मियामीमा खेलिने छ ।