सरोकारवालाहरूको एकै स्वरः पहलगाम घटनालाई नेपालले गम्भीर लिएन

काठमाडौँ । दक्षिण एशियामा आतंकवाद गम्भीर रुपमा बढ्दै गएको र त्यसको सीधा असर नेपालमा पर्ने चिन्ता सरोकारवालाहरूले गरेका छन् ।
सेन्टर फर सोसल इनोभेसन एन्ड फोरेन पोलिसी नेपाल (सेसिफ) ले आयोजना गरेको ‘दक्षिण एशियामा आतंकवाद र नेपालमाथिको प्रभाव’ विषय अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले आतङ्कवादको ट्रान्जिट नेपाल बन्ने खतरा रहेको उल्लेख गर्दै पहलगाम आक्रमणबारे नेपालले स्पष्ट रूपमा भारतको समर्थन नगर्नु गम्भीर कूटनीतिक गल्ती भएकोमा चिन्ता व्यक्त गरे ।
यहाँसम्म कि, नेपालले केवल प्रतीकात्मक निन्दा गरेर चित्त बुझाउने हो भने लामो समयसम्म सुरक्षित रहन नसकिने उनीहरूले चेतावनीसमेत दिए ।
‘आतंकवादको प्रभावप्रति नेपालको नीतिगत प्रतिक्रिया’ विषयमा आफ्नो धारणा राख्दै पूर्वपरराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेता एनपी साउदले आतंकवाद अब छिमेकीको मात्र समस्या नभएको बताए । भने, ‘आप्रवासन प्रणालीमा कमजोरी रहेको छ । आईसी ८१४ प्रकरणमा नेपालले आतंककारीलाई चिनाउन वा सम्बन्धित मुलुकसँग समन्वय गर्न सकेको छैन ।’
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवले पहलगाम आक्रमणमा नेपालको मौनतालाई कूटनीतिक गल्तीको रूपमा उल्लेख गरे । आतंकवादलाई राष्ट्रिय मुद्दाको रूपमा प्रस्तुत गर्न संसद् असफल रहेको उनले बताए ।
पूर्वपरराष्ट्र सचिव शंकरदास वैरागीले अन्तर्राष्ट्रिय सन्धिहरूप्रति नेपाल वचनबद्ध रहे पनि कार्यान्वयनमा कमजोरी देखिएको टिप्पणी गरे । उनले आप्रवासन र गुप्तचर संयन्त्रलाई सुधार गर्नुपर्ने आवश्यकतामा जोड दिए ।
पूर्वराजदूत दुर्गा भट्टराईले पनि नेपाल यसमा गम्भीर नदेखिएको उल्लेख गरे । आतंकवादजस्तो विषयमा मौन रहनु, प्रतिक्रिया नदेखाउनु राम्रो नभएको उनले बताए ।
सेसिफका अध्यक्ष एवं पूर्वराजदूत विजयकान्त कर्णले दक्षिण एसियामा आतंकवाद गम्भीर रुपमा अगाडि बढ्दै गएको गएको र त्यसको सीधा असर नेपालमा पर्ने भन्दै चिन्ता व्यक्त गरे । उनले नेपाल सम्भावित ट्रान्जिट बिन्दु बन्ने खतरा औंल्याउँदै आईसी ८१४ अपहरण, २००६ को जम्मु–कश्मीर हमलामा नेपाली मजदुरको हत्या र हालैको पहलगाम आक्रमणजस्ता घटनालाई उदाहरणको रूपमा प्रस्तुत गरे ।
परराष्ट्रविज्ञ दिनेश भट्टराईले आतंकवादलाई राष्ट्रिय सुरक्षाको लागि वास्तविक र वर्तमान खतराको रूपमा व्यवहार गर्न सबै एकजुट हुनुपर्ने कुरामा जोड दिए ।
अवकाशप्राप्त मेजर जनरल विनोज बस्न्यातले दक्षिण एसियाको युद्धधर्मी परिदृश्य प्रविधि, सशक्त राष्ट्रहरूको प्रतिस्पर्धा र प्रोक्सी युद्धद्वारा परिवर्तन भइरहेको उल्लेख गरे ।
नेपालले अघोषित रूपमा ‘सफा कूटनीति’मा भर परिरहँदा ठोस सुरक्षा संयन्त्रको कमी रहेको उनले बताए । त्यस्तै पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यले नेपाललाई पहलगाम आक्रमणजस्ता घटनामा सैद्धान्तिक अडान लिन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बङ्गलादेशमा चुनावको सम्भावित मिति घोषणा
-
दोलखाको झ्याँकुमा बोलेरो दुर्घटना, १ जनाको मृत्यु
-
भारतमा कोभिड सङ्क्रमितहरूको सङ्ख्या पाँच हजार नाघ्यो
-
उत्तेजनाको राजनीति कांग्रेसको शैली होइन: महामन्त्री थापा
-
शान्तीश्री परियार र धिरज कोइरालाको स्वरमा ‘सिङ्गै जोबन दिन्छु’ सार्वजनिक
-
पर्सामा आगलागीबाट घरगोठ जले