आर्सनलमै रहने भए ब्राजिलियन डिफेन्डर ग्याब्रियल

काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब आर्सनलका प्रभावशाली डिफेन्डर ग्याब्रियल म्यागाल्हेसले क्लबसँग नयाँ सम्झौता गरेका छन् । नयाँ सम्झौता अनुसार, अब उनी सन् २०२९ सम्म आर्सनलमा रहेने छन् ।
२७ वर्षीय ब्राजिलियन खेलाडी ग्याब्रियल सन् २०२० मा आर्सनलमा आबद्ध भएका थिए । उनलाई आर्सनलले फ्रान्सेली क्लब लिलेबाट दुई करोड ७० लाख पाउण्डमा खरिद गरेको थियो । उनले आर्सनलका लागि दुई सय १० खेल खेलिसकेका छन् ।
नयाँ सम्झौतापछि आफू थप उत्साही भएको ग्याब्रियलले बताएका छन् । ‘म युवा हुँदा नै आर्सनलमा आबद्ध भएको थिएँ । यो क्लबसँग मेरो भावनात्मक सम्बन्ध पनि जोडिएको छु । नयाँ सम्झौतापछि म थप उत्साही भएको छु,’ उनले भनेका छन् ।
सन् २०२४–२५ सिजनको अन्तिम दुई महिना उनी मैदानमा देखा परेका थिएनन् । ह्यामस्टिङ समस्याका कारण उनी उपचारमा ब्यस्त थिए । उनको अनुपस्थिति प्रिमियर लिगमा आर्सनलका लागि चिन्ताको विषय बनेको थियो ।