शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय
राजनीति

संसद्को गतिरोध अन्त्य गर्नेबारे देउवा–प्रचण्डबिच छलफल हुने

शुक्रबार, २३ जेठ २०८२, १५ : ३८
शुक्रबार, २३ जेठ २०८२

समाचार सारांश

  • गृहमन्त्री रमेश लेखकको भिजिट भिसा प्रकरणबारे कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल हुने भएको छ।
  • प्रचण्डले संसदको गतिरोध अन्त्यका लागि देउवासँग छलफल गर्ने बताएका छन्, जसका लागि समय तय हुन बाँकी छ।
  • संसदको गतिरोध अन्त्यका लागि सत्तारुढ दल र प्रतिपक्षी दलहरूबीच सहमति खोज्ने प्रयास भइरहेको छ।

काठमाडौँ । गृहमन्त्री रमेश लेखक जोडिएको भिजिट भिसा प्रकरणका कारण प्रतिनिधिसभामा देखिएको गतिरोध अन्त्य गर्न सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच छलफल हुने भएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट भएको भिजिट भिसाको बदमासीबारे प्रचण्डले देउवासँग कुराकानी गर्न लागेका हुन् । प्रतिपक्षी दलहरूको शुक्रबार संसद् भवन नयाँ वानेश्वरमा बसेको बैठकले संसद्को गतिरोध अन्त्यका कांग्रेस सभापति देउवासँग प्रचण्डले छलफल गर्ने निर्णय गरेको थियो ।

आज मात्रै प्रचण्डले नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नेता ज्ञानेन्द्रबहादुर काकी र प्रमुख सचेतक श्यामकुमार घिमिरेसँग छलफल गरेका थिए । त्यसपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले संसद्को गतिरोध अन्त्यका लागि देउवासँग छलफल गर्ने बताएका थिए । 

कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले पनि प्रचण्ड र कांग्रेस सभापति देउवाबिच संसद्को गतिरोध अन्त्यका लागि छलफल हुने बताए । समय भने निश्चित भई नसकेको उनको भनाइ छ । उनीहरूबिच छिटै भेटवार्ता हुने कार्कीले बताए । 

सहमति गर्ने प्रयासमा सत्तारुढ दल र प्रतिपक्षी दलहरू लागेपछि प्रतिनिधिसभा बैठक आइतबार एक बजेसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको छ । प्रतिपक्षीहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा, छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउने माग गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप