आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय

मणिपुरमा फेरि हिंसा, पाँच जिल्लामा इन्टरनेट बन्द, केहीमा निषेधाज्ञा

आइतबार, २५ जेठ २०८२, १६ : ५९
आइतबार, २५ जेठ २०८२

समाचार सारांश

  • मणिपुरमा विरोध प्रदर्शनपछि पाँच जिल्लामा इन्टरनेट सेवा बन्द गरिएको छ, कर्फ्यू र निषेधाज्ञा जारी गरिएको छ।
  • मेइतेई संगठनका एक नेतालाई हिरासतमा लिएपछि प्रदर्शनकारीहरूले आगजनी गरे, क्वाकेइथेल र उरिपोकमा सुरक्षा बल तैनाथ गरियो।
  • सरकारले सार्वजनिक शान्ति र व्यवस्था कायम राख्न धारा १६३ र कर्फ्यू लगाएको छ, तर पक्राउ परेका नेताको विवरण खुलाइएको छैन।

इम्फाल । मणिपुरको राजधानी इम्फालका केही भागमा विरोध प्रदर्शन भएपछि शनिबार रातिदेखि आगामी पाँच दिनका लागि राज्यका पाँच जिल्लामा इन्टरनेट सेवा बन्द गरिएको छ। साथै, प्रहरीले चार जिल्लामा धारा १६३ लागू गरेको छ र सार्वजनिक स्थानमा भेला हुन र विरोध प्रदर्शन गर्न प्रतिबन्ध लगाएको छ। एउटा जिल्लामा कर्फ्यू समेत लगाइएको छ।

शनिबार राति, मेइतेई संगठनका एक नेतालाई कथित रूपमा हिरासतमा लिइएको रिपोर्ट आएको थियो, त्यसपछि यहाँ विरोध प्रदर्शन सुरु भयो। यी विरोध प्रदर्शनहरू क्वाकेइथेल र उरिपोकमा भएका थिए। प्रदर्शनकारीहरूले आगजनी गरेको पनि रिपोर्टहरू छन्।

यद्यपि, पक्राउ परेका कथित नेताको नाम वा उनीमाथि लगाइएको आरोपको बारेमा अहिलेसम्म कुनै आधिकारिक जानकारी दिइएको छैन। ‘केही मानिसहरूले सडकमा टायर र फर्निचर जलाएपछि स्थिति नियन्त्रणमा ल्याउन क्वाकेइथेल र उरिपोकमा थप सुरक्षा बलहरू तैनाथ गरिएको छ,’ एक अधिकारीले समाचार एजेन्सी पीटीआईलाई बताए।

मणिपुर प्रहरीले सामाजिक सञ्जालमा एक पोस्ट मार्फत राज्यका चार जिल्लामा निषेधाज्ञा लागू गरिएको जानकारी पनि दिएको छ। मणिपुर प्रहरीका अनुसार, ‘भारतीय नागरिक रक्षा संहिताको धारा १६३ इम्फाल पश्चिम, इम्फाल पूर्व, थौबल र काक्चिङ जिल्लाहरूमा लागू गरिएको छ।’

यस अन्तर्गत, कुनै पनि सार्वजनिक स्थानमा पाँच वा सोभन्दा बढी व्यक्तिहरूको भेला र प्रदर्शन निषेध गरिएको छ। यसैबिच, विष्णुपुर जिल्लामा जुन ७ मा राति ११ बजेदेखि कर्फ्यू लगाइएको छ, जुन अर्को आदेश नभएसम्म लागू रहनेछ। सार्वजनिक शान्ति र कानून व्यवस्था बिग्रने र जीवन र सम्पत्तिको क्षति हुने सम्भावनालाई ध्यानमा राख्दै सावधानीका रूपमा यी कदमहरू चालिएको आदेशमा भनिएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार मणिपुर सरकारले एक आधिकारिक विज्ञप्तिमा शनिबार राति ११स्४५ बजेदेखि आगामी पाँच दिनका लागि पाँच जिल्लामा इन्टरनेट सेवा बन्द गरिएको छ। इन्टरनेट सेवा बन्द गरिएका जिल्लाहरूमा इम्फाल पश्चिम, इम्फाल पूर्व, थौबल, विष्णुपुर र काक्चिङ पर्छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप