सोमबार, २६ जेठ २०८२
ताजा लोकप्रिय

माधव नेपालविरूद्ध प्रतिशोध साँधियो, यो सरकारको काल आएको छ : मेटमणि चौधरी

आइतबार, २५ जेठ २०८२, २२ : ०४
आइतबार, २५ जेठ २०८२

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली पदमा रहुन्जेलसम्म कानुनको धज्जी उडाउने काम भइरहने आरोप लगाएका छन् । 

आइतबार काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा उनले भने,‘केपी ओली देशको प्रमुख भएपछि कुनै न कुनै कुराको उटपट्याङ हुन्छ । कानुनको धज्जी उडाउने काम भयो । ओली सशक्त हुँदा मुलुकमा यस्ता खाले काम र क्रियाकलाप भइरहेका छन् । बेठिक काम र ओली पर्यायवाची हो । बकम्फुसे कुरा गर्नु उनको चरित्र हो ।’

हिजो पनि ओली सरकारको नेतृत्वमा हुँदा कुनै उपाय नलागेपछि संसद् नै विघटन गरेको चौधरीले स्मरण गराए । प्रधानमन्त्री ओलीले अहिले आफूभन्दा धेरै सिनियर नेता माधव नेपालविरुद्ध अख्तियारलाई प्रयोग गरेर भ्रष्टाचारको मुद्दा लगाएको चौधरीको आरोप छ । 

उनले भने,‘अख्तियारलाई जबरजस्ती माधव नेपालमाथि मुद्दा लगा लगा भनी भनी मुद्दा लगाउने काम गरिएको छ । म मात्रै कहाँ हो र ? माधव नेपाल पनि मजस्तै हो भन्न पार्नको लागि गरेको छ । नेपाली मान्छेलाई नक्कली भुटानी बनाएर पैसा असुल गरेर अमेरिका पठाउने कुरा कसको पालामा भयो ? ओलीको पालामा भएको होइन र ? ओली प्रधानमन्त्री भएको बेलामा बादललाई संयोजक बनाएर यसको सुरुवात गरेको होइन  । यो–यो विषयमा जो–जो थुनिएका छन्, उनीहरूको कुरा सुन्दा सबै थाहा हुन्छ ।’

उनले गिरिबन्धु प्रकरण पनि ओलीकै पालामा भएको स्मरण गराए । उनले भने,‘गिरिबन्धु टी–स्टेटको कुरा कसको पालामा सुरु भएको हो ? लेनादेनाको काम गरेर गिरिबन्धुको कुरा व्यक्तिगतमा सट्टापट्टा काम पनि ओलीकै पालामा भएको छ । ओलीले मान्छेलाई साईकोलोजिकल डिमोरललाईज गरिरहेका छन् । मैले गृहसचिव बनाएको होइन, यो बनाएको होइन, त्यो बनाएको होइन भनेर मुद्दा लगाइयो । ओली आज अख्तियारको प्रवक्ता हुन् । प्रेम राई मुख्य मान्छे अनि प्रेम राईको प्रवक्ता ओली हो । हिजोदेखि ओली प्रवक्ता भएका छन् ।’

माधव नेपालमाथि जबरजस्ती मुद्दा चलाइएको उनको आरोप छ । उनले भने,‘एकीकृत समाजवादीका अध्यक्षलाई मुद्दा लगाउन सकियो भने यो पार्टी कोलाप्स हुन्छ भनेर सोचेको होला, सांसदहरू एमालेमा आउँछन् र लार्जेष्ट पार्टी हुने सोचेको होला । केपी ओलीले उपसभामुखलाई हटाउनको लागि अनेकौँ प्रयास गरे । ओली पनि ५० वर्षसम्म इगो राखिराख्ने व्यक्ति हुन् ।’ 

उनले माधव नेपालमाथि मुद्दा लगाउने कुरा राजनीतिक प्रतिशोध नै भएको ठोकुवा गरे । उनले जति दिन ओली सरकारमा बस्छन् उति दिन बदनाम हुने भएकोले आफूहरूले सरकार तत्काल ढलोस् भनेर नचाहेको स्पष्ट पारे । 

उनले अहिलेको सरकारको काल आएको टिप्पणी गरे । उनले भने,‘स्यालको काल आयो भने सहर पस्छ, नेताको काल आयो भने संसद् विघटन गर्छन् । यो सरकारको काल आएको छ । यसको अवसान र मृत्यु अत्यन्तै नराम्रोसँग हुन्छ । ओली आज उद्घाटन गर्न जाने हरेक कार्यक्रममा साना बच्चाहरूले ओली मुर्दावाद भनेर नारा लगाउँछन् । अख्तियार पनि निर्देशनमा चल्छौँ र प्रयास गर्छ भने तिम्रो काम छैन । तिमी ओलीको गोटी भयौ । ओलीले जे–जे भन्छन्, त्यही त्यही मान्छौँ भने तिम्रो चेतना कस्तो छ भनेर नेपाली समाजले बुझेकै छो । हामी प्रतिवाद गर्छौँ ।’

उनले अध्यक्ष पदबाट माधव नेपालले राजीनामा नदिने स्पष्ट पारे । उनले भने,‘माधव नेपाल अध्यक्ष भएरै ओलीको कुशासनको मुकाबिला सशक्त रूपमा प्रतिरोध गर्छौँ । ओलीले चिताएको कुरा पूरा हुन दिँदैनौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप