सदन अवरोध हटाउन कांग्रेसको मध्यमार्गी प्रस्ताव, प्रतिपक्षी दलहरू छलफलमा
सारांश
- नेपाली कांग्रेसले भिजिट भिसा सेटिङ प्रकरणमा उत्पन्न अवरोध हटाउन मध्यमार्गी प्रस्ताव अघि सारेको छ। यस प्रस्तावमा गृहमन्त्रीको राजीनामा र छानबिनको लागि संसदीय समिति वा न्यायिक आयोग गठनको माग गरिएको छ।
- कांग्रेसले अख्तियारको छानबिनमा सहयोग गर्ने र छानबिनपछि अध्यागमनका समस्या समाधान गर्न सुझाव दिन समिति बनाउने प्रस्ताव गरेको छ।
- विपक्षी दलहरूले कांग्रेसको प्रस्तावमा साझा धारणा बनाउन बैठक बोलाएका छन्, भने माओवादी र एकीकृत समाजवादी सकारात्मक देखिएका छन्।
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भएको भनिएको भिजिट भिसा सेटिङ प्रकरणले प्रतिनिधिसभामा भइरहेको अवरोध खुलाउन सत्तारुढ दल नेपाली कांग्रेसले मध्यमार्गी प्रस्ताव अघि सारेको छ । शुक्रबारदेखि भइरहेका द्विपक्षीय वार्तापछि कांग्रेसले आइतबार साँझ मध्यमार्गी प्रस्ताव अघि सारेको हो ।
कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नेता ज्ञानेन्द्र कार्की र प्रमुख सचेतक श्यामकुमार घिमिरेले मध्यमार्गी प्रस्ताव तयार गरी भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा तथा छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउनु पर्ने माग राखेर प्रतिनिधिसभामा जेठ १३ गतेदेखि अवरोध गरिरहेका प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी)सँग सहमतिका लागि प्रस्ताव गरेका हुन् ।
कांग्रेस नेता कार्कीले आफूहरू सहमतिका लागि विपक्षी दलहरूसँग प्रस्ताव पेस गरेको जानकारी दिए । ‘हामीले सदनमा देखिएको गतिरोध समाधानका एउटा प्रस्ताव पेस गरेका छौँ । सहमतिका लागि विपक्षीहरू सकारात्मक भएको पाएका छौँ,’ कार्कीले रातोपाटीसँग भने ।
कार्कीका अनुसार कांग्रेसले अहिले भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छानबिनमा सहयोग गर्ने र अख्तियारको छानबिन सकिएपछि भिजिट भिसाका सम्बन्धमा अध्यागमन देखिएका समस्याहरूको समाधान गर्न र सुधार गर्नका निमित्त गर्नुपर्ने कामबारे सुझाव दिन समिति बनाउने भन्ने प्रस्ताव प्रतिपक्षी दलहरूसँग राखेको हो ।
कांग्रेसले त्यो समिति संसदीय हुने वा न्यायिक भन्नेबारे केही खुलाएको छैन ।
कांग्रेस नेता कार्कीले आफूहरूको प्रस्तावमा प्रतिपक्षी दलहरू सकारात्मक रहेको बताए पनि प्रतिपक्षी दलहरू भने प्रतिनिधिसभा बैठक अघि प्रतिपक्षी दलहरूको बैठक बसेर साझा धारणा सार्वजनिक गर्ने बताएका छन् ।
प्रतिनिधिसभा बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ । प्रतिपक्षी दल एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले कांग्रेसले प्रस्तुत गरेको प्रस्तावबारे प्रतिनिधिसभा बैठक अगाडि बैठक बसेर साझा धारणा सार्वजनिक गर्ने जानकारी दिए । ‘कांग्रेसले प्रस्ताव प्रस्तुत गरे पनि कुनै सहमति भइसकेको छैन । प्रतिनिधिसभा बैठक अगाडि प्रतिपक्षी दलहरू बसेर हामीले धारणा सार्वजनिक गर्छौँ,’ पाण्डेले रातोपाटीसँग भने ।
माओवादीका प्रमुख सचेतक हितराज पाण्डे भने आफू राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा रहेकाले अहिले कुरा गर्न नमिल्ने बताएर पन्छिए ।
कांग्रेस नेताहरू भने माओवादी र एकीकृत समाजवादी सदनको अवरोध खुलाउन सकारात्मक रहेकाले आज अवरोध हट्ने बताउँछन् । कांग्रेस नेता कार्कीले आजको बैठकमा अवरोध हट्ने सम्भावना प्रबल रहेको दाबी गरे ।
माओवादी र एकीकृत समाजवादी कांग्रेसको प्रस्तावमा सकारात्मक देखिए पनि राष्ट्रिय स्वतन्त्र पार्टीले भने गृहमन्त्री रमेश लेखकमाथि अहिले नै छानबिन हुनुपर्ने अडान राखिएको नेताहरू बताउँछन् । सत्ता पक्ष भने माओवादी र एकीकृत समाजवादीलाई मिलाएपछि राष्ट्रिय स्वतन्त्र पार्टीलाई पेलेर जाने मनस्थितिमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण