सोमबार, २६ जेठ २०८२
ताजा लोकप्रिय
वाईसीएल सम्मेललन

वाईसीएलको पदाधिकारी बढाएकोमा कर्णालीका ६ जिल्ला इन्चार्जको असहमति

सोमबार, २६ जेठ २०८२, १७ : ०४
सोमबार, २६ जेठ २०८२

समाचार सारांश

  • वाईसीएलको विधान मिचेर पदाधिकारी र केन्द्रीय समितिको आकार बढाइएकोमा ६ जिल्लाका इन्चार्जहरूको विरोध।
  • वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनले पारित गरेको विधान विपरीत पदाधिकारी र केन्द्रीय समिति गठन भएको आरोप।
  • विरोध गर्नेहरूले केन्द्रीय कार्यालयमा असहमति जनाउँदा सुनुवाइ नभएको गुनासो गरेका छन्।

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्युनिस्ट लिग (वाईसीएल)को विधानलाई मनोमानी ढङ्गले मिचेर पदाधिकारी र केन्द्रीय समितिको आकार बढाएकोमा ६ जिल्लाका इन्चार्जहरूले विरोध जनाएका छन् । जेठ (१८–२४) गते काठमाडौँमा सम्पन्न वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनले ७५ सदस्यीय पदाधिकारी र ३५१ सदस्यीय केन्द्रीय समिति गठन गरेको थियो । 

तर जेठ २० गतेको बन्द सत्रले पारित गरेको विधानमा ३५ सदस्य पदाधिकारी र २५१ सदस्यीय केन्द्रीय समितिको व्यवस्थालाई मनोमानी ढङ्गले बढाएकोमा उनीहरूले विरोध जनाएका हुन् । विरोध गर्नेहरूमा रुकुम पश्चिम, जाजरकोट, कालिकोट, हुम्ला, जुम्ला, दैलेखका इन्चार्जसहित केही जिल्लाका केन्द्रीय सदस्यहरू रहेका छन् । यसबारे केन्द्रीय कार्यालयमा असहमति राख्दासमेत कुनै सुनुवाइ नभएको विज्ञप्तिमार्फत जानकारी गराएका छन् । 

‘वर्तमान केन्द्रीय सदस्यहरूले प्रतिनिधिलाई भ्रममा राखेर विधान विपरीत केन्द्रीय समिति गठन गरेको निष्कर्ष निकाल्दै सामूहिक रूपमा असहमति प्रकट गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ । 

असहमति जनाउनेमा जनककुमार विश्वकर्मा (रुकुम पश्चिम), विकास रोकाय (जाजरकोट), हस्तबहादुर शाही(कालिकोट), हर्क थापा (दैलेख), कर्मा लामा(हुम्ला) छन् । केन्द्रीय सदस्यहरू गौरीकला शाही, गीता शाही र राजेश बुढा रहेका छन् ।

Capture

ccc

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप