असार पहिलो सातादेखि ग्वार्को फ्लाइओभरबाट गाडी चल्ने

काठमाडौँ । ग्वार्को फ्लाइओभर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । एक साताभित्र निर्माण सम्पन्न गरी असारको पहिलो सातादेखि फ्लाइओभर सञ्चालनमा ल्याउने आयोजनाले जनाएको छ ।
सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान विकास केन्द्रका इन्जिनियर प्रदीप भण्डारीले फ्लाइओभरको कोटेश्वरतर्फको सडक कालोपत्रे सम्पन्न भइसकेको जानकारी दिए । उनका अनुसार कोटेश्वर खण्डमा पेन्टिङ र लाइट जडान कार्य भइरहेको छ । सातदोबाटोतर्फ दोस्रो चरणको कालोपत्रे गर्ने कार्य भइरहेको छ ।
‘सातदोबाटोतर्फ कालोपत्र बाँकी छ । पहिलो लेयर (तह) कालोपत्र सकिसक्यौँ । मंगलबारदेखि लेयरमा कालोपत्रे सुरु गरेका छौँ । पानी परेन भने चार, पाँच दिनमा कालोपत्रेको काम सकिन्छ,’उनले भने, ‘हाम्रो लक्ष्य त जेठभित्रै सक्ने हो । तर पानीले गर्दा केही दिन ढिला हुने देखियो ।’
फ्लाइओभर निर्माणका लागि ४ वर्षअघि १७ करोड ६ लाख ८८ हजार ८८८ रुपैयाँ १ पैसाको कुल लागतमा निर्माण गर्ने सम्झौता भएको थियो । केन्द्रले ईपीसी मोडलमा निर्माणका लागि आशीष–समानान्तर–रेलिगेर जेभीलाई ठेक्का दिइएको थियो ।
३० मिटर स्पानको ४ लेन प्रिकास्ट गर्डर पुल निर्माण गर्नेसहितको एमएसई वाल भएको ५ सय ४० मिटर अप्रोच सडक निर्माण गर्नेगरी ठेक्का सम्झौता गरिएको थियो । सोहीअनुसार सडक पुल निर्माण सम्पन्न भइसकेको छ । र्याम्प १०.२ मिटरसम्म अग्लो बनाइनुपर्ने, सडकमा १२ सेमी अलकत्रा, १५ सेमी डीबीएम, ३० सेमी बेस, ३० सेमी सबबेस राख्ने प्रावधान सम्झौतामा उल्लेख छ । साथै उक्त सडकमा ट्राफिक लाइटसमेत जडान गर्नुपर्ने सम्झौता छ ।
ईपीसी मोडलमा पटक–पटक म्याद थपियो
२०७८ फागुन १२ गते सुरु भएको ठेक्का सम्झौताअनुसार २०८० फागुन ११ भित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर सो अवधिमा निर्माण कार्य सम्पन्न नभएपछि दोस्रो पटक २०८१ असारसम्मका लागि म्याद थप गरिएको थियो ।
सो अवधिमा पनि निर्माण सम्पन्न हुन सकेन । पटक–पटक डिजाइन परिवर्तन गर्नुपरेका कारण समयमा निर्माण सम्पन्न हुन नसकेको निर्माण व्यवसायीको दावी थियो ।
२०८१ असार मसान्तसम्ममा निर्माण सम्पन्न हुन नसकेपछि तेस्रो पटक २०८२ पुस ८ गतेसम्म म्याद थप गरिएको थियो । उक्त अवधिमा ८२ प्रतिशत निर्माण कार्य सम्पन्न भएको केन्द्रले जनाएको थियो । पछिल्लो म्यादभित्र पनि निर्माण सम्पन्न हुन नसकेपछि निर्माण कम्पनी २०८२ चैतसम्मका लागि म्याद थप्न माग गरेका थिए ।
ईपीसी मोडलअनुसार ठेक्का गरिएकाले डिजाइनदेखि निर्माणसम्मको जिम्मेवारी ठेक्का लिने कम्पनीकै हुन्छ । यस्तो ठेक्कामा म्याद थप्न पाइँदैन । तर यो आयोजना निर्माण सम्पन्न गर्नका लागि ३ पटकसम्म म्याद थप गरिएको देखिन्छ । र अन्तिम पटक हर्जाना तिराएर काम भएको छ ।
तर केन्द्रले म्याद थप नगरेर पुस ९ गतेदेखि हर्जाना तिराउँदै निर्माण कार्य गरायो । अन्तिम म्यादभित्र निर्माण सम्पन्न नभएको हुनाले कुल ठेक्का रकमको ०.०५ प्रतिशत बराबरको दैनिक हर्जाना दरअनुसार निर्माण कार्य अघि बढाइएको थियो ।
उक्त अनुपातले दैनिक ८५ हजार रुपैयाँ बराबर हर्जाना पर्न जान्छ । र हालसम्म हर्जाना तिरेर काम हुँदै आएको छ । कम्पनीले कुल लागतको १० प्रतिशत अर्थात् करिब १ करोड ७० लाख रुपैयाँ बराबरको हर्जाना तिर्नुपर्ने छ ।
गत माघमा सातदोबाटो तर्फको रेनफोस्र्ड अर्थ (आरई) वालको प्यानल जडानमा प्राविधिक त्रुटि देखिएको भन्दै भत्काएर पुनः निर्माण गरियो । करिब ४० मिटर जतिको प्यानल जडानमा ग्याप देखिएको थियो । त्यसकारण माघ २४ गतेदेखि जडान भइसकेको प्यानल झिकेर पुनः राख्ने कार्य भयो । प्राविधिक त्रुटिमा सुधार गरियो ।
त्यसपछि सबबेस निर्माण गरियो । अहिले कालोपत्रे गर्ने कार्य करिब अन्तिम चरणमा पुगेको छ । यसै करिब चार/पाँच दिनमा कालोपत्रे सम्पन्न हुने र पेन्टिङ सुरु हुने आयोजनाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबार बोलाइएको विषयमा भण्डारीको स्पष्टीकरण: ‘व्यक्तिगत भेटघाट मात्र हो’
-
भारतीय विमान दुर्घटनाप्रति परराष्ट्र मन्त्रालयद्वारा दुःख व्यक्त
-
रियलमा आबद्ध हुनु ‘सपना पूरा भएको क्षण’
-
सिटी छाडेर नापोली पुगे डी ब्रुयना
-
मकवानपुरमा चट्याङ लागेर बालकको मृत्यु
-
व्यवसायीले गरेनन् भारतले दिएको कोटाबापतको गहुँ आयात