मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्पेनको युरो खेल्ने टोलीमा परिनन् कीर्तिमानी गोलकर्ता हर्मोसो

बुधबार, २८ जेठ २०८२, १७ : ०४
बुधबार, २८ जेठ २०८२

काठमाडौँ । स्पेनकी कीर्तिमानी गोलकर्ता जेन्नी हेर्मोसो आगामी स्विजरल्याण्डमा आयोजना हुने युरोपेली च्याम्पियनसिप (युरो) खेल्ने टोलीमा अट्न असफल भएकी छन् ।

३५ वर्षीया हेर्मोसोले राष्ट्रिय टोलीका लागि १२३ खेलमा ५७ गोल गरेकी छिन् र सन् २०२३ मा अस्ट्रेलियामा स्पेनले पहिलो पटक महिला विश्वकप जित्दा उनी मुख्य खेलाडीमध्ये एक थिइन् ।

हाल मेक्सिकोको क्लब टाइग्रेसमा खेलिरहेकी हेर्मोसोले युरो छनोटका सबै ६ खेल खेलेकी थिइन् । उनी अन्तिम पटक अक्टोबर २०२४ मा मैदान उत्रेकी थिइन् । 

विश्वकप जित्ने स्पेनको टोलीमा भएका १२ खेलाडी परिवर्तन गरिएका छन्, जसमा उनी पनि परेकी हुन्। विश्वकप जितेपछि ट्रफी वितरणको क्रममा स्पेनको फुटबल महासंघका पूर्वअध्यक्ष लुइस रुबियालेसले उनको सहमति बिना चुम्बन गरेका थिए । उक्त घटनापछि रुबियालेसमाथि यौन दुव्र्यवहारको आरोप पुष्टि भएको थियो ।

टोलीका मुख्य प्रशिक्षक मोन्ट्से टोमेले हेर्मोसोको टोलीबाट बहिष्करणबारे स्पष्ट पार्दै भनिन्, ‘म बुझ्छु, जेन्नी एक महत्त्वपूर्ण खेलाडी हुन् । मैले उनीसँग उनको अवस्थाबारे कुरा गरेकी छु र अन्य खेलाडीहरूसँग त्यही गरिएको छ ।’

‘हामीले टाइग्रेसका लागि उनले देखाएको प्रदर्शनको मूल्याङ्कन गरेका छौँ र उनको प्रशिक्षकसँग पनि कुरा गरेका छौँ। उनको स्थानमा हामीसँग पात्री (गुइजारो), एइटाना (बोनमाती), अलेक्सिया (पुटेलास), माइते (जुबिएता), विकी (लोपेज) छन्, र मरिओना (कालदेन्टे) वा (क्लाउडिया) पिना पनि त्यहाँ खेल्न सक्छन्,’ उनले भनिन्, ‘२३ खेलाडी रोज्नु गाह्रो छ, तर हामीले व्यावसियक तरिकाले निर्णय लिएका हौँ। अन्ततः यही हाम्रो चयन हो ।’

यो पटकको टोलीमा आर्सनलबाट च्याम्पियन्स लिग फाइनल जितेकी मरिओना कालदेन्टे, म्यानचेस्टर सिटीकी लेइला औआहाबी, र दुई पटक बालोन डी’ओर जित्ने अलेक्सिया पुटेल्यास र एइटाना बोनमाती समावेश छन् ।

युरो २ जुलाईबाट सुरु हुँदैछ, जसमा स्पेनले ३ जुलाईमा समूह बी अन्तर्गत पोर्चुगलविरुद्ध पहिलो खेल खेल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप