अनेरास्ववियुको अध्यक्षका लागि डाक्टर र राजनीतिशास्त्रका विद्यार्थी भिड्दै

काठमाडौँ । अनेरास्ववियुको २४ औँ महाधिवेशन महाधिवेशनमा आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । अध्यक्षका लागि डाक्टर सुजन कडरिया र प्रकाश पाैडेल प्रतिस्पर्धामा छन् । दुवै पक्ष प्यानलसहित चुनावी मैदानमा होमिएका हुन् ।
डाक्टर कडरियाको प्यानलमा दीपक धामी महासचिव, उपाध्यक्षमा राजकुमार ढकाल, उपाध्यक्ष (महिला) अञ्जना सिवाकोटी रहेका छन् । भने पौडेलको प्यानलबाट आरके रोमस महासचिवमा भिड्दै छन् ।
दुवै पक्ष अनेरास्ववियु पक्तिमा निकै लोकप्रिय मानिएका छन् । उनीहरू दुवै पक्षले घोषणापत्र नै सार्वजनिक गर्दै चुनावी मैदानमा होमिएका हुन् ।
गाउँ गाउँमा उपचार गर्दै हिँड्ने डाक्टर :
डाक्टर कडरिया एमबीबीएसको अध्ययन सकेर आफ्नो पेसामा आबद्ध छन् । उनी कुनै निजी क्लिनिक वा अस्पतालमा राम्रो सेवा सुविधा लिएर बिरामीको उपचारमा संलग्न छैनन् ।
कुनै पनि सेवासुविधा नलिईकन महिनौं दिन सम्म डाक्टरहरू खासै जान नमान्ने ठाउँहरूमा सेवा दिन गइरहेका हुन्छन् । कहिले रोल्पा त कहिले बाजुरा त कहिले जाजरकोट ।
जाजरकोटमा भूकम्प जाँदा होस्, वा गत वर्षको बाढी पहिरोले जनजीवन अस्तव्यस्त बनिरहेका बस्ती हुन्, उनी स्वास्थ्य शिविर लिएर पुग्ने गर्छन् । विभिन्न सङ्घ संस्थासँग सहयोग मागेर स्वास्थ्य शिविर सञ्चालन गर्छन्, र बिरामीको उपचार गराउँदै आएका छन् ।
दुर्गम ठाउँहरूमा गएर काम गर्दा उनले अहिलेसम्म कुनै पनि पारिश्रमिक लिएका छैनन् । शिक्षा र स्वास्थ्य क्षेत्रमा जनताको समान पहुँच पुर्याउनुपर्छ भन्ने उनको मान्यता रहिआएको छ ।
उनी २०६७ सालदेखि अनेरास्ववियुमा आबद्ध छन् । तत्कालीन समयमा अर्जुन अधिकारीको काठमाडौँ भूगोल जिल्ला समिति सदस्य हुँदै २०७१ सालमा काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स अध्यक्ष, २०७३ सालमा काठमाडौँ युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्सको संस्थापक सभापति हुँदै २०७५ सालमा काठमाडौँ विश्वविद्यालय नेशनल मेडिकल स्टुडेण्ट युनियन अध्यक्ष, २०७६ सालमा एनएमएसए राष्ट्रिय कमिटी अध्यक्ष, २०७७ सालमा पदेन सचिवालय सदस्य, २०७८ सालमा सचिवालय सदस्य, २०७८ सालमा एनएमएसए इन्चार्ज हुदैं २०७९ सालमा भएको अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका थिए ।
विगतबाट सिकेर अगाडि बढ्ने र अतीतलाई कोट्याएर, भझाएर मात्र आन्दोलनको आधुनिक युगको शुभारम्भ हुन नसक्ने उनको बुझाई छ । विद्यार्थी आन्दोलनको आधुनिक युगको सुरुवातका लागि अबको अनेरास्ववियुको बाटो कस्तो हुनुपर्छ भन्ने विषयमा आफ्ना केही सपनाहरू रहेको बताए ।
राजनीतिक शास्त्रको विद्यार्थी पौडेल :
विद्यार्थी जीवनमा नै उनी अनेरास्ववियुको जिल्ला कमिटीमा प्रवेश गरेका थिए । कलामा समेत पोख्त पौडेलले २०६४ को निर्वाचनमा जिल्लाभर कलाकारको रूपमा परिचय बनाएका थिए ।
कक्षा ११/१२ मा अध्ययन गर्दै गर्दा नै उनी अनेरास्ववियुको जिल्लास्तरको प्रभावशाली नेता बनिसकेका थिए । २०६६ सालमा जनकपुरमा भएको महाधिवेशनमा म्याग्दीबाट निर्वाचित भएर प्रतिनिधि बनेर सहभागी भएका थिए ।
म्याग्दीको म्याग्दी बहुमुखी क्याम्पसमा धेरै चर्चित आन्दोलनहरूको नेतृत्व पौडेलले गरेका छन् । त्यसमध्ये बाहिरका ट्युसन इन्सिच्युट बन्द गरेर कलेजमा सुलभ दरमा कोचिङ्ग पढाउने आन्दोलनले चर्को रूप लिएको थियो । प्राध्यापकहरू कलेजमा थुनिने परिस्थिति बनेको अवस्थामा विद्यार्थीको माग र परिस्थिति अनुरूप क्याम्पस भित्रै सुलभ अतिरिक्त कक्षा सञ्चालन गर्ने सम्झौतासँगै त्यो आन्दोलन अन्त्य भएको थियो ।
२०६२ सालमा उनी जनकल्याण माध्यमिक विद्यालयको स्कुल कमिटी अध्यक्ष बनेका थिए । त्यसपछि २०६३, २०६५ सालमा अनेरास्ववियु म्याग्दी जिल्ला सदस्य, २०६७ सालमा जिल्ला सचिवालय सदस्य, २०६९ सालमा पुनः जिल्ला सचिवालय सदस्य र २०७१ सालमा अनेरास्ववियु म्याग्दी जिल्ला अध्यक्ष बनेका थिए ।
२०७२ सालमा केन्द्रीय सदस्य निर्वाचित भएका उनी २०७८ सालमा केन्द्रीय स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश संयोजक बनेका थिए भने २०७९ सालको २३ औँ महाधिवेशनमा अनेरास्ववियु केन्द्रीय सचिवमा निर्वाचित भएका थिए ।
हाल त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा राजनीतिशास्त्रमा स्नातकोत्तर तहमा अध्ययन गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकैदिन तोलामा ४२०० रुपैयाँले बढ्यो सुनकाे मूल्य
-
‘ज्योतिनगर पहिरो नियन्त्रण राष्ट्रिय प्राथमिकता बन्नुपर्छ’
-
बस्ती जोगाउन झिझरी खोलामा तटबन्ध
-
‘चुरेको विनाशलाई नकार्न सकिँदैन, तर न्यूनीकरण गर्न सकिन्छ’
-
रानीपोखरीमा यसरी गरियो विपद् उद्धार अभ्यास (तस्बिरहरु)
-
ज्योतिनगर पहिरो : अल्पकालीन धेरै, दीर्घकालीनतिर ध्यानै छैन