सिंहदरबार बोलाइएको विषयमा भण्डारीको स्पष्टीकरण: ‘व्यक्तिगत भेटघाट मात्र हो’

समाचार सारांश
- निर्देशक विशाल भण्डारीले प्रधानमन्त्री कार्यालयमा बोलाएको भन्ने खबरको खण्डन गर्दै व्यक्तिगत भेटघाट भएको बताए।
- उनले मिडियालाई समाचार लेख्नुअघि पुष्टि गर्न र अतिरञ्जित नगर्न आग्रह गरे।
- विशाल भण्डारीले सामाजिक सञ्जालमा गएको एपिसोड र इन्स्टा स्टोरीलाई जोडेर अनुमानको भरमा समाचार लेखिएकोमा असन्तुष्टि जनाए।
काठमाडौँ। कमेडी शाे ‘कमेडी नाइट विद च्याम्पियन्स’का निर्देशक विशाल भण्डारीलाई प्रधानमन्त्री कार्यालयले बोलाइएको भन्ने समाचारबारे सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका छन्।
गत मङ्गलबार प्रसारित एपिसोडमा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति व्यङ्ग्य गरिएको अंश प्रसारण भएपछि भण्डारीलाई सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बोलाइएको भन्दै विभिन्न समाचार माध्यमहरूले समाचार प्रकाशन गरेका थिए ।
यस विषयमा भण्डारीले आफ्नो फेसबुकमार्फत बिहीबार प्रतिक्रिया दिँदै आफू सिंहदरबार गएको भए पनि त्यो नितान्त व्यक्तिगत भेटघाटका लागि भएको बताएका हुन्।
उनका अनुसार, “म आज हैन हिजो सिंहदरबार गएको हो। त्यो पनि एक जना मित्रसँगको नितान्त व्यक्तिगत भेटघाटको लागि। मलाई आधिकारिक भेटघाटको लागि बोलाइएको हैन।”
उनले समाचारप्रति असन्तोष जनाउँदै यस्ता विषयमा सम्बन्धित पक्षसँग पुष्टि गरेर मात्र लेख्नुपर्ने उल्लेख गरेका छन्। उनले लेखेका छन्, “गएको ‘एपिसोड’ र एउटा ‘इन्स्टा स्टोरी’ लाई जोडेर अनुमानकै भरमा यसरी अतिरञ्जित बनाउनु कदापि सही हैन। बिक्छ भन्दैमा गफ गफ नबेचौँ। गलत सूचनाले समाजलाई सही दिशा कदापि दिँदैन।”
सो एपिसोडमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू डा. तोसिमा कार्की, सुमना श्रेष्ठ, असिम शाह र निशा डाँगी सहभागी थिए।