शनिबार, ३१ जेठ २०८२
ताजा लोकप्रिय

नेपाल–भारत बिचको सम्बन्ध थप सुदृढ बनाउन विकास साझेदारीमा जोड

शुक्रबार, ३० जेठ २०८२, १२ : २५
शुक्रबार, ३० जेठ २०८२

समाचार सारांश

  • सरोकारवालाहरूले नेपाल-भारत सम्बन्धबाट नेपालले फाइदा लिनुपर्ने धारणा राखेका छन्। विकास साझेदारी र सुदृढ सम्बन्धका लागि जोड दिइयो।
  • परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तन लगायतका चुनौतीहरूमा नेपाल-भारत सहकार्यको आवश्यकता औंल्याइन्, पूर्वाधार विस्तारमा जोड दिइन्।
  • भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालसँगको सम्बन्ध सुदृढ बनाउन प्रतिबद्धता व्यक्त गरे, विद्युत् निर्यात र डिजिटल भुक्तानी प्रणालीको उदाहरण प्रस्तुत गरे।

काठमाडौँ । नेपाल–भारतको सम्बन्धबाट नेपालले फाइदा लिनुपर्ने धारणा सरोकारवालाहरूले राखेका छन् । दुई देशको भौगोलिक र सामाजिक यथार्थ आपसी समृद्धिका लागि आवश्यक रहेको कुरामा जोड दिँदै उनीहरूले नेपाल–भारतको सम्बन्ध अझै सुदृढ बनाउन विकास साझेदारीमा जोड दिनुपर्ने धारणा राखेका हुन् ।

सेन्टर फर सोसल इनोभेसन एन्ड फोरेन पोलिसी नेपाल (सेसिफ) र अनन्त एस्पेन केन्द्र, भारतको सहआयोजनामा बिहीबार सम्पन्न ‘नेपाल–भारत रणनीतिक संवाद’ विषयक अन्तरक्रिया कार्यक्रममा सो धारणा राखेका हुन् । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले जलवायु परिवर्तन, भू–राजनीतिक बदलाव र प्रविधिगत रूपान्तरणजस्ता विश्वव्यापी चुनौतीबिच नेपाल–भारत सहकार्यको आवश्यकता झनै बढेको बताइन् । उनले भनिन्, ‘हाम्रो निकटतालाई समृद्धिमा बदल्न, सडक, रेलदेखि डिजिटल पूर्वाधारसम्म सम्पर्क विस्तार गर्नुपर्छ ।’ 

पञ्चेश्वर जलविद्युत परियोजनामा भएको प्रगति र १०,००० मेगावाट विद्युत् निर्यातको लक्ष्यलाई पुरा गर्नुपर्नेमा उनले जोड दिइन् । नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको ‘नेबरहुड फस्र्ट’ नीतिअनुसार नेपालसँगको सम्बन्धलाई थप सुदृढ बनाउन प्रतिबद्ध रहेको बताए ।

उनले विद्युत् निर्यात, डिजिटल भुक्तानी प्रणालीको नेपालमा प्रयोग जस्ता उदाहरण प्रस्तुत गर्दै ‘सीमा सेतु’ हुनुपर्छ भन्ने धारणा राखे । उनले भारतको पहलगाम आक्रमणपछि नेपालको समर्थनप्रति धन्यवाद दिँदै साझा सुरक्षा चासोमा सहकार्य आवश्यक रहेको बताए ।

सेन्टर फर सोसल इनोभेसन एन्ड फोरेन पोलिसी नेपाल (सेसिफ) का प्रमुख एवं पूर्वराजदूत विजयकान्त कर्णले छलफल र संवादमार्फत नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउँदै उर्जाशक्ति, व्यापार, डिजिटललगायतका क्षेत्रमा व्यवहारिक सहकार्य गर्नुपर्नेमा जोड दिए । उनले भने– ‘हाम्रो भौगोलिक र सामाजिक यथार्थले हामीलाई आपसी समृद्धिको बाटोमा लाग्न बाध्य पार्छ ।’

अनन्त एस्पेन केन्द्र, भारतका प्रमुख इन्द्राणी बाग्चीले हालको विश्व र क्षेत्रीय परिस्थितिमा छिमेकी सम्बन्धलाई अझ भविष्यमुखी बनाउनुपर्नेमा जोड दिइन् । उनले डिजिटल नवप्रवर्तन, उदाउँदो प्रविधिहरू र भावी पुस्ताको लागि कार्यान्वयनयोग्य सहकार्यतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिइन् । कार्यक्रमका विभिन्न सत्रमा भारत–नेपाल सम्बन्धका चार प्रमुख आयामबारे छलफल भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप