पोखरामा प्रदेशस्तरीय टी–२० क्रिकेट प्रतियाेगिता हुँदै
शुक्रबार, ३० जेठ २०८२, २० : ४६

पोखरा । पोखरामा शनिबारदेखि गण्डकी प्रदेश स्तरीय तेस्रो टी–२० क्रिकेट प्रतियाेगिता हुने भएको छ । प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा हुने प्रतियोगितामा ८ जिल्लाको सहभागिता रहने छ । प्रतियोगिता दुई समूहमा विभाजनमा गरी सञ्चालन हुने अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।
उनका अनुसार समूह ‘ए’ मा स्याङ्जा, बागलुङ, तनहुँ र म्याग्दी छन् भने समूह ‘बी’ मा कास्की, नवलपुर, पर्वत र गोरखा छ । प्रत्येक दिन दुई खेल हुने गरी तालिका तय गरिएको छ ।
प्रतियोगिताको विजेता टिमले नगद एक लाख, उपविजेताले ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।त्यस्तै, उत्कृष्ट खेलाडीलाई ४ हजार, उत्कृष्ट ब्याटर, बलर र उदीयमान खेलाडीलाई जनही २ हजारसहित ट्रफी प्रदान गरिनेछ । हरेक खेलको ‘प्लेयर अफ द म्याच’ ले १ हजार नगद र ट्रफी प्राप्त गर्ने सिग्देलले जानकारी दिए ।