११ बुँदे घोषणापत्र जारी गर्दै प्रहरी र सरकारी वकिलहरूको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न

समाचार सारांश
- काठमाडौंमा प्रहरी र सरकारी वकिलहरूको दुई दिने राष्ट्रिय सम्मेलन सम्पन्न भयो, जसमा ११ बुँदे घोषणापत्र जारी गरियो।
- गृहमन्त्रीले वैज्ञानिक अनुसन्धान र विज्ञ अनुसन्धानकर्ता तयार गर्नुपर्नेमा जोड दिँदै, प्रविधिको प्रयोग र समन्वयको महत्त्वबारे प्रकाश पारे।
- सम्मेलनमा फौजदारी न्याय प्रणालीलाई सुदृढ बनाउन, अनुसन्धान र अभियोजनमा देखिएका समस्या समाधान गर्न जोड दिइयो।
काठमाडौँ । अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरूको शुक्रबारदेखि काठमाडौँमा सुरु भएको दुई दिवसीय तेस्रो राष्ट्रिय सम्मेलन, २०८२ शनिबार ११ बुँदे घोषणापत्र जारी गरी समाप्त भएको छ ।
सम्मेलन समापनका अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि गृहमन्त्री रमेश लेखकले सम्मेलनले फौजदारी न्यायको विषयमा सहभागीहरूबिच सार्थक र साझा निष्कर्षमा पुग्न सहयोग गर्नुका साथै आगामी दिनहरूका लागि महत्त्वपूर्ण प्रतिबद्धता सहित मार्ग निर्देशन गर्न सफल भएको बताए ।
समय र प्रविधिको विकाससँगै नयाँ-नयाँ चुनौती र फरक शैलीका अपराधहरू वृद्धि भइरहेको सन्दर्भमा त्यसलाई सामना गर्न नयाँ पद्धतिको अवलम्बन गरी बयानमुखी अनुसन्धान भन्दा वैज्ञानिक अनुसन्धान तथा अभियोजनमा केन्द्रित हुनुपर्नेमा उनले जोड दिए ।
गृहमन्त्री लेखकले प्रहरीको अनुसन्धान क्षेत्रको व्यापकता बढ्दै गएको तथा सीमित स्रोत र साधनबिच निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको चर्चा गर्दै प्रहरी सेवालाई वर्गीकृत र विशिष्टीकृत गरी विशेष खालका तालिम, ज्ञान र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा भएका उदाहरणहरूको अवलम्बन गरी विज्ञ अनुसन्धानकर्ता तयार गर्नुपर्ने जरुरी रहेको बताए ।
समारोहमा सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलले कार्यसम्पादनका क्रममा आइपरेका समस्याहरूलाई सम्बोधन गर्न र भावी कार्यदिशा कोर्न तथा फौजदारी न्याय प्रणालीलाई प्रभावकारी बनाउन सम्मेलन सफल भएको विचार व्यक्त गरे ।
सो अवसरमा महान्यायाधिवक्ता रमेश बडालले फौजदारी न्याय प्रणालीको क्षेत्रमा भइरहेका अभ्यासहरूलाई समयानुकूल परिवर्तन गर्न सम्मेलन प्रभावकारी भएको बताए । विधि विज्ञान प्रयोगशालाबाट हुने परीक्षणमा सुधार, विकास र विस्तार गर्नुपर्ने जोड दिँदै उनले थप लगानी आवश्यक रहेको बताए ।
समारोहमा प्रहरी महानिरीक्षक दीपक थापाले धन्यवाद मन्तव्य व्यक्त गर्दै अपराध अनुसन्धानमा नयाँ प्रविधिको प्रयोग, नयाँ कानुनी व्यवस्था र अभ्यासका बारेमा अनुसन्धानकर्ता, अभियोजनकर्ता र सम्बन्धित विज्ञ तथा विशेषज्ञहरूबिच गहन अन्तर्क्रिया, ज्ञान र अनुभव आदानप्रदानका विषयमा सम्मेलन प्रभावकारी भएको बताए ।
सम्मेलनमा भएका गहन छलफल र विषयगत मन्थन पश्चात् पारित घोषणापत्रले आगामी दिनमा अनुसन्धानकर्ता र अभियोजनकर्ताको लागि थप पेसागत मार्ग प्रशस्त हुनुका साथै फौजदारी न्याय प्रणाली अझ सुदृढ हुने विश्वास उनले व्यक्त गरे ।
प्रहरी महानिरीक्षक थापाले फौजदारी मुद्दाको अनुसन्धान र अभियोजनको विद्यमान अवस्थाको समीक्षा गर्दै समस्याहरूको पहिचान गर्न, सुधारका क्षेत्रहरू पहिल्याउन, एक आपसमा समन्वय र सहकार्यको संस्कृतिको निर्माण हुनुका साथै अनुसन्धान र अभियोजनमा देखिएका समस्या र चुनौतीहरू सम्बोधन गर्न सम्मेलन कोसेढुंगा साबित हुने विश्वास व्यक्त गरे ।
नेपाल बार एसोसिएसनका महासचिव केदार प्रसाद कोइरालाले सम्मेलनको महत्त्व र प्रभावकारिताबारे आफ्नो मन्तव्य व्यक्त गरेको उक्त समारोहमा सहन्यायाधिवक्ता सूर्यराज दाहाल र प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले सम्मेलनमा पारित घोषणापत्रको बारेमा जानकारी गराएका थिए ।
सो अवसरमा सम्मेलनमा भएका छलफलका विषयको महत्त्व र प्रभावकारिताबारे सहभागी अभियोजनकर्ता सरकारी वकिलको तर्फबाट उपन्यायाधिवक्ता मुना पौडेल र अनुसन्धानकर्ता प्रहरीको तर्फबाट प्रहरी नायव उपरीक्षक हिमा थोकरले मन्तव्य राखेका थिए ।
‘प्रविधिको सहयोगमा वस्तुनिष्ठ अनुसन्धान, विश्वासिलो अभियोजन पीडितको सम्मान’, भन्ने अवधारणा सहित २ दिनसम्म सञ्चालन भएको उक्त सम्मेलनमा सरकारवादी फौजदारी मुद्दाको अनुसन्धानकर्ता नेपाल प्रहरीका अनुसन्धान अधिकृतहरू, अभियोजनकर्ता सरकारी वकिलहरू, विधि विज्ञान विज्ञ समेतका सरोकारवाला निकायका प्रतिनिधिहरू तथा महान्यायाधिवक्ताको कार्यालय र नेपाल प्रहरी प्रधान कार्यालयबाट तोकिएका प्रतिनिधिहरूको सहभागिता रहनुका साथै सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, मुद्दा चल्ने इकाईका प्रमुखहरू तथा सरकारी वकिलहरूको भर्चुअल सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
एकैस्थानमा एक हजार ७१७ जनाले रक्तदान गरेर नयाँ रेकर्ड कायम
-
केदारनाथ हेलिकप्टर दुर्घटना अपडेट : सबै यात्रुको मृत्यु
-
कोहलपुरका अव्यवस्थित बसोवासीलाई जग्गाधनी पुर्जा वितरण
-
भारतको गौरीकुण्डमा हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु
-
राससको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान