आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय

‘क्यूएफएक्सको जागिर आकर्षक लाग्यो, धेरै सुविधा भएकाले रोजेँ’

आइतबार, ०१ असार २०८२, १० : ३९
आइतबार, ०१ असार २०८२

समाचार सारांश

  • नुवाकोट, शेषमतीका सुमन तामाङ काठमाडौँको क्यूएफएक्समा दुई वर्षदेखि कार्यरत छन् र जागिरलाई मनोरञ्जन र रोजीरोटीको उत्तम संयोजन मान्छन्।
  • उनले हलको जागिर रोज्नुको कारण आकर्षक सेवा–सुविधा, तलब, र कामको वातावरण रहेको बताएका छन्, जहाँ श्रम ऐनअनुसार ड्युटी समय र ओभरटाइमको व्यवस्था छ।
  • क्यूएफएक्समा काम गर्दा कर्मचारी सञ्चय कोष, उपदान, बिमा, र वर्षमा ४२ दिन बिदा लगायतका सुविधा पाउने तथा फिल्म हेर्न निःशुल्क पासको व्यवस्था रहेको छ।

काठमाडौँ । नुवाकोट, शेषमतीका २४ वर्षीय सुमन तामाङ दुई वर्षदेखि काठमाडौँको सिभिल मलस्थित क्यूएफएक्समा कार्यरत छन् । उनी फिल्म हलको जागिरलाई मनोरञ्जन र रोजीरोटीको उत्तम संयोजन मान्छन् । जागिरको खोजी गर्ने क्रममा क्यूएफएक्स आइपुगेका उनी यहाँको आकर्षक सेवा–सुविधा र कामको वातावरणबाट प्रभावित छन् ।

बाहिरबाट हेर्दा ‘फिल्म नै चल्दैन, हलमा काम गर्नेको के भविष्य होला ?’ जस्तो लाग्न सक्छ, तर उनी भने यो क्षेत्रमा आफ्नो भविष्य सुरक्षित देखिरहेका छन् । फिल्म हलको जागिर र सुविधाबारे सुमनसँग रातोपाटीले गरेको कुराकानी:

  • हलमा जागिर खान थाल्नुभएको कति भयो र के काम गर्नुहुन्छ ?

दुई वर्षभन्दा बढी भयो । मेरो पद सीएसए (कस्टमर सर्भिस एसोसिएट) लेभलको हो । म प्रायः कस्टमर सर्भिसमै हुन्छु, कहिले फुड काउन्टरमा त कहिले टिकट काउन्टरमा ।

  • हलमा काम गर्ने अवसर कसरी जुर्‍यो ?

म रोजगारीको खोजीमा थिएँ । यही क्रममा क्यूएफएक्समा कर्मचारी चाहिएको थाहा पाएँ । यसका सेवा–सुविधा हेर्दा आकर्षक लाग्यो र आवेदन दिएँ । यहाँ जागिर सुरु गर्नुअघि यसबारे खासै थाहा थिएन, तर जागिरे भएपछि यहाँका सुविधाहरू थाहा पाएँ ।

  • किन रोज्न मन लाग्यो हलको जागिर ?

अहिले धेरैको पहिलो रोजाइ सरकारी जागिर हुन्छ, त्यसपछि ठुला व्यापारिक घरानाहरू पर्छन् । मेरो पनि पहिले सोच त्यस्तै थियो । तर, अहिले बुझ्दै जाँदा क्यूएफएक्समा पनि राम्रो सेवा–सुविधा रहेछ । यसको आकर्षक तलब र अन्य सुविधाहरूका कारण नै मैले यो जागिर रोजेको हुँ ।

  • हलमा काम गरेर जीवनका आवश्यकता पूरा हुन्छन् त ?

अवश्य, पूरा हुन्छन् । मानिसका आवश्यकता असीमित हुन्छन्, तर मेरा आधारभूत र महत्त्वपूर्ण आवश्यकताहरू पूरा गर्न कुनै समस्या छैन । म अविवाहित भएकाले पनि खर्च केही कम छ, तर व्यवस्थित तरिकाले चल्ने हो भने यो कमाइ पर्याप्त छ ।

  • दैनिक कति घण्टा काम गर्नुपर्छ ? ओभरटाइमको व्यवस्था के छ ?

श्रम ऐनको नियमअनुसार नै ड्युटी समय दैनिक आठ घण्टाको छ । त्योभन्दा बढी समय काम गर्नुपर्‍यो भने ओभरटाइमको व्यवस्था छ, जसको भुक्तानी सामान्य समयको भन्दा बढी हुन्छ ।

  • भनेपछि अतिरिक्त आम्दानीको अवसर पनि छ ?

हो, छ । त्यति मात्र होइन, सार्वजनिक बिदाको दिनमा काम गर्दा डबल तलबको व्यवस्था छ । अझ, कुनै फिल्मले असाध्यै राम्रो व्यापार गर्दा नाफाको निश्चित प्रतिशत बोनसको रूपमा पनि पाइन्छ । जस्तै: ‘पूर्णबहादुरको सारङ्गी’ फिल्म चल्दा कम्पनीले हामी कर्मचारीलाई न्यूनतम १७–१८ हजार रुपैयाँसम्म बोनस दिएको थियो ।

  • नियुक्ति प्रक्रिया कस्तो हुन्छ ? करार स्थायी हुन्छ कि अस्थायी ?

सुरुमा छ महिनाको परीक्षणकालका लागि नियुक्ति दिइन्छ । त्यो अवधिमा पनि तोकिएका सेवा–सुविधा पाइन्छ । परीक्षणकाल सकिएपछि एक–एक वर्षको करार नवीकरण हुँदै जान्छ ।

  • हलको काममा खुसी देखिनुहुन्छ, सुविधाहरू के–के छन् ?

परीक्षणकाल सकिएपछि स्थायी कर्मचारीसरह सबै सुविधाहरू पाइन्छ । जस्तै: कर्मचारी सञ्चय कोष, उपदान, दुर्घटना बिमालगायत सुविधाहरू छन् । कम्पनीले मेरो आधारभूत तलबको १० प्रतिशत सञ्चय कोषमा थपिदिन्छ भने मेरो तलबबाट पनि १० प्रतिशत काटिन्छ । साथै, ८.३३ प्रतिशत रकम उपदान खातामा जम्मा हुन्छ । सबै जोड्दा तलबबाहेक हरेक महिना लगभग २७–२८ प्रतिशत थप रकम बचत भइरहेको हुन्छ । यो रकमले पछि जागिर छोड्दा वा भविष्यमा केही गर्दा ठुलो सहयोग पुग्छ ।

  • बिदाको व्यवस्था कस्तो छ ?

हप्तामा एक दिन साप्ताहिक बिदा हुन्छ । यसबाहेक, बिरामी बिदा, घर बिदा र सार्वजनिक बिदा गरेर वर्षमा ४२ दिन बिदा पाइन्छ । यदि सार्वजनिक बिदाहरूमा काम गरियो भने आर्थिक वर्षको अन्त्यमा त्यसको डबल भुक्तानी दिने व्यवस्था छ ।

  • यति धेरै सुविधाहरू छन्, तलब चाहिँ समयमै आउँछ के ?

समयमै आउँछ । मैले काम गरेको दुई वर्षभन्दा बढी भयो, यस्तो समस्या कहिल्यै झेल्नुपरेको छैन । समयमा तलब नआए काम किन गर्ने ?

  • हलमा काम गर्नुहुन्छ, फिल्म हेर्ने सुविधा के छ ? कि हामीले जस्तै टिकट काट्नुपर्छ ?

हामी कर्मचारीलाई हरेक नयाँ फिल्मका लागि दुई वटा पास निःशुल्क उपलब्ध हुन्छ । त्यो पास प्रयोग गरेर आफ्नो समयानुकूल फिल्म हेर्न सकिन्छ ।

  • परिवारलाई देखाउनुपर्‍यो भने नि ?

त्यही पास सुविधाबाट परिवारका सदस्यलाई पनि देखाउन मिल्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप