इरान–इजरायल युद्ध : नेपाली नागरिक सुरक्षित छन्

समाचार सारांश
- परराष्ट्र मन्त्रालयले इरान र इजरायलबीचको युद्धमा त्यहाँ रहेका नेपालीहरू सुरक्षित रहेको जनाएको छ।
- नेपालले द्वन्द्वलाई नजिकबाट नियालिरहेको र दूतावासमार्फत नेपालीहरूको अवस्थाबारे जानकारी लिइरहेको छ।
- इजरायल र इरानबीचको मिसाइल आक्रमणको शृङ्खला जारी रहँदा, मन्त्रालयले स्थानीय सरकारसँग समन्वय गरिरहेको जनाएको छ।
काठमाडौँ । परराष्ट्र मन्त्रालयले इरान र इजरायलबिच जारी युद्धमा त्यहाँ रहेका नेपालीहरू सुरक्षित रहेको जनाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव कृष्णप्रसाद ढकालले इरान र इजरायलबिच जारी द्वन्दलाई नेपालले नजिकबाट नियालिरहेको बताए । त्यहाँस्थित नेपाली दूतावासले त्यहाँका सरकारसँग समन्वय गरी नेपालीहरूको अवस्थाबारे जानकारी लिएको बताउँदै उनले हालसम्म दुवै देशमा रहेका नेपालीहरू सुरक्षित रहेको बताए ।
‘त्यहाँका सरकारहरूले जारी एडभाइजरी पालना गर्न नेपालीहरूलाई भनेका छन्, त्यसलाई उनीहरुले पालना गरिरहेका छन्, थप समन्वय गर्ने काम भइरहेको छ,’ उनले भने, ‘परराष्ट मन्त्रालय निरन्तर फ्लोअपमा छ, अपडेट लिइरहेका छौं स्थानीय सरकारसँग समन्वय भइरहेको छ, हालसम्मको अवस्था सबै ठिक छ, केही आइ पर्यो भने आवश्यकता अनुसार कदम चाल्ने छौँ ।’
शुक्रबार इजरायलद्वारा इरानमाथि गरिएको आक्रमणपछि दुई देशबिच मिसाइल आक्रमणको शृङ्खला लगातार जारी रहेको छ । शनिबार मध्यराति इजरायलले इरानको तेल प्रशोधन केन्द्रलाई लक्षित गर्दै पुनः आक्रमण गरेपछि इरानले जवाफी कारबाही गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । इरानले इजरायलतर्फ गरिएको मिसाइल आक्रमणमा ठुलो क्षति भएको सञ्चारमाध्यमले जनाएका छन् ।
युद्धको रुप लिँदै गएको घटनाक्रममा आइतबार बिहान इजरायलले फेरि जवाफी कारबाही गर्दै इरानको प्रमुख औद्योगिक सहर इस्फहानमा हवाई आक्रमण गरेको छ । यस आक्रमणले इरानी पूर्वाधारमा समेत क्षति पुर्याएको बताइए पनि यकिन विवरण नआएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।