तीनवटा वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना
सारांश
- कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। सोमबार देशभर वर्षाको सम्भावना, कोशी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको चेतावनी छ।
- यस वर्ष मनसुनमा औसतभन्दा बढी वर्षा हुने अनुमान छ, मनसुन लुम्बिनी प्रदेशसम्म पुगिसकेको छ। बाढी, पहिरो, डुबान जस्ता विपद्बाट १९ लाखभन्दा बढी मानिस प्रभावित हुनसक्ने अनुमान छ।
- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना कार्यान्वयन गर्दैछ। कार्ययोजना संघीय, प्रदेश र स्थानीय सरकारलाई पठाइएको छ।
काठमाडौँ । हाल कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
सोमबार देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू तथा बाँकी उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
यस वर्षको मनसुन अवधिमा देशका अधिकांश स्थानमा औसतभन्दा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले अनुमान गरेको छ। विभागका अनुसार हाल कोशी प्रदेशबाट सुरु भएको मनसुन क्रमशः पश्चिमतर्फ विस्तार हुँदै लुम्बिनी प्रदेशसम्म पुगिसकेको छ।
मनसुनजन्य सम्भावित जोखिमहरूलाई ध्यानमा राख्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा तयार गरिएको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२’ कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको छ।
प्राधिकरणका अनुसार मनसुन अवधिमा बाढी, पहिरो, डुबान, चट्याङजस्ता विपद्का कारण देशभर करिब १९ लाख ९७ हजार बढी जनसङ्ख्या प्रभावित हुनसक्ने अनुमान गरिएको छ। उक्त कार्ययोजना संघीय सरकार, प्रदेश सरकार, जिल्ला प्रशासन, स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सबै सरोकारवालालाई सम्प्रेषण गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरण दिवसका अवसरमा पोखराका विभिन्न स्थानमा ६ हजार वृक्षारोपण
-
छुट्टाछुट्टै सडक दुर्घटनामा चार जनाले ज्यान गुमाए, दुई घाइते
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण