शनिबार, ०७ असार २०८२
ताजा लोकप्रिय

मनसुनी जोखिमको विश्लेषण गरी सुरक्षित यातायात सञ्चालनको व्यवस्था मिलाउन निर्देशन

शुक्रबार, ०६ असार २०८२, २२ : ००
शुक्रबार, ०६ असार २०८२

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले मनसुन सक्रिय हुन थालेकाले यातायात आवागमनलाई सुरक्षित बनाउन निर्देशन दिएका छन् । 

मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक डा. विजय जैशी लगायतका अधिकारीलाई शुक्रबार उनले जोखिमयुक्त क्षेत्रहरूमा विशेष सतर्कता अपनाउन समेत निर्देशन दिए । 

‘सके सम्म यातायात अवरुद्ध हुन नदिने व्यवस्था मिलाउँ’ मन्त्री दाहालले भने, ‘जोखिम रहेका क्षेत्रहरूमा यन्त्र, उपकरण र आवश्यकता अनुसारको जनशक्ति तैनाथ गरेर राख्नु पर्‍यो ।’

प्रहरी, प्रशासन तथा सुरक्षाका अन्य निकायहरुसँग समेत दर्बिलो समन्वय गरी सडक तथा यातायात क्षेत्रलाई नियमित, चुस्त र सुरक्षित बनाउन उनको निर्देशन छ । 

बढी जोखिम रहेका स्थानहरूमा ट्राफिक प्रहरीसँग समन्वय गरी सुरक्षित रूपमा सवारी साधन आवागमनको व्यवस्था मिलाउन मन्त्री दाहालले बताए । यस्तै मनसुनी चुनौती तथा सम्भावित जोखिमबारे सर्वसाधारणमा जानकारी पुग्ने व्यवस्था मिलाउन समेत निर्देशन दिए ।  

मन्त्रालयका सचिव शर्माका अनुसार जोखिम स्थानहरूमा सडक विभाग मार्फत आवश्यक उपकरणहरू परिचालन गरी सकिएको छ । यस्तै सुरक्षा निकायहरूसँग समेत समन्वय गरी यातायातलाई सुरक्षित बनाउने गरी समन्वयको काम समेत भई रहेको उनले बताए । 

पहिरो जाने, पानी जम्ने, बाढी आउने लगायतका सम्भावित स्थानहरूको पहिचान गरी ती स्थानहरूमा प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरी आवश्यकता र अवस्था अनुसार सवारी साधन सञ्चालनको समय समेत निर्धारण गरी सुरक्षित बनाउने प्रयास गरिएको उनले बताए । 

सडक विभागका महानिर्देशक डा.जैशीले बिपी राजमार्ग, अरनिको राजमार्ग, पृथ्वीराजपथ, निर्माणाधीन दाउन्ने खण्ड लगायतका स्थानहरूमा विशेष सतर्कता सहित औजार, उपकरण र जनशक्ति परिचालन गरिएको बताए । 

यस्तै काठमाडौँ उपत्यका भित्रका पानी जम्ने स्थानहरूको सरसफाई गरिएको, राजमार्ग र करिडोरहरुमा समेत सतर्कताका साथ उपकरणहरू तयारी अवस्थामा राखिएको बताए । 

प्रशासन, ट्राफिक प्रहरी र अन्य सुरक्षा निकायहरूसँग नियमित समन्वय भई रहेको भन्दै महानिर्देशक शर्माले यातायातलाई सुरक्षित बनाउने कार्यमा सबै क्षेत्रको सहयोग आवश्यक रहने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप