बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
प्रथम नेपाली महिला

जब मानिसहरू जात्रा हेर्न छाडेर उनलाई हेर्न आउँथे...

गाडीको लाइसेन्स लिने प्रथम महिला मछरीदेवी चित्रकार
शनिबार, ०७ असार २०८२

नेपालको विकासमा पुरुषसरह महिलाको पनि ठुलो योगदान छ । नेपाली महिलाले परापूर्वकालदेखि विविध क्षेत्रमा विशिष्ट योगदान गर्दै आएका छन् । राजनीतिक, दार्शनिक, सांस्कृतिक, सामाजिक लगायत ज्ञान, विज्ञान, प्रविधि, कूटनीति, निजामती, प्रहरी, सेना, खेलकुद, यातायात आदि फाँटमा नेपाली महिलाले पुर्‍याउँदै आएको देन अविस्मरणीय छ ।

‘प्रथम नेपाली महिला’ कार्यक्रम तिनै नेपाली महिलाहरूप्रति समर्पित छ, जसले चुनौतीका अनेक पहाड छिचोल्दै अभूतपूर्व उपलब्धि हासिल गरेका छन् । यस कार्यक्रममा प्रथम नेपाली महिलाका अपूर्व उत्साह, सक्रियता, सीप, कला, प्रगति, सफलता तथा प्रसन्नताका पाटाहरू खोतल्ने प्रयास गरेका छौँ । साथसाथै तत्कालीन बाधा, अड्चन, उत्पीडन, अन्योल, बेथिति र सङ्घर्ष एवं आन्दोलनका पाटा पनि यहाँहरू माझ पस्कँदै आएका छौँ ।

‘प्रथम नेपाली महिला’ शृङ्खलाको २६ औँ एपिसोड मछरीदेवी चित्रकारका सम्बन्धमा छ । नेपालमा गाडी हाँक्न लाइसेन्स लिने प्रथम नेपाली महिलाको नाम हो– मछरीदेवी चित्रकार । 

परिचय 

  • जन्ममिति : यटखा, काठमाडौँ 
  • जन्मस्थान : वि.सं. १९८८ साल, भाइटीका
  • निधन : वि.सं. २०७८ मङ्सिर १७ 
  • माता : भद्रमाया चित्रकार 
  • पिता : कृष्णबहादुर चित्रकार 
  • विदेश भ्रमण : दुबई, सिंगापुर, श्रीलङ्का, थाइल्यान्ड, भारत आदि 

मछरीदेवी चित्रकारले २००९ साल जेठ महिनाको २९ गते उनले लाइसेन्स लिएकी हुन् । गाडी चलाउने लाइसेन्स लिँदा उनी केवल २३ वर्षकी थिइन् । लाइसेन्समा उनको नाम ‘मक्षरी चित्रकारिनी’ रहेको छ । 

उनीसित पछिल्लोपटक २०७६ सालमा भेट भएको हो । त्यतिखेर उनको उमेर ८८ थियो । आफूले पहिलोचोटि गाडी चलाउँदाखेरिको सम्झना ताजा गर्दै उनी रोमाञ्चित बनेकी थिइन् । 

उनले पुतलीसडकदेखि बागबजार हुँदै टुँडिखेल लगेर गाडी सिकेकी हुन् । उनको जिपको नं. ५४५ थियो । ‘ओहो, आइमाइले गाडी चला’को !’ भनी छक्क पर्दै उनलाई हेर्न मानिसहरू ओइरिएका थिए ।

असन, इन्द्रचोकतिर गाडी चलाउँदा मान्छे जात्रा हेर्न छाडेर समेत उनलाई हेर्न आएको बताएकी छिन् उनले । उनले गाडी चलाउँदा मन नपराउने पनि थिए । 

‘आइमाइले पनि यस्तो काम गर्नुहुन्छ र ! गाडी चलाउनु हुँदैन’ भन्नेहरू जतिसुकै भए पनि उनको उत्साहलाई कसैले रोक्न सकेन । 

उनी हाँसीहाँसी सबैलाई ‘मैले आफ्नै खुसीले गाडी चलाएको’ भनी नाजवाफ पार्थिन् । त्यतिखेर आफू बाहेक अरू कुनै महिलाले गाडी चलाएको उनले देखेकी थिइनन् । 

त्यसले गर्दा पनि उनलाई झन् बढी खुसी प्राप्त भएको थियो । लाइसेन्स लिने बेलाको पनि उनको संस्मरण ताजै छ ।  

त्यतिखेर हनुमानढोका थानाबाट सिंहदरबारसम्म गाडी हाँक्न भनिएको थियो । दुई जना प्रहरी पनि सँगै बसेका थिए । 

उनलाई अलि अप्ठेरो नलागेको चाहिँ होइन । तैपनि उनले चलाएरै छाडिन् ।

उनका अनुसार सिंहदरबारमा नर शमशेर थिए । उनले त्यहाँ ग्यारेज बनाउन लगाएर त्यस ग्यारेजको पछाडिबाट गाडी ल्याउन भने । 

दुईचोटि त बाङ्गो–बाङ्गो भएको थियो रे तर तेस्रो चोटिको पालामा सोझै भएर आएछ । अनि, त्यहाँ हेर्न आउनेहरू सबैले दङ्ग परेर ‘जिन्दाबाद’ को नारा लगाएछन् ।

उनका अनुसार ‘छ रुपियाँ चार पैसा दिएर लाइसेन्स लिएकी हुँ । हरेक साल दुई रुपियाँ तिरेर लाइसेन्स ‘रिन्यू’ गर्नुपर्थ्यो’ । 

मछरीदेवीको विवाह २००० फागुन महिना शिवरात्रिताका असन, काठमाडौँका चूडामणि चित्रकारसित भएको हो । १९९९ मा असनबाट पुतलीसडक हुँदै २०११/१२ सालदेखि मछरीदेवीको परिवार बागबजारमा बसोबास गर्दै आयो । 

मछरीदेवीलाई उनका पति चूडामणिले गाडी चलाउन सिकाएका हुन् । ८९ वर्षीया मछरीदेवीका अनुसार उनका ससुराले वि.सं. १९७५/७६ देखि नै गाडीको कारोबार गर्दै आएका थिए । 

चूडामणिले वि.सं. १९९८ अगावै गाडी चलाउन सिकेको भए तापनि ‘लाइसेन्स’ चाहिँ २००० सालमा लिएका हुन् । श्री ३ जुद्ध शमशेरका पालामा गाडी चलाएका चूडामणिले कोलाकाताबाट टोयटा गाडी वीरगन्ज, काठमाडौँ, विराटनगर आदि ठाउँमा पुर्‍याउने काम गर्थे । 

कोलकातामा गाडी चलाउन सिकेका चूडामणिले पुराना पार्टपुर्जा लिई गाडी बनाउन पनि सिकेका थिए । गाडी हाँक्न र बनाउन पनि जान्ने कुशल पतिसँग गाडी चलाउन सिक्न पाएकामा उनी आफूलाई धन्य मान्छिन् । 

लाइसेन्स लिनु अघि उनले बनेपा, धुलिखेलसम्म गाडी चलाएकी थिइन् । गाडीमा सबैभन्दा लामो दूरी तय गरेको सम्झना पनि उनलाई छ ।  

उनले पति चूडामणिसँग कोलकाताबाट आउँदा वीरगन्जसम्म गाडी चलाएकी थिइन् । अहिले जस्तो राम्रो बाटो पहिले कहाँ पाउनु, पिच (कालोपत्रे) भन्ने त कुरै थिएन । 

अनि गाडी कहाँ कुदाउनु ?  अँ, एक्सिडेन्ट चाहिँ एक पटक भएको रहेछ । 

‘नखत्या’ (पर्व) मा आमाजुहरूलाई खुवाइवरी गाडीमा फर्काउन थाल्दा बाटामा भान्जाको टोपी खसेछ । त्यो लिन गाडी फर्काउँदै थिइन् ।

त्रिपुरेश्वरनजिकै दुई वटा पाङ्ग्रा खेतमा खस्यो । किनभने त्यतिखेर बाटाका दुवैतिर खेतै खेत थिए । ‘एक्सिडेन्ट’ भएको यत्ति मात्रै हो । 

२०४२ सालदेखि गाडी मछरीदेवीले गाडी चलाउन छाडेकी हुन् । पछि, धेरै महिलाले गाडी चलाएको देख्दा उनी असाध्यै खुसी मान्थिन् । 

वि.सं. १९८८ साल, भाइटिकाको दिन जन्मिएकी हुन् मछरीदेवी । यटखा, काठमाडौँ जन्मस्थल हो उनको ।

उनकी माता भद्रमाया चित्रकार र पिता कृष्णबहादुर चित्रकार हुन् । मछरीदेवीका एक दाजु, तीन भाइ र दुई बहिनी छन् । 

आफ्ना दाजुभाइ तथा बहिनीका सम्बन्धमा उनले भने अनुसार उनका दाजु बखतबहादुर जनक शिक्षा सामग्री केन्द्रमा प्रमुख भएका थिए । भाइ बलरामले पुरातत्त्व विभागमा काम गरेका थिए ।

कान्छा भाइ अमृतबहादुर फोटोग्राफर बने । हेलिकोप्टरबाट नेपालभरिको फोटो खिँच्ने ‘पहिलो फोटोग्राफर’ भनी उनले अमृतबहादुरलाई चिनाइन् । 

बहिनी विमला मास्केले वीर अस्पतालमा लामो समय सेवा गरिन् । उनी ‘मेट्रोन’ थिइन् । 

अर्की बहिनी चन्द्रावती शर्माले शिक्षण पेसा अँगालेकी हुन् । 

सबै पढे, लेखेको परिवारमा मछरीदेवी चाहिँ किन औपचारिक शिक्षाबाट वञ्चित हुन पुगेकी होलिन् !  जिज्ञासा राख्ने बित्तिकै सानै उमेरदेखि उनले अँगालेको कर्तव्यपरायणताको परिचय पाइयो । उनले बाल्यकालमै मातृस्नेहबाट वञ्चित हुनुपरेको रहेछ । 

आमाको निधन हुँदा उनी सात वर्षकी मात्रै थिइन् । दाजुभाइ तथा बहिनीहरुको पढाइ नबिग्रियोस् भन्ने उद्देश्यले उनी घरधन्दा सम्हाल्नेतिर लागिन् । 

यसले गर्दा उनको पढाइ छुट्न पुग्यो । यसअघि उनले ‘गुरुमा’ चन्द्रकान्ता मल्ल जोशीको घरमा गएर कखरा सिकेका सुमधुर पल पनि अतीतका तरेलीमा तरङ्गिन थाले । 

मछरीदेवीलाई पहिले, पहिले त त्यस्तो केही भान हुँदैनथ्यो । तर पछिल्लो समयमा आफूले पढ्न नपाएकामा नमज्जा चाहिँ लागिरह्यो । 

उनी फेरि आफ्नै मनलाई सम्झाउँदै भन्छिन्–  ‘आमा सानै बेलामा नखस्नु भएको भए, भाइ, बहिनीलाई स्याहार्न नपरेको भए, मैले पनि पढ्न पाउँथेँ । 

तर केही पछुतो छैन । मैले पढ्न नपाए पनि आफ्ना छोरीहरूलाई केही दाइजो दिन नसके पनि शिक्षा त दिएँ नि । 

अहिले सबैको विवाह भइसक्यो । सबै केही न केही गरिरहेका छन् । खुसी छन्, मलाई यसैमा हर्ष छ । 

उनी छोरीहरूलाई सम्झँदै भन्छिन्– ‘मैया श्रेष्ठले हामीलाई चाँडै छाडेर गइन् । अरू छोरीमा, विना गुरुङ, मीना चित्रकार, शीला मोक्तान, ज्योत्स्ना श्रेष्ठ र वीमा राजभण्डारी छन् । मछरीदेवी सहसा पुरानो घाउ सम्झँदै भावविह्वल हुनपुग्छिन् । 

उनको एउटा छोरो पनि रहेछ । तीनवर्षे छोरा दिलीपकुमार आफ्ना पितासँग कतै गइरहँदा दुर्घटनामा परी दिवङ्गत भएका रहेछन् ।

पुत्रशोकको त्यो काँडोले उनलाई बेलाबखत बिझाइरहँदो रहेछ । आर्द्रस्वरमा उनले भने अनुसार– त्यसैले उनी गाडी चलाउँदा ज्यादै संयमित भएर चलाउँथिन् । 

फरक प्रसङ्ग निकाल्दा उनको हास्यमिश्रित अभिव्यक्ति यस्तो रह्यो– ‘अहँ, हाम्रो बेलामा त ‘लभ म्यारिज’ भन्ने थाहै थिएन । मेरो विवाह हुँदा म १३ वर्षकी मात्रै थिएँ ।’ 

‘आम्मै, धेरै फरक भो नि । ऊ बेला केटीहरू बाहिर आउने कुरै थिएन । 

त्यतिखेर कुर्कुच्चा पनि देखाउन हुँदैनथ्यो । तर अहिले त पूरा छाडा भइसक्यो’– आफ्नो किशोरीबेला र अहिलेको तुलना गर्दै मछरीदेवी अचम्म मान्छिन् । 

बच्चामा माछा जस्तै धेरै चञ्चला भएकीले पिता कृष्णबहादुरले उनको नाम ‘मछरी’ राखिदिएका हुन् रे । उहिले र अहिलेका मानिसमा निकै फरक रहेको बताउने मछरीदेवीका भनाइमा उहिले आफ्नो कर्तव्यको ठुलो मर्यादा राखिन्थ्यो । 

ठुलालाई आदर र सानालाई स्नेह गरिन्थ्यो । तर अचेलका पुस्तामा आत्मीय भावना हराउँदै गएको छ । 

उनकै बोलीमा– ‘पहिले जस्तो राम्रो देखिनँ । पढाइ चाहिँ अगाडि भएको छ । केटा, केटीले मौका पाएका छन् तर मैले देख्दा फेसन चाहिँ राम्रो होइन ।’ 

२०७६ मङ्सिर ०२ गते उनलाई भेट्न जाँदा दुवै पतिपत्नी सँगै थिए । अनुहारको चमक र त्यसमा प्रवाहित प्रसन्नताले सञ्जीवनीको काम गरेको आभास भएको थियो । 

उनीभन्दा सात वर्ष जेठा हुन्– चूडामणि । ९७ वर्षको उमेरमा पनि उत्साह कम थिएन । 

छोरीहरूको माया र पतिको अभिन्न साथले मछरीदेवी प्रफुल्ल देखिएकी थिइन् । अहँ, रोग केही थिएन ‘बुढी भइयो, त्यति मात्र हो’ ढुक्कको वचन सुनिएको थियो । 

‘हामी देवरथारोहणपछि ३३ कोटिको लाइनमा गइसक्यौं’ भनाइसँगै मछरीदेवीका मुहारमा अद्भुत कान्ति तथा आत्मसन्तोषको किरण फैलियो । 

नेवारी समुदायमा ७७ वर्ष, ७ महिना ७ दिनमा गरिने जन्को ‘ज्या जन्को भीमरथारोहण’ हो । ८८ वर्ष ८ महिना ८ दिनमा गरिने जन्कोलाई ‘देवरथारोहण’ भनिन्छ । 

९९ वर्ष ९ महिना ९ दिनमा गरिने जन्को ‘दिव्य रथारोहण’ हो । र, १०८ वर्षमा गरिने जन्कोलाई ‘महादिव्यरथारोहण’ भन्दछन् । 

पतिको उमेरमै जोडेर जन्को गर्न मिल्ने भएकाले मछरीदेवीको पनि पहिल्यै ‘देवरथारोहण’ भइसकेको थियो । मछरीदेवीको दैहिक स्वरूप आज हामीमाझ छैन ।

९१ वर्षीया मछरीदेवीको २०७८ मङ्सिर १७ गते देहान्त भएको छ । उनी बितेको एक महिनामै ९८ वर्षीय चूडामणिको पनि निधन भयो । 

यसलाई अनौठो संयोग नै मान्नुपर्छ, मछरीदेवी मङ्सिर १७ मा बितेकी हुन् भने चूडामणि पुस १७ गते । गते मात्रै होइन, देहान्तको तिथि पनि उही ‘चतुर्दशी’ रहेको छ । 

नेपालको इतिहास खोतल्दा गाडी चलाउन लाइसेन्स लिने प्रथम महिला मछरीदेवी सबैको सम्झनामा सदैव रहिरहनेछिन् । गाडी चलाउन सर्वप्रथम लाइसेन्स लिने मछरीदेवी चित्रकार जस्ता अग्रणी महिलाकै कारण मुलुकका विभिन्न क्षेत्रमा आमनारीलाई अगाडि बढ्न हौसला पुगेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया