नेपालको विकासमा पुरुषसरह महिलाको पनि ठुलो योगदान छ । नेपाली महिलाले परापूर्वकालदेखि विविध क्षेत्रमा विशिष्ट योगदान गर्दै आएका छन् । राजनीतिक, दार्शनिक, सांस्कृतिक, सामाजिक लगायत ज्ञान, विज्ञान, प्रविधि, कूटनीति, निजामती, प्रहरी, सेना, खेलकुद, यातायात आदि फाँटमा नेपाली महिलाले पुर्याउँदै आएको देन अविस्मरणीय छ ।
‘प्रथम नेपाली महिला’ कार्यक्रम तिनै नेपाली महिलाहरूप्रति समर्पित छ, जसले चुनौतीका अनेक पहाड छिचोल्दै अभूतपूर्व उपलब्धि हासिल गरेका छन् । यस कार्यक्रममा प्रथम नेपाली महिलाका अपूर्व उत्साह, सक्रियता, सीप, कला, प्रगति, सफलता तथा प्रसन्नताका पाटाहरू खोतल्ने प्रयास गरेका छौँ । साथसाथै तत्कालीन बाधा, अड्चन, उत्पीडन, अन्योल, बेथिति र सङ्घर्ष एवं आन्दोलनका पाटा पनि यहाँहरू माझ पस्कँदै आएका छौँ ।
‘प्रथम नेपाली महिला’ शृङ्खलाको २६ औँ एपिसोड मछरीदेवी चित्रकारका सम्बन्धमा छ । नेपालमा गाडी हाँक्न लाइसेन्स लिने प्रथम नेपाली महिलाको नाम हो– मछरीदेवी चित्रकार ।
परिचय
मछरीदेवी चित्रकारले २००९ साल जेठ महिनाको २९ गते उनले लाइसेन्स लिएकी हुन् । गाडी चलाउने लाइसेन्स लिँदा उनी केवल २३ वर्षकी थिइन् । लाइसेन्समा उनको नाम ‘मक्षरी चित्रकारिनी’ रहेको छ ।
उनीसित पछिल्लोपटक २०७६ सालमा भेट भएको हो । त्यतिखेर उनको उमेर ८८ थियो । आफूले पहिलोचोटि गाडी चलाउँदाखेरिको सम्झना ताजा गर्दै उनी रोमाञ्चित बनेकी थिइन् ।
उनले पुतलीसडकदेखि बागबजार हुँदै टुँडिखेल लगेर गाडी सिकेकी हुन् । उनको जिपको नं. ५४५ थियो । ‘ओहो, आइमाइले गाडी चला’को !’ भनी छक्क पर्दै उनलाई हेर्न मानिसहरू ओइरिएका थिए ।
असन, इन्द्रचोकतिर गाडी चलाउँदा मान्छे जात्रा हेर्न छाडेर समेत उनलाई हेर्न आएको बताएकी छिन् उनले । उनले गाडी चलाउँदा मन नपराउने पनि थिए ।
‘आइमाइले पनि यस्तो काम गर्नुहुन्छ र ! गाडी चलाउनु हुँदैन’ भन्नेहरू जतिसुकै भए पनि उनको उत्साहलाई कसैले रोक्न सकेन ।
उनी हाँसीहाँसी सबैलाई ‘मैले आफ्नै खुसीले गाडी चलाएको’ भनी नाजवाफ पार्थिन् । त्यतिखेर आफू बाहेक अरू कुनै महिलाले गाडी चलाएको उनले देखेकी थिइनन् ।
त्यसले गर्दा पनि उनलाई झन् बढी खुसी प्राप्त भएको थियो । लाइसेन्स लिने बेलाको पनि उनको संस्मरण ताजै छ ।
त्यतिखेर हनुमानढोका थानाबाट सिंहदरबारसम्म गाडी हाँक्न भनिएको थियो । दुई जना प्रहरी पनि सँगै बसेका थिए ।
उनलाई अलि अप्ठेरो नलागेको चाहिँ होइन । तैपनि उनले चलाएरै छाडिन् ।
उनका अनुसार सिंहदरबारमा नर शमशेर थिए । उनले त्यहाँ ग्यारेज बनाउन लगाएर त्यस ग्यारेजको पछाडिबाट गाडी ल्याउन भने ।
दुईचोटि त बाङ्गो–बाङ्गो भएको थियो रे तर तेस्रो चोटिको पालामा सोझै भएर आएछ । अनि, त्यहाँ हेर्न आउनेहरू सबैले दङ्ग परेर ‘जिन्दाबाद’ को नारा लगाएछन् ।
उनका अनुसार ‘छ रुपियाँ चार पैसा दिएर लाइसेन्स लिएकी हुँ । हरेक साल दुई रुपियाँ तिरेर लाइसेन्स ‘रिन्यू’ गर्नुपर्थ्यो’ ।
मछरीदेवीको विवाह २००० फागुन महिना शिवरात्रिताका असन, काठमाडौँका चूडामणि चित्रकारसित भएको हो । १९९९ मा असनबाट पुतलीसडक हुँदै २०११/१२ सालदेखि मछरीदेवीको परिवार बागबजारमा बसोबास गर्दै आयो ।
मछरीदेवीलाई उनका पति चूडामणिले गाडी चलाउन सिकाएका हुन् । ८९ वर्षीया मछरीदेवीका अनुसार उनका ससुराले वि.सं. १९७५/७६ देखि नै गाडीको कारोबार गर्दै आएका थिए ।
चूडामणिले वि.सं. १९९८ अगावै गाडी चलाउन सिकेको भए तापनि ‘लाइसेन्स’ चाहिँ २००० सालमा लिएका हुन् । श्री ३ जुद्ध शमशेरका पालामा गाडी चलाएका चूडामणिले कोलाकाताबाट टोयटा गाडी वीरगन्ज, काठमाडौँ, विराटनगर आदि ठाउँमा पुर्याउने काम गर्थे ।
कोलकातामा गाडी चलाउन सिकेका चूडामणिले पुराना पार्टपुर्जा लिई गाडी बनाउन पनि सिकेका थिए । गाडी हाँक्न र बनाउन पनि जान्ने कुशल पतिसँग गाडी चलाउन सिक्न पाएकामा उनी आफूलाई धन्य मान्छिन् ।
लाइसेन्स लिनु अघि उनले बनेपा, धुलिखेलसम्म गाडी चलाएकी थिइन् । गाडीमा सबैभन्दा लामो दूरी तय गरेको सम्झना पनि उनलाई छ ।
उनले पति चूडामणिसँग कोलकाताबाट आउँदा वीरगन्जसम्म गाडी चलाएकी थिइन् । अहिले जस्तो राम्रो बाटो पहिले कहाँ पाउनु, पिच (कालोपत्रे) भन्ने त कुरै थिएन ।
अनि गाडी कहाँ कुदाउनु ? अँ, एक्सिडेन्ट चाहिँ एक पटक भएको रहेछ ।
‘नखत्या’ (पर्व) मा आमाजुहरूलाई खुवाइवरी गाडीमा फर्काउन थाल्दा बाटामा भान्जाको टोपी खसेछ । त्यो लिन गाडी फर्काउँदै थिइन् ।
त्रिपुरेश्वरनजिकै दुई वटा पाङ्ग्रा खेतमा खस्यो । किनभने त्यतिखेर बाटाका दुवैतिर खेतै खेत थिए । ‘एक्सिडेन्ट’ भएको यत्ति मात्रै हो ।
२०४२ सालदेखि गाडी मछरीदेवीले गाडी चलाउन छाडेकी हुन् । पछि, धेरै महिलाले गाडी चलाएको देख्दा उनी असाध्यै खुसी मान्थिन् ।
वि.सं. १९८८ साल, भाइटिकाको दिन जन्मिएकी हुन् मछरीदेवी । यटखा, काठमाडौँ जन्मस्थल हो उनको ।
उनकी माता भद्रमाया चित्रकार र पिता कृष्णबहादुर चित्रकार हुन् । मछरीदेवीका एक दाजु, तीन भाइ र दुई बहिनी छन् ।
आफ्ना दाजुभाइ तथा बहिनीका सम्बन्धमा उनले भने अनुसार उनका दाजु बखतबहादुर जनक शिक्षा सामग्री केन्द्रमा प्रमुख भएका थिए । भाइ बलरामले पुरातत्त्व विभागमा काम गरेका थिए ।
कान्छा भाइ अमृतबहादुर फोटोग्राफर बने । हेलिकोप्टरबाट नेपालभरिको फोटो खिँच्ने ‘पहिलो फोटोग्राफर’ भनी उनले अमृतबहादुरलाई चिनाइन् ।
बहिनी विमला मास्केले वीर अस्पतालमा लामो समय सेवा गरिन् । उनी ‘मेट्रोन’ थिइन् ।
अर्की बहिनी चन्द्रावती शर्माले शिक्षण पेसा अँगालेकी हुन् ।
सबै पढे, लेखेको परिवारमा मछरीदेवी चाहिँ किन औपचारिक शिक्षाबाट वञ्चित हुन पुगेकी होलिन् ! जिज्ञासा राख्ने बित्तिकै सानै उमेरदेखि उनले अँगालेको कर्तव्यपरायणताको परिचय पाइयो । उनले बाल्यकालमै मातृस्नेहबाट वञ्चित हुनुपरेको रहेछ ।
आमाको निधन हुँदा उनी सात वर्षकी मात्रै थिइन् । दाजुभाइ तथा बहिनीहरुको पढाइ नबिग्रियोस् भन्ने उद्देश्यले उनी घरधन्दा सम्हाल्नेतिर लागिन् ।
यसले गर्दा उनको पढाइ छुट्न पुग्यो । यसअघि उनले ‘गुरुमा’ चन्द्रकान्ता मल्ल जोशीको घरमा गएर कखरा सिकेका सुमधुर पल पनि अतीतका तरेलीमा तरङ्गिन थाले ।
मछरीदेवीलाई पहिले, पहिले त त्यस्तो केही भान हुँदैनथ्यो । तर पछिल्लो समयमा आफूले पढ्न नपाएकामा नमज्जा चाहिँ लागिरह्यो ।
उनी फेरि आफ्नै मनलाई सम्झाउँदै भन्छिन्– ‘आमा सानै बेलामा नखस्नु भएको भए, भाइ, बहिनीलाई स्याहार्न नपरेको भए, मैले पनि पढ्न पाउँथेँ ।
तर केही पछुतो छैन । मैले पढ्न नपाए पनि आफ्ना छोरीहरूलाई केही दाइजो दिन नसके पनि शिक्षा त दिएँ नि ।
अहिले सबैको विवाह भइसक्यो । सबै केही न केही गरिरहेका छन् । खुसी छन्, मलाई यसैमा हर्ष छ ।
उनी छोरीहरूलाई सम्झँदै भन्छिन्– ‘मैया श्रेष्ठले हामीलाई चाँडै छाडेर गइन् । अरू छोरीमा, विना गुरुङ, मीना चित्रकार, शीला मोक्तान, ज्योत्स्ना श्रेष्ठ र वीमा राजभण्डारी छन् । मछरीदेवी सहसा पुरानो घाउ सम्झँदै भावविह्वल हुनपुग्छिन् ।
उनको एउटा छोरो पनि रहेछ । तीनवर्षे छोरा दिलीपकुमार आफ्ना पितासँग कतै गइरहँदा दुर्घटनामा परी दिवङ्गत भएका रहेछन् ।
पुत्रशोकको त्यो काँडोले उनलाई बेलाबखत बिझाइरहँदो रहेछ । आर्द्रस्वरमा उनले भने अनुसार– त्यसैले उनी गाडी चलाउँदा ज्यादै संयमित भएर चलाउँथिन् ।
फरक प्रसङ्ग निकाल्दा उनको हास्यमिश्रित अभिव्यक्ति यस्तो रह्यो– ‘अहँ, हाम्रो बेलामा त ‘लभ म्यारिज’ भन्ने थाहै थिएन । मेरो विवाह हुँदा म १३ वर्षकी मात्रै थिएँ ।’
‘आम्मै, धेरै फरक भो नि । ऊ बेला केटीहरू बाहिर आउने कुरै थिएन ।
त्यतिखेर कुर्कुच्चा पनि देखाउन हुँदैनथ्यो । तर अहिले त पूरा छाडा भइसक्यो’– आफ्नो किशोरीबेला र अहिलेको तुलना गर्दै मछरीदेवी अचम्म मान्छिन् ।
बच्चामा माछा जस्तै धेरै चञ्चला भएकीले पिता कृष्णबहादुरले उनको नाम ‘मछरी’ राखिदिएका हुन् रे । उहिले र अहिलेका मानिसमा निकै फरक रहेको बताउने मछरीदेवीका भनाइमा उहिले आफ्नो कर्तव्यको ठुलो मर्यादा राखिन्थ्यो ।
ठुलालाई आदर र सानालाई स्नेह गरिन्थ्यो । तर अचेलका पुस्तामा आत्मीय भावना हराउँदै गएको छ ।
उनकै बोलीमा– ‘पहिले जस्तो राम्रो देखिनँ । पढाइ चाहिँ अगाडि भएको छ । केटा, केटीले मौका पाएका छन् तर मैले देख्दा फेसन चाहिँ राम्रो होइन ।’
२०७६ मङ्सिर ०२ गते उनलाई भेट्न जाँदा दुवै पतिपत्नी सँगै थिए । अनुहारको चमक र त्यसमा प्रवाहित प्रसन्नताले सञ्जीवनीको काम गरेको आभास भएको थियो ।
उनीभन्दा सात वर्ष जेठा हुन्– चूडामणि । ९७ वर्षको उमेरमा पनि उत्साह कम थिएन ।
छोरीहरूको माया र पतिको अभिन्न साथले मछरीदेवी प्रफुल्ल देखिएकी थिइन् । अहँ, रोग केही थिएन ‘बुढी भइयो, त्यति मात्र हो’ ढुक्कको वचन सुनिएको थियो ।
‘हामी देवरथारोहणपछि ३३ कोटिको लाइनमा गइसक्यौं’ भनाइसँगै मछरीदेवीका मुहारमा अद्भुत कान्ति तथा आत्मसन्तोषको किरण फैलियो ।
नेवारी समुदायमा ७७ वर्ष, ७ महिना ७ दिनमा गरिने जन्को ‘ज्या जन्को भीमरथारोहण’ हो । ८८ वर्ष ८ महिना ८ दिनमा गरिने जन्कोलाई ‘देवरथारोहण’ भनिन्छ ।
९९ वर्ष ९ महिना ९ दिनमा गरिने जन्को ‘दिव्य रथारोहण’ हो । र, १०८ वर्षमा गरिने जन्कोलाई ‘महादिव्यरथारोहण’ भन्दछन् ।
पतिको उमेरमै जोडेर जन्को गर्न मिल्ने भएकाले मछरीदेवीको पनि पहिल्यै ‘देवरथारोहण’ भइसकेको थियो । मछरीदेवीको दैहिक स्वरूप आज हामीमाझ छैन ।
९१ वर्षीया मछरीदेवीको २०७८ मङ्सिर १७ गते देहान्त भएको छ । उनी बितेको एक महिनामै ९८ वर्षीय चूडामणिको पनि निधन भयो ।
यसलाई अनौठो संयोग नै मान्नुपर्छ, मछरीदेवी मङ्सिर १७ मा बितेकी हुन् भने चूडामणि पुस १७ गते । गते मात्रै होइन, देहान्तको तिथि पनि उही ‘चतुर्दशी’ रहेको छ ।
नेपालको इतिहास खोतल्दा गाडी चलाउन लाइसेन्स लिने प्रथम महिला मछरीदेवी सबैको सम्झनामा सदैव रहिरहनेछिन् । गाडी चलाउन सर्वप्रथम लाइसेन्स लिने मछरीदेवी चित्रकार जस्ता अग्रणी महिलाकै कारण मुलुकका विभिन्न क्षेत्रमा आमनारीलाई अगाडि बढ्न हौसला पुगेको हो ।
प्रतिक्रिया