शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

के जसपा नेपालमा नयाँ नेतृत्वको खोजी भएको हो ?

आइतबार, ०८ असार २०८२, १५ : ०७
आइतबार, ०८ असार २०८२

सारांश

  • जनता समाजवादी पार्टी (जसपा) नेपालमा नेतृत्वको विषयमा बहस सुरु भएको छ, अध्यक्ष उपेन्द्र यादवले नेतृत्वको लागि कोही तयार भए अगाडि आउन आग्रह गरेका छन्।
  • पार्टीका नेताहरूले उपेन्द्र यादवको नेतृत्वलाई निरन्तरता दिने र तत्कालै नेतृत्व परिवर्तनको सम्भावना नरहेको बताएका छन्।
  • जसपा नेपालको कार्यकारिणी समितिको बैठकमा अध्यक्ष यादवले नयाँ नेतृत्वको कुरा उठाएपछि पार्टीभित्र यस विषयमा चर्चा सुरु भएको छ।

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालमा नेतृत्वको विषयमा बहस सुरु भएको छ ।

पार्टीका अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठकमै ‘पार्टीको नेतृत्व गर्न कोही तयार भए अगाडि आउँदा हुन्छ’ भनेका छन् । उनले त्यसका लागि आफूले ठाउँ छाडिदिने अभिव्यक्ति दिएको एक नेताले जानकारी दिए । 

शनिबारदेखि जसपा नेपालको कार्यालयमा कार्यकारिणी समितिको बैठक चलिरहेको छ । बैठकलाई आज पनि निरन्तरता दिइएको छ । 

  • उपेन्द्रको नेतृत्व 

मधेसी जनअधिकार फोरम नेपाल गैरसरकारी संस्थाको रूपमा २०५४ मा स्थापना भएको थियो, त्यसवेला अध्यक्ष बनेका यादव हालसम्म सोही पदमा छन् । यादवकै नेतृत्वमा २०६४ मा मधेसी जनअधिकार फोरम नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता भएको थियो । 

त्यसपछि मधेसी जनअधिकार फोरम, संघीय समाजवादी फोरम नेपाल, समाजवादी पार्टी हुँदै जनता समाजवादी पार्टी नेपाल बन्यो । यी सबैको नेतृत्वमा यादव नै छन् । 

२०८१ जेठमा जसपा नेपालको महाधिवेशन सम्पन्न भएको थियो । महाधिवेशनमा चुनाव हुने तयारीबिच विभिन्न पदमा उम्मेदवारी परेका थिए । तर अध्यक्षमा भने यादवविरुद्ध कोही गएनन् । 

त्यसपछि सर्वसम्मतिमा अध्यक्ष चुनिएका यादवले नै अन्य पदाधिकारी तथा केन्द्रीय समिति सदस्य चयन गरे । तर त्यसमा भने कतिपयले असन्तुष्टि जनाए । महाधिवेशनमा उम्मेदवारीअनुसार पद नपाएको भनी कतिपय नेताले भित्रभित्रै असन्तुष्टि जनाइरहेका थिए । तर पार्टी नेतृत्वप्रति भने कसैले प्रश्न उठाउन सकेनन् । 

त्यसको एक वर्षपछि भने पार्टी नेतृत्वको विषय उठेको हो । तर यो विषय पनि यादव स्वयंले झिकेका हुन् । बैठकमा यादव स्वयंले नयाँ नेतृत्वको कुरा उठाएपछि एउटा ठुलो प्रश्न उब्जिएको छः के साँच्चै जसपा नेपालमा नेतृत्वको खोजी भएको हो ?

तर कार्यकारिणी सदस्य मृगेन्द्रसिंह यादवले पार्टीमा नेतृत्वको विषयमा अहिले कुनै कुरा नै नभएको दाबी गर्छन् । 

‘महाधिवेशन भएको एक वर्ष मात्र भएको छ, यो बिचमा नेतृत्व परिवर्तन गर्ने केही कुरा छैन र सम्भावना पनि छैन,’ उनले बताए । 

उनका अनुसार पार्टीमा अहिले अध्यक्ष यादवको विकल्पमा कोही छैन र कसैले खोजेको पनि छैन । 

बैठकमा यादवले ‘नेतृत्व गर्न कोही भए आउनू’ भन्नुलाई कुनै प्रस्ताव नमान्न उनले अनुरोध गरे । नेतृत्वको लागि आफू नै तयार रहेको अध्यक्ष यादवले बताएका उनको भनाइ थियो । 

‘आफ्नो मन्तव्य राख्ने क्रममा (बैठकमा) कुनै सन्दर्भमा बोलेको कुरा हो, त्यसलाई नेतृत्व परिवर्तनकै रूपमा लिनु हुँदैन,’ मृगेन्द्रले थपे, ‘उपेन्द्रजीको नेतृत्वमा पार्टी अहिले अगाडि बढिरहेको छ, विभिन्न सांगठनिक गतिविधिहरू भइरहेका छन्, अहिले नेतृत्वको विषयमा कुनै चर्चा पनि छैन ।’

यस्तै पार्टी महासचिव रामकुमार शर्माले अध्यक्ष यादवले बोलेको कुरामा आफूले ध्यान नै नदिएको बताए । ‘पार्टीको बैठकमा कतिखेर यो कुरा बोल्नुभयो, त्यसमा मेरो ध्यान नै गएन,’ उनले भने, ‘यदि उहाँले त्यो कुरा बोल्नुभएको छ भने त्यो उहाँको महानता हो, पार्टीका लागि खुसीको कुरा हो, तर अहिले नै अध्यक्ष उपेन्द्रजीको विकल्प खोज्ने वेला भएको छैन ।’

उनका अनुसार पनि पार्टीका लागि अध्यक्ष यादव नै निर्विकल्प हुन् । र अध्यक्षको जस्तो सोच हरेक पार्टीमा हुनुपर्ने उनको भनाइ थियो । 

जसपा नेपालले गति लिनुको कारण पनि अध्यक्ष यादव नै भएको उनको दाबी थियो । ‘एउटा क्रान्तिकारी धारको निर्माण भएको छ, त्यो पनि उनकै कारणले सम्भव भएको हो,’ उनले अध्यक्षको तारिफ गर्दै भने, ‘एउटा क्रान्ति सफल गर्न अझै उनको आवश्यकता छ ।’

अर्का कार्यकारिणी सदस्य शैलेन्द्र साहले पनि पार्टीमा उपेन्द्रको विकल्प खोज्ने वेला नआएको बताए । उनको भनाइअनुसार पनि  नेतृत्वको विषयमा पार्टीमा अहिले कुनै चर्चा भएको छैन र चासो पनि कसैले लिएको छैन । 

‘कार्यकारिणी समितिको बैठकमा कसैले नेतृत्वको विषयमा कुनै सन्दर्भ राखेका होलान्, त्यसको जवाफ दिने क्रममा अध्यक्षज्यूले त्यस्तो धारणा राखेको हुनुपर्छ,’ उनले भने, ‘अन्यथा नेतृत्वको विषयमा कुनै कुरा उठेको छैन ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप