राजतन्त्र फैलिरहेकै छ, किन फर्काउनु राजा ?
केही दिन अघिसम्म सहरका चोक र गल्लीमा राजतन्त्र फर्काउने भन्दै केही व्यक्ति सलबलाइरहेका थिए । देशमा राजा ल्याउन सबै नागरिक मिलौँ भन्नेहरू आफैँ नमिलेर जात्रा देखाउँदा हेर्नेलाई समेत लाज महसुस हुन्थ्यो । २०६२/६३ को आन्दोलनले देशबाट राजा गएका हुन् तर राजतन्त्रचाहिँ अझै विद्यमान रहेछ । भारतबाट ब्रिटिसहरू गए तर ब्रिटिस–राज गएन । होमी जे भाभा, तेजश्विनी निरन्जना, गायत्री चक्रवर्ती स्पिभाक लगायत अमत्र्य सेनजस्ता नामुद लेखकहरूले यस विषयमा विभिन्न कृतिमार्पmत विहङ्गम चर्चा/परिचर्चा गरेका छन् ।
हाम्रोमा पनि राजा गए तर वर्तमान शासकमा राजाको जस्तै हैकम, सान, उन्माद तथा रवाफ गएनछ । अधिकांश नेताका र उनीहरूका सन्तति विदेशमा बस्छन्, देशमा पनि आलिसान जीवनयापन गरेका छन् । उनीहरू भ्रष्टाचार तथा अवैध कमाई र त्यसका लागि आवश्यक सेटिङमा अग्रणी दस्तामा छन् । राजनीतिप्रति आम वितृष्णा तथा नकारात्मक लगाव उत्सर्जन हुनुमा उनीहरूको ‘नकमाएको धनमा निर्मित विलासी जीवन’ निकै निर्णायक छ ।
अहिलेका सबै नेतालाई जिन्दगीभरि पदमा बस्ने उत्कट चाहना छ । बहुदलको स्थापनापछि निरन्तर अथवा पछिल्लो ४० वर्ष सांसद रहिरहने, जीवनकालभरि पार्टीको एक मात्र नेता बन्न चाहनेले एउटै मानिसले जिन्दगीभरि शासन गर्ने पद्घति कसरी मान्ने भनेर प्रश्न गरिरहेको हुन्छ । १८ पटक मन्त्री हुने, ६–७ पटकसम्म प्रधानमन्त्री बन्ने अभिलाषा र आशक्तिचाहिँ कतै राजा हुने चाहनाभन्दा कम विषालु अनि अप्रजातान्त्रिक हो र ? पद जेसुकै होस्, ओहोदा जुनसुकै होस्, आदत र आचरण त राजतन्त्रकै जस्तो छ । जन्मदेखि मरणोपरान्त आफ्नै हालीमुहाली तथा हैकम अनि रवाफ चाहिरहेका छन् ।
बाबुको मृत्यु भएमा छोरा अनि श्रीमान्को मृत्यु भएमा श्रीमती उसको पदको स्वतः हकदार हुने अभ्यास भएको राजनीति राजतन्त्र बराबर होइन र ? अझ नेताका सन्तति पार्टी वा भ्रातृ संगठनका उपल्लो तहमा स्वतः मनोनयन हुने प्रथा राणाकाजीका सन्तान जन्मनेबित्तिकै जर्नेल/कर्णेल भएभन्दा कम छ र ? राजतन्त्र हटाएको भनेर सबैभन्दा उपल्लो श्रेय लिन खोज्ने प्रचण्डको पारिवारिक विरासत र परिवार सदस्यका लागि राज्यको दोहन कुनै राजा/महाराजाको भन्दा कम छ र ? अरू पार्टी त राजतन्त्र स्विकारेरै, सिकेरै, अनुशरण गरेरै बसेका थिए, उनीहरूले अलिअलि भ्रष्टाचार र राज्यदोहन सिके होलान् । एकजना वामपन्थी नेता घनश्याम भुसालले हामीले पनि घुस खान र राज्यदोहन गर्न सिक्यौँ भनेर एकपटक सार्वजनिक सञ्चारमा भनेकै थिए । त्यसको विरोध गरेर र त्यसलाई हटाउन आएका प्रचण्डको रवाफ, राजर्षि ठाँट अनि आलिसान जिन्दगी तथा उनका परिवारलाई गरिएको राज्यका पदको वितरणले हिजोको राजतन्त्रीय शैली नै झल्काउँदैन र ?
१८ पटक मन्त्री हुने, ६–७ पटकसम्म प्रधानमन्त्री बन्ने अभिलाषा र आशक्तिचाहिँ कतै राजा हुने चाहनाभन्दा कम विषालु अनि अप्रजातान्त्रिक हो र ?
राज्यका हरेक निकायको चरम राजनीतीकरण गरी सघन भर्तीकेन्द्र बनाएर हुकुम प्रमांगीका आधारमा निर्णय गराउने पद्घतिमाथि नागरिक भलिभाँती जानकार छैनन् र ? देश टुक्राएरै पनि राजा र पार्टी फुटाएरै पनि प्रमुख बन्ने आशक्ति राजतन्त्र नै होइन र ? नागरिकलाई कसैको रैती नबनौँ भन्ने उदार आग्रहपछि झोले बन्नुमा गर्व गर्न सिकाउने नेतृत्व राजतन्त्रभन्दा कम तानाशाही र जहाँनियाँ हो भनेर कसरी पत्याउने ? राजाहरू कम्तीमा नागरिकलाई प्रजा भन्ने सम्बोधन गर्थे, रैतीसरह मात्र सम्झन्छन् भन्ने आलोचना हुन्थ्यो । आज त नेताहरू नागरिकले आफूलाई झोले सम्झिउन् भन्ने आशक्तिको बढावामा व्यस्त छन् । राजतन्त्रको समयमा दलहरूमाथि प्रतिबन्ध लगाएको इतिहास पढिएको हो । आफ्ना विरोधी अनि परिवर्तनका सम्भावित वाहकलाई छानीछानी प्रतिशोध लिने, कुनै पनि षड्यन्त्रमार्पmत सक्न खोज्ने र फसाउने अभ्यासले अहिले पनि राजतन्त्रको झल्को दिएकै छैन र ? सक्रिय राजतन्त्रको पछिल्लो सानो एउटा कालखण्डमा सम्मानित अदालतले राजाबाट गठित शाही आयोग खारेज गरिदिएको थियो । आजका शासकहरू समाचार हटाउन र पत्रकारलाई थर्काउन पनि उसै गरी उद्यत् छन् जसरी राजतन्त्रमा प्रेस नियन्त्रित थियो । सामाजिक सञ्जालसँग भयभीत छन् ।
नेताको उपचार विदेशमा हुन्छ, सम्पत्ति विदेशमा राखिएको भनेर तथ्यांकहरू चुहिएका छन् । एक अध्ययनशील सांसदले पम्फादेवीको संज्ञा दिएको अभिव्यक्ति केवल तथ्यहीन सार्वजनिक खपतका लागि मात्र त थिएन होला ! ज्ञानेन्द्र शाह गएका हुन्, राजतन्त्र त गएको होइन । एक राजा विस्थापित गरेर हजाराँै भुरे–टाकुरे राजा भएका हुन् । गायक पशुपति शर्माको गीत ‘फालेर एउटा राजा, त्यस्तै सयौँ निस्किए आज’सँग पछिल्लो परिस्थिति समान देखिँदैन र ?
राजतन्त्र हटाएको भनेर सबैभन्दा उपल्लो श्रेय लिन खोज्ने प्रचण्डको पारिवारिक विरासत र परिवार सदस्यका लागि राज्यको दोहन कुनै राजा/महाराजाको भन्दा कम छ र ?
चिया गफ र सार्वजनिक खपतका लागि गरिने उत्तेजक भाषणबाहेक नयाँ राजाहरूसँग देशको विकास गर्ने सोच, योजना, रणनीति के छ ? उत्पादन, आत्मनिर्भरता अनि निर्यातमा हामी अति धेरै जीर्ण भइसक्यौँ । तत्काल वा केही दशकसम्म यो अवस्थालाई सन्तुलित गर्न सकिँदैन । सार्वजनिक ऋण २८ खर्बभन्दा बढी भएको तथ्यांक छ । व्यापार घाटा र असन्तुलन ९० प्रतिशत आसपास छ । उच्च व्यापार–घाटा भएको अनि विदेशी सहयोग र विप्रेषण प्रधान अर्थचरित्र भएको देशमा परिणत भएका छौँ । हामी पैसाले पैसा कमाउने दलाल पँुजीवाद अथवा वित्तीय पँुजीवादको दुष्र्चकमा फसेका छाँै । उत्पादनमार्पmत सामथ्र्य बढाउने होइन, पैसा संग्रह र संरक्षण गरेर केवल सट्टापट्टा गर्ने अथवा ओसार/पसार गर्नेमा मात्र केन्द्रित छौँ । अनुत्पादक क्षेत्रमा पैसा लगानी गर्ने र त्यसैको भाउ बढाएर नाफा लिने आदतमा हाम्रो अर्थतन्त्र नराम्ररी भत्किँदै छ । सिंहापुर र स्विटजरल्यान्ड बनाउने भन्ने नेताहरू कानमा तेल हालेर स्वप्रशंसाको पुलिन्दा बोक्दै दौडिरहेका छन् । जसरी पनि फाइदा अथवा नाफा आफूमा केन्द्रित गर्ने ‘रेन्ट सिकिङ एटिच्युड’ र अनि पैसाको भण्डार थुपार्ने ‘क्रोनी क्यापिटालिजम्’ हाम्रा नेताहरूको सामरिक चरित्र बनिरहेको छ । तसर्थ आज अधिकांश नेता अधिक धनी, पूर्ण विलासी छन् तर जनता सामान्य दैनिकी चलाउन बिदेसिनुपर्ने अवस्था छ । सबै नागरिक र विशेष गरी युवाहरू विदेश गए भने आफ्नो राजकाज झन् सहज र चुनौतीविहीन हुन्छ भन्ने हेक्का राखेरै नयाँ राजाहरू यी काम गरिरहेछन् । सक्नेहरू अवसर खोजेरै जान्छन्, नसक्नेहरू भिजिट भिसा लगाएर पनि भाग्छन् । राजाका समयमा सबैलाई रक्षा गर्ने आशा गरिएका पशुपतिनाथ नै अहिले असुरक्षित होलान् ।
जनताका दुःख–पीडा यातना एकातिर छन् नेताहरू सयर सफारी र सिकार कौशलमा व्यस्त छन् । आफ्ना सन्तान सबै विदेश पठाएपछि किन र कसका लागि देश बनाउनुपर्यो भनेर कानमा तेल हालेर बसेका छन् । उनीहरूको रवाफ, जीवन, विलासीपना हरेक हिसाबले कुनै राजाभन्दा कम छैन । बाहिर भन्न नसके पनि भित्र आफूहरू राजा नै भएको आत्मबोध गरिरहेका छन् । फ्याट्टै भन्न नसकेका मात्र हुन्, मनमनै ‘म नै देश हुँ, देश भनेको म नै हो’ भन्ने लुइस चौधौँको भनाइ स्मरण गर्दै रमाइरहेछन् । जे गर्छन् देशमा आफ्नै लागि गर्छन्, देश र जनताको स्थिति फेर्नु छैन, उनीहरूलाई केवल आफू फेरिनु छ, प्रशस्तै फेरिएका छन् । उनीहरूका विरुद्घ उत्सर्जन भएका सबै आवाजलाई विदेशी प्रतिक्रियावादीको उपज सम्झन्छन् । देश र नागरिक फाँसीमा चढिरहेछन्, नेताहरू उमंग हाँसो हाँसिरहेछन् । के यो कुनै राजतन्त्रभन्दा कम छ र ? देशमा राजतन्त्र गएकै छैन, झन्/झन् बलियो भएको छ । झन् धेरै राजाहरू आएका छन् । किन फर्काउनुपर्यो र राजतन्त्र ? छँदै त छ । दलहरूले राजतन्त्र त फालेकै छैनन्, झन् फैलाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण