शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
स्वास्थ्य/ जीवनशैली

निःशुल्क स्वास्थ्य सेवामा नागरिकको विश्वास घट्न थाल्यो

मङ्गलबार, १० असार २०८२, ०९ : १२
मङ्गलबार, १० असार २०८२

सारांश

  • इमाडोलकी एक वृद्धाले स्वास्थ्य चौकीको औषधिमा विश्वास नगर्दा समस्या भयो।
  • आधारभूत स्वास्थ्य सेवामा जनविश्वास घट्नुको कारण बजेटको कमी, औषधिको गुणस्तरमा एकरूपता नहुनु र स्वास्थ्यकर्मीको अभाव रहेको छ।
  • स्वास्थ्य सेवा प्रवाहमा तीन तहको सरकारबीच समन्वयको अभाव र जनचेतनाको कमीले समस्या निम्त्याएको छ।

काठमाडौँ । इमाडोल निवासी ६९ वर्षीय विमला मगरलाई एक्कासि झाडापखाला लाग्ने र ज्वरो आउने भयो । नजिकैको स्वास्थ्य चौकीमा नातिहरूले पुर्‍याए । तर स्वास्थ्य चौकीले दिएको जीवनजल र पारासिटामोल उनले खान मानिनन् । कारण – सित्तैमा पाइने औषधिले निको नपार्नु । 

अस्पतालबाट अर्को औषधि किनेर ल्याउन पटकपटक आग्रह गरिन् । वृद्ध हजुरआमालाई निको पार्न र उनको चित्त बुझाउन नातिहरूले नजिकैको मेडिकलबाट पारासिटामोल र जीवनजल ल्याएर खुवाए ।

सहर होस् वा गाउँ, आधारभूत स्वास्थ्य संस्थामा पाइने औषधिले काम गर्दैन भन्ने धेरैलाई लागेको छ । विमला यसको एउटा उदाहरण हुन् । र यो जमात निकै ठुलो छ । 

संविधानको धारा ३५ मा प्रत्येक नागरिकले निःशुल्क आधारभूत स्वास्थ्य सेवाबाट सेवा पाउने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने उल्लेख छ । तर सेवा प्रवाहप्रति जनविश्वास गुम्दै गइरहेको छ । 

यसलाई आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवा व्यवस्थापन शाखा प्रमुख डा.फणीन्द्र प्रसाद बराल आधारभूत सेवा अनि विश्वसनीयतामा एकरूपता नभएको अर्थ्याउँछन् । 

स्थानीय तहमा आधारभूत सेवा प्रभावकारी रूपमा सञ्चालन नहुनुका धेरै कारण रहेका उनले बताए । जसमा स्थानीय तहमा प्रत्येक वर्ष बजेटको सिलिङ घट्दै जानु, औषधिको गुणस्तर जाँचमा एकरूपता नहुनु, औषधिको खरिद मूल्यमा एकरूपता नहुनु, औषधि समयमा खरिद नहुनु र स्वास्थ्य जनशक्ति उपलब्धता प्रमुख भएका उनी बताउँछन् । 

‘आधारभूत स्वास्थ्य संस्थाअनुसार एउटै रोगलाई निको पार्ने थरीथरीका औषधिहरू छन्, त्यसमाथि गुणस्तर र मूल्य भिन्न भिन्न छन्, जसले प्रभावकारिता कमी भयो कि भन्ने हो कि,’ उनले जिज्ञासा मिश्रित उत्तर दिए । 

Medisin

तर आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवा व्यवस्थापन शाखा उपचारात्मक महाशाखाका निर्देशक डा.सुधा देवकोटा भने आधारभूत स्वास्थ्य संस्थाले दिने सेवाबारे जनचेतना फैलाउन आवश्यक रहेको ठान्छिन् । जिल्ला, प्रदेश र केन्द्रबिच एकरूपता नहुँदा पनि सेवा प्रवाहमा समस्या देखिएको उनको बुझाइ छ । 

‘स्वास्थ्य सेवा प्रवाहमा तीन तहको सरकारबिचमा समन्वय अभाव छ,’ उनी भन्छिन्, ‘जसका कारण आधारभूत स्वास्थ्य सेवा प्रभावकारी हुन सकेको छैन । 

घट्दै बजेट सिलिङ

आधारभूत स्वास्थ्य सेवा प्रवाहमा प्रभावकारिताका विषयमा प्रश्न उठिरहँदा प्रत्येक वर्ष घट्दो बजेट सिलिङतर्फ पनि ध्यान दिनुपर्ने व्यवस्थापन शाखा पूर्वनिर्देशक भोगेन्द्रप्रसाद डोटेल सुनाउँछन् । 

आधारभूत अस्पताल सञ्चालन व्यवस्थापन गर्ने अधिकार स्थानीय सरकारलाई भए पनि संघीय सशर्त बजेटअन्तर्गत आधारभूत स्वास्थ्य सेवाका लागि गएको तीन आर्थिक वर्षमा विनियोजित बजेट हेर्दा कम हुँदै गएको छ । 

उपचारात्मक सेवा महाशाखाबाट आधारभूत स्वास्थ्य सेवाको लागि औषधि खरिद गर्न प्रदेश तथा स्थानीय तहमा बजेट विनियोजन हुँदै आएको छ । 

जनस्वास्थ्य सेवा नियमावली २०७७ ले दफा ३ को उपदफा (४) ले आधाभूत स्वास्थ्य सेवा प्रत्येक आधारभूत स्वास्थ्य सेवा केन्द्र तथा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट तोकिएको स्वास्थ्य संस्थाबाट निःशुल्क प्रदान गरिने उल्लेख गरेको छ ।

आर्थिक वर्ष २०८१/०८२ मा प्रदेशमा १७ करोड तथा स्थानीय तहमा १ अर्ब ४० करोड सिलिङ रहेकोमा स्थानीय तहका लागि एक अर्ब ११ करोड मात्र स्वीकृत भएको छ ।

यस्तै ०७९/८० मा आधारभूत स्वास्थ्य सेवाको औषधि खरिदका लागि प्रदेशमा १९ करोड र स्थानीय तहमा १ अर्ब ४३ करोड बजेट विनियोजन गरिएको थियो । 

त्यसैगरी ०८०/८१ मा प्रदेशमा १८ करोड ५० लाख र स्थानीय तहमा एक अर्ब २८ लाख विनियोजित भएको थियो ।  

जनस्वास्थ्य सेवा नियमावली २०७७ ले दफा ३ को उपदफा (४) ले आधाभूत स्वास्थ्य सेवा प्रत्येक आधारभूत स्वास्थ्य सेवा केन्द्र तथा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट तोकिएको स्वास्थ्य संस्थाबाट निःशुल्क प्रदान गरिने उल्लेख गरेको छ ।

त्यस्तै व्यवस्थापन शाखा पूर्वनिर्देशक डोटेलका अनुसार जनतालाई आधारभूत सेवाबारे स्थानीय सरकारले जानकारी गराउन नसक्दा उपलब्ध सेवा लिनबाट वञ्चित भएछन् । 

यस्तै, सामान्य स्वास्थ्य समस्यादेखिदा पहिलो चरणमा आधारभूत स्वास्थ्य सेवा लिएर निको हुने जमात बढेको खण्डमा राज्यलाई आर्थिक भार नै कम पर्ने निर्देशक डा. देवकोटाको जिकिर छ । 

‘प्रेसर, सुगर भए/नभएको जाँच गर्ने, स्वास्थ्यकर्मीको सल्लाहअनुसार औषधि सेवन गर्ने, सामान्य स्वास्थ्य समस्या देखिँदा बेवास्ता नगर्ने गरे रोगको पहिचान, निदान र रिर्फर गर्न सकिन्छ,’ डा.देवकोटा सल्लाह दिन्छिन्, ‘आधारभूत स्वास्थ्य संस्थामा पहिलो चरणको रोगको उपचार गर्न सकियो भने मुटु, मिर्गौला, क्यान्सरलगायत गम्भीर स्वास्थ्य समस्या हुने दर कम हुने र राज्यलाई भार कम पर्छ ।’

आधारभूत स्वास्थ्य सेवा के–के हुन्

आधारभूत स्वास्थ्य सेवाअन्तर्गत प्राथमिक तहमा विभिन्न किसिमका सेवा पाइन्छन् । खोप, एकीकृत नवजात शिशु तथा बालरोग व्यवस्थापन, पोषण, गर्भवती प्रसव तथा सुत्केरी, परिवार नियोजन, गर्भपतन तथा प्रजनन स्वास्थ्य मातृ, नवजात शिशु तथा बालस्वास्थ्य, सरुवा रोगसम्बन्धी, नसर्ने तथा शारीरिक विकलाङ्गसम्बन्धी, मानसिक रोगसम्बन्धी र ज्येष्ठ नागरिकस्वास्थ्य सम्बन्धी सेवा हुन् । साथै सामान्य आकस्मिक अवस्थाका सेवा र स्वास्थ्य प्रवर्द्धन सेवा आयुर्वेद तथा अन्य परम्परागत स्वास्थ्य सेवाअन्तर्गत पर्छन् ।

यस्तै स्थानीय तहमा निःशुल्क ९८ प्रकारका आधारभूत औषधि पाइन्छन् भने निःशुल्क आधारभूत मेडिकल उपकरण १८ थरी पाइन्छन् । 

यस्तै प्रदेशबाट ५६ किसिमका औषधि र संघीय सरकारबाट २३ किसिमका औषधि निःशुल्क वितरण गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप