बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अदालतकाे फैसला

उपचारमा लापरबाही गरिएपछि उपभोक्ता अदालतले तिरायो हालसम्मकै ठुलो क्षतिपूर्ति

हिमाल हस्पिटल र उपचारमा संलग्न डाक्टरले १ करोड ४५ लाख क्षतिपूर्ति तिर्नुपर्ने
बिहीबार, १२ असार २०८२, १८ : १०
बिहीबार, १२ असार २०८२

सारांश

  • उपभोक्ता अदालतले उपचारमा लापरबाहीका कारण बिरामीको मृत्यु भएको घटनामा अस्पताल र डाक्टरलाई १ करोड ४५ लाख क्षतिपूर्ति तिराउने फैसला गरेको छ।
  • २०८० माघ २३ गते २८ महिनाकी छोरीको उपचारका लागि अस्पताल जाँदा लापरबाहीका कारण मृत्यु भएको थियो।
  • अस्पताल र चिकित्सकको लापरबाहीका कारण शिशुको मृत्यु भएपछि उपभोक्ता अदालतमा मुद्दा दायर भएको थियो।

काठमाडौँ । उपचारमा लापरबाहीका कारण बिरामीको मृत्यु भएको घटनामा उपभोक्ता अदालतले हालसम्मकै ठुलो क्षतिपूर्ति तिराउने फैसला गरेको छ । 

बिहीबार न्यायाधीशत्रय रामप्रसाद शर्मा, गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको संयुक्त इजलासले हिमाल हस्पिटल प्रालि र उपचारमा संलग्न डाक्टरलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने फैसला गरेको हो ।

इजलास अधिकृत शोभाकर खरेलले अस्पताललाई ७० प्रतिशत र उपचारमा संलग्न चिकित्सक जयदेव यादवलाई ३० प्रतिशत क्षतिपूर्ति तिराउने फैसला भएको जानकारी दिए ।

यसअनुसार अस्पतालले १ करोड १ लाख ८० हजार रुपैयाँ र चिकित्सक यादवले ४३ लाख ६३ हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने भएको छ ।

२०८० माघ २३ गते गंगा गौतमले आफ्नो २८ महिनाकी छोरी प्रशंसालाई उपचारका लागि अस्पताल लगेका थिए । तर स्वास्थ्य सुधार हुनुको साँटो अस्पताल र चिकित्सकको लापरबाहीको कारण अवस्था बिग्रिएको मृतक शिशुका बुवा गौतमको भनाइ छ । 

उनका अनुसार माघ २३ गते छोरीलाई सामान्य रुघाखोकी र जरोको समस्या देखिएपछि अस्पताल गएका थिए ।‘चिकित्सक यादवले सामान्य चेकजाँच नगरी औषधि दिई पठाउनुभयो । निको नभएपछि भोलि फेरि लग्दा ठिक भइहाल्छ केही दिन औषधि निरन्तर गर्नुस् भन्नुभयो,’ पीडितका बुवा गौतमले दायर रिटमा भनिएको छ, ‘पर्सिपल्ट फेरि जाँदा पनि एक्स-रे र ब्लड टेस्ट गरिदिन भन्दा पनि जाँच गरिएन । बाफ लगाउन भनेर पठाइदिनुभयो ।’

तर बिहान/बेलुका बाफ दिएपछि पनि सन्चो भएन । अनि २५ माघ बेलुका कठिन भएपछि अर्को बिहान अस्पताल गएकोमा लापरबाहीपूर्वक बाफले नै ठिक हुन्छ भनी फर्काएको उनको भनाइ छ ।

सञ्चाे नभएपछि दिउँसो फेरि गई चेकजाँच त गरिदिनुस् भनेर अनुरोध गर्दा एक्स-रे गरेको र जाँचबाट फोक्सोमा पानी जमेर निमोनिया क्रोनिक भइसकेको रिपोर्ट आएको पीडित गौतमले रिटमा उल्लेख गरेका थिए ।

‘त्यस दिन अक्सिजन ७०/६० हुँदै स्वाट्टै घटेर बच्चा नबाँच्ने अवस्थामा पुगिसकेपछि त्यहाँ आईसीयू पीसीआईसीयू छैन, अन्त लानुपर्छ भनेर रेफर गरिदिनु भयो । स्टेबल नभइकन कान्तिमा जानु भनेर पठाउनु भयो ,’ पीडितका बुवा गौतमले दायर गरेको रिटमा भनिएको छ, कान्तिमा बेड पाइएन । त्यसपछि मेट्रो अस्पताल महाराजगञ्जमा नपुग्दै बेलुका बच्चाको मृत्यु भयो ।’

उक्त घटनामा मेडिकल काउन्सिल र स्वास्थ्य मन्त्रालयमा पीडितका बुवा गंगा र आमा आशिका भण्डारीले उजुरी दिएका थिए । उक्त घटनामा काउन्सिलले उपचारमा त्रुटि भएको भन्दै अस्पताललाई चेतावनी दिएको थियो भने मन्त्रालयले पनि उपचार प्रक्रियामा अस्पतालको लापरबाही औँल्याएको थियो ।

त्यसपछि जिल्ला अदालत काठमाडौँमा अस्पतालविरुद्ध १ करोड ९५ लाख रुपैयाँ मागदाबीसहित दुष्कृतिको मुद्दा दायर भएको थियो । उपभोक्ता अदालत गठन भएपछि गत चैतमा उक्त मुद्दा उपभोक्ता अदालतमा सरेको थियो ।

उक्त मुद्दामा पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता नारायणप्रसाद घिमिरेले बहस गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप