गण्डकीका मुख्यमन्त्रीको जवाफ : ‘दिऊँ कि के हो मुटु बलि, कति टुक्रा बनाऊँ ?’
सारांश
- गण्डकी प्रदेशको बजेटमाथि सांसदहरूले कविता, गीत र गजलमार्फत व्यङ्ग्य गरे भने मुख्यमन्त्रीले कविता र उखानमार्फत जवाफ दिए।
- मुख्यमन्त्री पाण्डेले बजेट टुक्रे भएको गुनासोको जवाफ दिँदै स्रोत अभावका कारण सबैको चित्त बुझाउन नसकेको बताए।
- पुरानो दायित्व र योजना सम्पन्न गर्न बजेट छुट्टाउनु परेको र नीतिगत सुधार गरेको मुख्यमन्त्रीको दाबी छ।
पोखरा । यसपालि गण्डकी प्रदेशको बजेट वक्तव्य र मन्त्रालयगत बजेटमाथि रोचक छलफल चल्यो । सांसदहरू कसैले कविता, कसैले गीत र गजल मार्फत बजेटको व्यङ्ग्य गरे । सांसदले मात्रै होइन, मन्त्रीहरूले पनि रोचक हिसाबले जवाफ फर्काए ।
शुक्रबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कविता र उखानबाटै सरकारको बजेटको बचाउ गरेका छन् । अधिकांश सांसदले बजेट टुक्रे भएको र आफ्ना क्षेत्रमा बजेटले सम्बोधन नगरेको गुनासो गरेका थिए ।
जवाफमा पाण्डेले भने– ‘जुन दिन मन छ, तिमीलाई तारा दिन मन छ । न त सक्छु टिप्न जुन, न त सक्छु तारा, दिऊँ कि के हो मुटु बलि कति टुक्रा बनाऊँ ? कुन देवतालाई कति दिऊँ, लौ न मलाई सुनाऊँ ।’
उनको यो कवितात्मक अभिव्यक्तिसँगै सदनमा ताली र हाँसोको फोहोरा छुट्यो । स्रोत अभावका कारण सबैको चित्त बुझाउन नसकेको उनको तर्क थियो । उनले विनियोजित बजेटको अधिकांश भाग विगत सरकारले लगाएको बहुवर्षे ठेक्काको परिणामबाट केही जिल्लामा सीमित भएको बताए ।
खासगरी गोरखा र कास्कीमा बजेट केन्द्रित गरिएको भन्दै सांसदहरूले प्रश्न उठाएका थिए । ‘जब हामी दायित्व घटाउने भनेर भन्छौँ भने स्वाभाविक हो कि कास्की र गोरखामा नै दायित्व घटाउने क्रममा बढी पैसाहरू जान्छन्,’ उनले भने– ‘यो दायित्व शून्यमा झार्ने हो भने पहिला ७० करोड गोरखामा हाल्नुपर्छ । यो पुरानो दायित्व हो ।’ पाण्डेले २०७४ सालदेखि अलपत्र परेका पुराना योजनाहरू सम्पन्न गर्न बजेट छुट्टाउनु सरकारको बाध्यता रहेको प्रस्ट पारे ।
बजेटमाथिको आलोचना तथ्यगत नभएको र विरोधका लागि मात्रै भएको उनको भनाई छ । पाण्डेले तिल र खट्टेको कथा सुनाउँदै जो सत्तामा भए पनि सबैको माग पूरा गर्न सक्ने अवस्था नरहेको तर्क गरे । ‘एक जनाले अर्कोलाई तिल भुट, खट्टे भुट, मिसाऊ, खुदो हाल, डल्ला पार भन्यो । सबै गरिसकेपछि फेरि अब तिल र खट्टे छुट्टाइदेऊ भनेजस्तो भन्यो,’ उनले भने, ‘त्यो सम्भव छ ? कसरी छुट्टाउने ?’ सांसदले गरेका कतिपय आलोचना स्टण्टका लागि मात्रै भएको उनले सुनाए । पाण्डेले आफू नेतृत्वको सरकारले केही महत्त्वपूर्ण नीतिगत सुधार गरेको दाबी गरे । स्वास्थ्य संस्थाको बेडसंख्या र उपकरण तथा जनशक्ति थप गर्नेदेखि घरेलु मदिरालाई ब्रान्डिङ गर्नेसम्मका योजना सरकारले गरेको नीतिगत सुधार भएको उनको भनाई छ ।
लामो समयदेखि साँघुरो भवनमा रहेको प्रदेशसभाको नयाँ भवन निर्माणदेखि, न्यायिक समितिलाई कानुनी सहजकर्ता पठाउने सम्मका काम उत्कृष्ट भएको उनको दाबी छ । ‘यी जति पनि काम भएका छन्, यो नीतिगत डिपार्चर होइन ? यो रूपान्तरण होइन ?’ उनले लोकतान्त्रिक गणतन्त्रप्रति सबै सचेत हुन आग्रह पनि गरे ।
अन्तिममा उनले भने, ‘सुनेकै छु, बुझेकै छु सबै तिम्रा कुराहरू । धनसारै सानो भएर हो, रहेका सपना अधुराहरू । गर्यौ प्रश्न कविता र गीतबाट, हुन्न विभेद ढुक्क होऊ, म सुरेन्द्रराज पाण्डेबाट ।’ शुक्रबार स्वास्थ्य मन्त्री कृष्ण पाठक, ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फणीन्द्र देवकोटा, भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर केसीले पनि जवाफ दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण