बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

खेल र चलचित्र क्षेत्रको विकासलाई महत्त्व दिएको छु : प्रचण्ड

शुक्रबार, १३ असार २०८२, १५ : २४
शुक्रबार, १३ असार २०८२

सारांश

  • पूर्व प्रधानमन्त्री प्रचण्डले चलचित्र विधेयक २०८१ माथि सरोकारवालाहरूसँग छलफल गरे।
  • प्रचण्डले चलचित्र विधेयकलाई महत्त्वपूर्ण भन्दै राज्यले यसको संवेदनशीलता बुझ्नुपर्ने बताए।
  • उनले चलचित्र क्षेत्रलाई मनोरञ्जन मात्र नभई समाज रूपान्तरणको साधनको रूपमा लिनुपर्ने बताए।

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चलचित्र विधेयक २०८१ माथि पुनरावलोकनका लागि सरोकारवालासँग छलफल गरेका छन् ।

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित छलफलमा राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिका सदस्यहरू, चलचित्रकर्मी संघ तथा अन्य सरोकारवाला सहभागी थिए । 

छलफलमा अध्यक्ष प्रचण्डले चलचित्र विधेयकलाई निकै महत्त्वपूर्ण विषय भन्दै राज्यले यसको संवेदनशीलता बुझेर अगाडि बढ्नुपर्नेमा जोड दिए । 

उनले राजनीतिक नेतृत्वले खेल र चलचित्र जस्ता विषयमा ध्यान कम दिने गरेको उल्लेख गर्दै आफूले पनि खेल र चलचित्र क्षेत्रलाई महत्त्व दिएर अगाडि बढाउने प्रयास गर्दै आएको बताए । 

‘म प्रधानमन्त्री भएपछिबाट खेल र चलचित्र क्षेत्रको विकासमा राज्यको ध्यान जानुपर्छ भनेर महत्त्व दिँदै आएको छु’, प्रचण्डको भनाइ छ । 

चलचित्र क्षेत्रलाई मनोरञ्जनको मात्र विषय नभई समाज रूपान्तरणको साधनको रूपमा पनि लिनुपर्ने प्रचण्डको जोड छ । ‘कतिपय चलचित्रले समाजमा सोच र विचारमै परिवर्तन ल्याएका छन्। चलचित्र कालजयी पनि हुन्छन्’, प्रचण्डले सामाजिक घटनाक्रम चलचित्रमा सचित्र देखिनु आवश्यक रहेको उल्लेख गरे । 

चलचित्र विधेयकलाई समावेशी, सशक्त र समाजदर्शी बनाउन सबै पक्षसँग छलफल गरेर आवश्यक संशोधन गर्न सहयोग गर्ने प्रचण्डले सरोकारवालाई विश्वास दिलाए । 

त्यसक्रममा शिक्षा विधेयकबारे समेत चर्चा गर्दै अध्यक्ष प्रचण्डले संविधानको भावना अनुसार सुधार र समावेशीताको पक्षमा आफू रहेको भन्दै देश र जनतालाई अगाडि लैजानुपर्छ भन्नेमा आफूहरू रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप