बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
शिक्षा समिति बैठक

विद्यालय शिक्षा विधेयकमा जुट्यो सहमति

शिक्षा समितिले भोलि पारित गर्ने
शुक्रबार, १३ असार २०८२, १७ : ३९
शुक्रबार, १३ असार २०८२

सारांश

  • विद्यालय शिक्षा विधेयकमा सहमति जुटेको छ, जसमा निजी विद्यालय र प्रारम्भिक बाल विकास शिक्षा सम्बन्धी विषयहरू समावेश छन्।
  • शिक्षा समितिले दुई दिनको छलफलपछि विवादित विषयमा सहमति जुटाएको छ, र भोलि विधेयक पारित गर्ने तयारी छ।
  • विधेयकमा निजी विद्यालयलाई सेवामूलक बनाउने र ईसीडीलाई दुई वर्षे बनाउने सहमति जुटेको छ।

काठमाडौँ । विद्यालय शिक्षा विधेयकमा सहमति जुटेको छ । निजी विद्यालयको सञ्चालन तथा व्यवस्थापन, प्रारम्भिक बाल विकास शिक्षा लगायतका विषयमा विवाद देखिएको थियो । लगातार दुई दिनको छलफलपछि प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समितिले दुवै विवादित विषयमा सहमति जुटाएको हो ।

सहमति जुटेसँगै विधेयक पारित गर्नका लागि भोलि दिउँसो १ बजेका लागि शिक्षा समिति बैठक बोलाइएको छ । भोलि बस्ने बैठकले विधेयक पारित गरेपछि असार १५ गतेको प्रतिनिधिसभा बैठकमा विधेयक पेस गर्ने तयारी छ । 

सहमति अनुसार निजी विद्यालयलाई सेवामूलक, लोक कल्याणकारी र क्रमशः गैरनाफामुलक गर्दै लगिनेछ ।आजको समिति बैठकमा सभापति अम्मरबहादुर थापाले निर्णयार्थ प्रस्तुत गरेका थिए ।

उक्त प्रस्तावमा सांसदहरूले आ–आफ्ना तर्क राखेका थिए । त्यसपछि निजी विद्यालय सेवामूलक, लोक कल्याणकारी क्रमशः गैरनाफामुलक बनाएर जाने गरी उक्त प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो । 

त्यस्तै प्रारम्भिक बाल विकास शिक्षा (ईसीडी)लाई दुई वर्षे बनाउने सहमति जुटेको छ । सभापति थापाले सामुदायिक र निजी विद्यालयमा ईसीडी दुई वर्षे राख्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा समिति सदस्यहरूले आफ्नो धारणा राखेका थिए । 

त्यसपछि सामुदायिक र निजी दुवैमा दुई वर्षभन्दा बढी अवधि नहुने गरी सञ्चालन गर्न पाउने प्रावधान सर्वसम्मत रूपमा पारित गरेको हो । ईसीडीदेखि ८ कक्षासम्म आधारभूत तहको परिभाषित गरेको छ ।

बाल सहजकर्ताको रूपमा नियुक्ति हुन कम्तीमा १२ कक्षा पढेको हुनुपर्ने प्रावधान पनि राखिएको छ । उनीहरूलाई दिने सुविधा दिनुपर्ने र सुविधा कम नहुने गरी स्थानीय कानुनमा भए बमोजिम दिनु व्यवस्था गरेको छ । सेवा प्रवेश तालिम लिनुपर्ने व्यवस्था राखिएको छ । 

अहिले कार्यरत शिक्षकले आयोगले लिने परीक्षामा उमेर हद नलाग्ने व्यवस्था गरेको छ। सरकारले ईसीडीमा पढाउने शिक्षकलाई सहयोगी कार्यकर्ता भन्ने गरेकोमा उपसमितिले बाल सहजकर्ताको रूपमा परिभाषा गरेको छ ।

बाल सहजकर्तालाई बाल शिक्षक भन्नुपर्ने भन्दै केही सांसदहरूले असहमति प्रकट समेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप