'मदनको नीति, विद्याको नेतृत्व !' कसले गर्दैछ पोस्टरको प्रचार ?
सारांश
- असार १४ गते मदन भण्डारीको ७४ औँ जन्मजयन्तीको अवसरमा विभिन्न कार्यक्रम हुँदैछन्।
- कार्यक्रममा केपी शर्मा ओली र विद्यादेवी भण्डारीलगायत एमालेका शीर्ष नेताहरूको सहभागिता रहनेछ।
- 'जनताको बहुदलीय जनवाद, मदनको नीति विद्याको नेतृत्व' लेखिएको पोस्टर सार्वजनिक भएको छ, जसलाई लिएर एमालेमा चासो बढेको छ।
काठमाडौँ । आज असार १४ । तत्कालीन एमाले महासचिव मदन भण्डारीको ७४ औँ जन्मजयन्ती । यसै सन्दर्भ एमालेजनले देशभर विभिन्न कार्यक्रम गरेर मदन भण्डारीले नेपाली कम्युनिस्ट आन्दोलनलाई रूपान्तरण गर्न खेलेको भूमिकाको स्मरण गर्दैछन् ।
मदन भण्डारी फाउन्डेसनको आयोजनामा काठमाडौँको राष्ट्रिय सभागृहमा शनिबार हुने विशेष कार्यक्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलगायत एमालेका शीर्ष नेताहरू सहभागी हुँदैछन् ।
एमालेमा ७० वर्षे उमेर हद, दुई वर्षे कार्यकाल र विद्या भण्डारीको सक्रिय राजनीतिमा आउने सम्भावनाको चर्चा भइरहेका बेला मदन भण्डारीको जन्मजयन्तीका अवसरमा हुन लागेको यो कार्यक्रम अनि नेताद्धय ओली र भण्डारीको उपस्थितिका साथै उनीहरुले कार्यक्रममा दिन सक्ने सन्देशलाई लिएर एमाले नेता कार्यकर्ताहरूले निकै चासोका साथ हेरेका छन् ।
यहीँ कार्यक्रमको पूर्वसन्ध्यामा स्व। मदन भण्डारी र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको तस्बिर राख्दै ‘जनताको बहुदलीय जनवाद, मदनको नीति विद्याको नेतृत्व’ लेखिएको पोस्टर सार्वजनिक भएको छ । जसलाई विद्या भण्डारी निकटस्थहरूले सामाजिक सञ्जालमा महत्त्व दिएर प्रचारप्रसार गरिरहेका छन् ।
विद्या भण्डारी निकटस्थ एमाले कार्यकर्ताले राष्ट्रिय सभागृहमा आज हुने कार्यक्रमबाटै विद्याले सक्रिय राजनीतिमा आउने सन्देश दिन लागेको प्रचार मात्र गरेका छैनन्, भावी अध्यक्षकै रूपमा अघि सारेका छन् । तर एमाले स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतम त्यस्तो तयारीबारे आफूलाई केही थाहा नभएको बताउँछन् ।
‘मदनको नीति विद्याको नेतृत्व’ भनेर सार्वजनिक गरिएको उक्त पोस्टर एमाले पार्टीले कुनै आधिकारिक ढङ्गले नगरेको गौतमको भनाइ छ । ‘पार्टीमा इन्डोर्स नै नभएको विषयमा कसले के सार्वजनिक गर्छ त्यसको पछि लागेर साध्य पनि छैन । त्यसलाई आधिकारिक मान्ने त कुरै भएन’, गौतमको प्रतिक्रिया छ ।
मदन भण्डारी नेपाली कम्युनिस्ट आन्दोलनलाई लोकतान्त्रीकरणको प्रक्रियामा अगाडि बढाउने नवीन विचारक मानिन्छन् । ‘हामी मदनलाई नेपाली माटोमा मार्क्सवादको नयाँ प्रयोग गर्ने पहिलो व्यक्तिका रूपमा लिन्छौ । जसले जनताको बहुदलीय जनवादको सिद्धान्त र कार्यक्रम प्रतिपादन गर्नुभएको छ’, गौतमले भने, ‘त्यही नेताको नेतृत्वबाट बनेको नीतिबाट नै अहिले नेकपा एमाले क्रियाशील छ ।’
तर मदनको नीति फलानाको नेतृत्व भन्ने पार्टीमा कहिँकतै विमर्श र परामर्श नभएको गौतमको दाबी छ ।
‘अहिले मदनको नीति फलानाको नेतृत्व भन्ने पार्टीमा कहिँकतै पनि विमर्श,परामर्श भएको छैन । तथ्य पनि त्यो होइन’, नेता गौतमको भनाइ छ ।
हाल नेकपा एमालेले अङ्गीकार गरिरहेको जनताको बहुदलीय जनवादको नीति र कार्यक्रमका प्रणेता मानिने तत्कालीन एमाले महासचिव मदन भण्डारीको जन्म २००९ साल असार १४ गते भएको थियो ।
३७ वर्षको उमेरमै पार्टीको नेतृत्व सम्हाल्न पुगेका भण्डारीको २०५० साल जेठ ३ गते दासढुंगा दुर्घटनामा रहस्यमय निधन भएको थियो । निकै छोटो समय पार्टी नेतृत्व र सार्वजनिक जीवन बिताएका मदनले नेपालको बाम लोकतान्त्रिक आन्दोलनमा भने लामो प्रभाव छाडेको छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्वाटरफाइनल प्रवेशका लागि क्यानडा र मोरक्को आमनेसामने
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
-
दर्ता प्राप्त चिकित्सकले मात्र रेडियोलोजी सेवा दिन पाउने कानुनी व्यवस्था पालना गर्न माग
-
काठमाडौँसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा
-
नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने
-
२०२२ देखि विश्वकप २०२६ सम्मः जसलाई पनि हराउन सक्ने टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण