अमेरिकाको मुटुमा उदाएका वामपन्थी युवा
सारांश
- न्यूयोर्कको मेयरका लागि डेमोक्र्याटिक पार्टीबाट जोहरान ममदानी उम्मेदवार चयन भएका छन्, उनी मुस्लिम समुदायबाट पहिलो व्यक्ति हुन्।
- प्राइमरी इलेक्सनमा ममदानीले पूर्व गभर्नर एन्ड्रयु कुमोलाई पछि पार्दै अग्रता लिए, जसलाई वामपन्थी र आधारभूत तहको समर्थन थियो।
- ममदानीले न्यूयोर्कलाई सस्तो बनाउने र निम्न वर्गका लागि जीवनयापन सहज बनाउने मुद्दाहरू अघि सारेका छन्, जसमा नि:शुल्क बस सेवा र आवास सम्बन्धी योजनाहरू छन्।
अमेरिकाको सबैभन्दा ठुलो सहर न्यूयोर्कको आगामी मेयरका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवारका रूपमा जोहरान ममदानी चुनिएका छन् । उनी मुस्लिम समुदायबाट उम्मेदवार हुने पहिलो व्यक्ति हुन् ।
उम्मेदवार छनोटका लागि हुने प्राइमरी इलेक्सनमा ९५ प्रतिशत मत गणना भइसक्दा ममदानीले पूर्व गभर्नर एन्ड्र्यु कुमोलाई पछि पारिदिएका छन् । यसअघि यौन दुर्व्यवहारको आरोप लागेपछि राजीनामा दिएका कुमोले ३६ प्रतिशत मत ल्याउँदा ममदानीले ४३ प्रतिशत मतसहित अगुवाइ गरेका छन् ।
ममदानीको जितका पछाडि आधारभूत तहको व्यापक समर्थन तथा वामपन्थीहरूको सहयोग देखिएको छ । आफू उम्मेदवारका रूपमा छनोट हुने पक्का हुना साथ उनले आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै भने, ‘आज हामीले इतिहास रचेका छौँ । अब म तपाईँहरूको तर्फबाट न्यूयोर्क सहरको मेयरका लागि डेमोक्र्याटिक उम्मेदवार हुनेछु ।’
न्यूयोर्कको मतदान प्रणाली श्रेणिगत छनोटमा आधारित हुन्छ । अन्तिम नतिजामा यसले केही हेरफेर ल्याउन सक्ने भएता पनि ममदानीको अग्रता तथा हालको गति निर्णायक बन्ने करिब निश्चित भइसकेको छ ।
न्यूयोर्कको राजनीतिमा प्रभावशाली मानिने कुमोमाथि ममदानीको जितलाई अमेरिकी राजनीतिमा ठुलो प्रभाव राख्ने न्यूयोर्कमा प्रगतिशील तथा वामपन्थीहरूका लागी कोशेढुंगा मानिएको छ । यसले न्यूयोर्कको राजनीतिमा ठुलो हेरफेर ल्याई दिने आङ्कलन गर्न थालिएको छ ।

नयाँ पुस्ताका प्रगतिशीलमा गनिने ममदानी न्यूयोर्कको पहिलो मुस्लिम तथा दक्षिण एसियाली मूलका मेयर हुनेछन् । उनी सहरको विविधतायुक्त पृष्ठ्भूमिसँग आफूलाई जोड्ने गर्छन् । अभियानका क्रममा उनले उर्दुमा एउटा सन्देश प्रस्तुत गरेका थिए, जसमा बलिउडका चलचित्रका छोटा अंशहरू पनि राखिएको थियो । साथै उनी स्पेनिस भाषा पनि राम्रोसँग बोल्न सक्छन् ।
उनकी श्रीमती २७ वर्षे सिरियाली कलाकार रमा दुवाजि हुन् । पुरानो ब्रुकलिनमा बस्ने रमा र ममदानीको भेट ‘हिन्ज’ नामको ‘डेटिङ एप’ मा भएको थियो । मम्दानीका मातापीता दुवै हार्वर्ड विश्वविद्यालयका पूर्व विद्यार्थी हुन् । माता मिरा नायर प्रख्यात चलचित्र निर्देशक हुन् भने पिता महमुद ममदानी कोलम्बिया विश्वविद्यालयका प्राध्यापक हुन् ।
- युगान्डादेखि क्विन्ससम्म
ममदानी युगान्डाको राज्धानी कम्पालामा जन्मिएका हुन् । उनी सात वर्षको हुँदा उनको परिवार न्यूयोर्क पुगेको थियो । ब्रोंक्स विज्ञान स्कुलमा भर्ना भएका उनले पछि गएर बोड्विन कलेजमा अफ्रिकाली अध्ययनमा आफ्नो उच्च शिक्षा पुरा गरे । अध्ययनकै क्रममा उनले आफ्ना साथीहरूसँग मिलेर ‘जस्टिस फर प्यालेस्टाइन’ नामको विद्यार्थी समूह पनि स्थापना गरेका थिए ।
मम्दानीले आफूलाई जनताको उम्मेदवार तथा कुशल संगठकका रूपमा उभ्याएका छन् । राज्यसभाको रेकर्डमा भएको उनको पृष्ठभूमिमा ‘फिल्म, र्याप तथा लेखनमा मस्त जीवनले अर्को मोड लिँदा संगठनको कामले निराशाको सट्टा आशा दिएको छ’, लेखिएको छ ।
राजनीतिमा आउनु अघि उनी आवास सल्लाहकारको काम गर्थे । जसमा उनको काम क्विन्स क्षेत्रमा निम्न आय भएका मानिसलाई विविध कारण उनीहरू बसेको घरबाट निकालेको अवस्थामा उनीहरूलाई सघाउनु थियो ।

उनले आफ्नो मुस्लिम पहिचान पनि आफ्नो अभियानको हिस्सामा समेटेका थिए । उनी आफ्नो अभियानका दौरान नियमित रूपमा मस्जिद जान्थे । साथै उर्दु भाषामा सहरको कष्टकर जनजीवनबारे भिडियो बनाउने गर्थे ।
केही समयअघि एउटा र्यालीलाई सम्बोधन गर्दै उनले भनेका थिए, ‘हामीलाई थाहा छ अहिले सार्वजनिक स्थानमा आफू मुस्लिम भएको दाबीसाथ उभिनु भनेको आफ्नो सुरक्षामा चुनौती थप्नु हो, तथापि मैले काम गर्नैपर्छ ।’
‘ड्रम’ नामको सामाजिक न्याय संगठनमा राजनीतिक निर्देशक जगप्रित सिंह ममदानीबारे भन्छन्, ‘अहिलेको अवस्थामा मैले देखेका मुद्दाहरूलाई समग्रतामा उठाउन सक्ने ममदानी जत्तिको अर्को उम्मेदवार छैन ।’
- ममदानीले उठाएका मुद्दा
उनका अनुसार अमेरिकाको सर्वाधिक महँगो सहरका मतदाताहरूको चाहना डेमोक्र्याटहरुले छलफललाई जीवनयापनको असहजता र महँगीमा केन्द्रित गरुन् भन्ने छ । ‘यो यस्तो सहर हो, जहाँ हरेक चार जनामा एक जना गरिबीमा बाँचिरहेका छन्, जहाँ ५ लाख बालबालिका प्रत्येक रात भोकभोकै सुत्न विवश छन् ।’
बीबीसीसँग कुराकानी गर्दै उनले भने, ‘साथै यो सहरले आफूलाई विशेष रूपमा चिनाएको पहिचान पनि गुमाउने खतरासँग जुधी रहेको छ ।’

- के छन् त उनका प्रस्तावहरू
उनले आफ्नो निर्वाचन अवधिभर निम्न मुद्दा अघि बढाएका छन् । सहरभर निःशुल्क बस सेवा सञ्चालन गर्ने । लापरबाही गर्ने घरधनीहरूका लागि भाडा रोक्का गर्ने, जबाफदेहीताका कडा प्रावधान लागू गराउने, निम्न वर्गका मानिसलाई लक्षित गरेर सहरमा सस्तो मूल्यका किराना पसलहरूको शृङ्खला तयार गर्ने ।
यस्तै, ६ हप्तादेखि पाँच वर्ष उमेरसम्मका बालबालिकाका लागि सार्विक वाल हेरचाहको प्रबन्ध गर्ने, स्थिर घरभाडा भएका सरकारी आवासका निर्माण तीन गुणा बढाउने, घरधनीहरूलाई जिम्मेवार बनाई सस्तो र स्थायी आवासको व्यवस्था बढाउने । सस्तो आवास प्रबन्धका लागि मेयरको कार्यालयले तत्काल काम अघि बढाउने ।
उनको योजनामा मेयर कार्यालयले काम गर्ने शैली पनि परिवर्तन गर्नुपर्ने कुरा समावेश छ । उनले आफ्नो अभियानका क्रममा आफ्ना विचारहरूलाई मानिस माझ पुर्याउन श्रव्यदृष्य लगायत विभिन्न आकर्षक प्रकारका प्रयोगहरू गरे । भाडा रोक्काको सन्दर्भलाई चर्चामा ल्याउन उनले आन्ध्र महासागरमा समेत हाम फाले ।
खाद्य असुरक्षा देखाउने उद्देश्यसाथ बुरिटो लगायतका सबवे रेल स्टेसनमा आफ्नो रमजानको उपवास तोडे । प्राइमरी निर्वाचनको केही समय अघि मात्रै उनले म्यानह्याटन सहर पुरै वारपार पैदल यात्रा गरे । ठाउँ–ठाउँमा रोकिएर मतदाताहरूसँग फोटो खिचे, उनीहरूको समस्या समाधानका लागि पहल लिए ।
उनी सहरलाई अझै सस्तो तथा निम्न आर्थिक अवस्थाका मानिसहरूका लागि बस्न योग्य बनाउन सकिन्छ भन्ने विश्वास गर्छन् । उनका आलोचकहरूले भने उनका यस्ता महत्त्वाकाङ्क्षी वाचाहरूमाथि प्रश्न उठाउने गरेका छन् ।
न्यूयोर्क टाइम्सले सहरको मेयरका लागि यसपटक कसैलाई पनि समर्थन गरेन । बरु उसले त्यस विपरीत उम्मेदवारहरूको आलोचना गर्यो । यसको सम्पादकीय बोर्डले ममदानीका एजेन्डाहरू ‘सहरका चुनौतीहरूका लागि काम नलाग्ने’ भनेर लेख्यो ।
साथै ‘यी एजेन्डा लागू गराउँदा शासनमा अन्य विषयमा सम्झौता गर्नुपर्ने अवस्था आउने’ भनेर समेत उल्लेख गर्यो । बोर्डले त अझ ममदानीले लिएको भाडा रोक्काको प्रस्तावले सहरको आवास आपूर्तिमा समस्या उत्पन्न हुने दाबी गरेको छ ।

- अनुभवहीनतामाथि प्रश्न
कुमो लगायत उनका प्रतिस्पर्धीहरू १ सय १५ बिलियन डलर बजेट भएको तथा नगरपालिका अन्तर्गत तीन लाख भन्दा धेरै काम गर्ने मानिस भएको यस्तो ठुलो सहरका लागि अहिलेसम्म परीक्षण नै नभएको तथा उग्रउम्मेदवारका रूपमा उनको आलोचना हुने गरेको छ ।
उनका प्रतिस्पर्धी कुमोलाई पूर्व राष्ट्रपति विल क्लिन्टन लगायत डेमोक्र्याटिक पार्टीका नेताहरूको समर्थन छ । उनी आफूलाई अनुभवी र सक्षम दाबी गर्दै भन्छन्, ‘मसँग अनुभव, क्षमता, काम कसरी गर्ने भन्ने ज्ञान छ तथा ट्रम्पसँग कसरी व्यवहार गर्ने भन्ने कला पनि छ । म वासिङ्टनसँग कसरी व्यवहार गर्नुपर्छ, प्रान्तको सदनसँग कसरी व्यवहार गर्नु पर्छ भन्ने राम्रोसँग जान्दछु । काममा अनुभव तथा सीपको ठुलो महत्त्व हुन्छ ।’
तर, राजनीतिक राजनीतिज्ञ ट्रिप याङ भने अहिलेको युगमा ‘अनुभव’ निर्णायक नहुने दाबी गर्छन् । याङका अनुसार ममदानीको हार वा जित जे भए पनि उनको अभियानले मतदाताबिच ‘अकल्पनीय’ काम गरेको छ ।
‘ममदानी दसौँ हजार स्वयंसेवकहरू तथा लाखौँ सहयोगीहरूबाट सञ्चालित छन् । स्थानीय निर्वाचनको प्राइमरी अगाडि यति धेरै समर्थक तथा स्वयंसेवकको प्रदर्शन डेमोक्र्याटिक पार्टीको इतिहासमै दुर्लभ घटना हो ।’ उनले भने
उनका समर्थक लोकमणि राई भन्छन्, ‘उनी हामीलाई बुझ्छन् र त उनी हाम्रा मान्छे हुन् । हामी आप्रवासी समुदायका मानिसलाई उनको जीतको अर्थ थाहा छ ।’
- इजरायल र प्यालेस्टाइन मामला
देशको सबैभन्दा विविधतापूर्ण समुदाय मध्ये पर्ने ज्याक्सन हाइट्सको पार्कमा हालै भएको ममदानीको अभियान कार्यक्रममा ल्याटिनो खाना बेच्ने बिक्रेताहरूले आइसक्रिम र खाजा बेचे । त्यहाँ धेरै बच्चाहरू वरपर दौडिने तथा पिङमा खेलिरहेका थिए । उक्त दृश्यले सहरको विविधतालाई धेरै दृष्टिमा प्रतिबिम्बित गरेको अनुभूत हुन्थ्यो ।
जसलाई धेरै डेमोक्र्याटहरूले न्यूयोर्कको सबैभन्दा ठुलो सम्पत्ति मान्ने गर्छन् । विविधतायुक्त न्युयोर्क जातीय र राजनीतिक तनाव मुक्त भने छैन । ममदानीका अनुसार उनी आफैले दैनिक जसो इस्लाम विरोधी धम्कीको सामना गरिरहेका हुन्छन् ।

केहीले उनको परिवारलाई समेत लक्षितगरी धम्काउने गरेका छन् । प्रहरीका अनुसार केही धम्की र हेट स्पिचबारे अनुसन्धान भइरहेको छ । ममदानीले बीबीसीलाई बताए अनुसार यस्ता घटनाले अमेरिकी राजनीतिलाई नस्लवादले कतिसम्म गिजोलेको छ भन्ने उदाहरणका रूपमा हेर्न सकिन्छ ।
कुराकानीका क्रममा उनले डेमोक्र्याटिक पार्टीको पनि आलोचना गरे । उनका अनुसार डेमोक्र्याटिक पार्टीको कमजोरीका कारण डोनाल्ड ट्रम्पलाई पुनः निर्वाचित हुन सजिलो बनाइदियो तथा यो पार्टी निर्भीकतासाथ काम गर्ने मानिसको पक्षमा उभिन सकेन । जनतालाई भरोसा दिलाउन पनि सकेन । ट्रम्प त्यसैको परिणाम हुन् ।
इजरायल–गाजा युद्धमा उम्मेदवारहरूको फरक–फरक अडानले पनि मतदाताहरूको दिमागमा प्रभाव पारिरहेको छ । ममदानी प्यालेस्टिनीहरुको आन्दोलन र आवाजको कडा समर्थक हुन् भने इजरायलको कठोर आलोचक । उनको यस्तो रवैया डेमोक्र्याटिक पार्टीको संस्थापन पक्षको नीतिको तुलनामा धेरै उग्र मानिन्छ ।
राज्यसभाको सभासद्का रूपमा ममदानीले अन्तर्राष्ट्रिय मानव अधिकार कानुन उल्लङ्घन गर्ने गरी गाजामा जबरजस्ती इजरायली बस्ती बसाउने काममा जोडिएका न्यूयोर्क अन्तर्गतका सहायता संस्थाहरूको कर छुट अन्त्यको कानुन समेत प्रस्ताव गरेका थिए ।
उनी इजरायलले गाजामा नरसंहार गरिरहेको छ भन्ने कुरामा आफूलाई कुनै शङ्का नभएको बताउँछन् । साथै उनी इजरायललाई रङ्गभेदी राज्य भएको तथा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई पक्राउ गर्नुपर्ने धारणा राख्छन् । इजरायलले भने नरसंहार र रङ्गभेदको आरोपलाई कडा रूपमा अस्वीकार गर्ने गरेको छ ।
ममदानीलाई विभिन्न समयमा लिइएका अन्तर्वार्ताका क्रममा धेरै पटक पत्रकारले उनी यहूदी राज्यका रूपमा इजरायलको अस्तित्वको अधिकारलाई समर्थन गर्छन् वा गर्दैनन् भन्ने प्रश्नको जवाफ दिन दबाब दिँदै आएका छन् । उनले यसै महिना उक्त प्रश्नको जवाफ दिँदै भने, ‘म धर्म वा त्यस्तै कुराको आधारमा नागरिकको श्रेणी निर्धारण हुने कुनै पनि राज्यलाई समर्थन गर्न सक्दिन । मलाई लाग्छ हाम्रो देशमा हामीसँग भएको तरिकाले संसारको प्रत्येक देशमा समानता स्थापित हुनुपर्छ । म त्यसमा विश्वास गर्छु ।’
ममदानी इजरायली राज्यको अस्तित्वलाई भने स्वीकार गर्छन् । गत सोमबार ‘लेट शो’ मा बोल्दै उनले भने, ‘सबै राष्ट्रहरू जस्तै इजरायलको पनि अस्तित्वको अधिकार छ साथै अन्तर्राष्ट्रिय कानुनलाई कायम राख्ने जिम्मेवारी पनि छ भन्ने कुरामा म विश्वास गर्छु ।’
साथै ममदानीले न्यूयोर्क सहरमा यहूदी विरोधीका लागि कुनै ठाउँ नभएको समेत बताए । उनका अनुसार उनी निर्वाचित भएको खण्डमा उनले घृणा फैलाउने जो कोही अपराधी र उनीहरूको अपराधसँग लड्न आवश्यक कोष वृद्धि गर्नेछन् । उनका प्रतिद्वन्दी कुमोले भने आफूलाई ‘इजरायलको उग्र समर्थक भएको साथै त्यसमा गौरव गर्ने’ भनी आफूलाई प्रस्तुत गरेका छन् ।
धेरै हिसाबले अहिले न्यूयोर्कमा डेमोक्र्याटहरूले सामना गर्ने मुद्दाहरू भविष्यमा आउँदै गरेका अन्य महत्त्वपूर्ण चुनावमा पार्टीले सामना गर्नुपर्ने मुद्दाहरूसँग मिल्दाजुल्दा छन् । साथै प्राइमरी निर्वाचनले पार्टीका बारेमा के देखाउँदै छ तथा डेमोक्र्याटिक पार्टीले ट्रम्पलाई कसरी चुनौती दिनुपर्छ भनेर राष्ट्रव्यापी रूपमा अध्ययन गर्न समेत सघाएको छ ।
(प्रस्तुत आलेख बीबीसीका लागि नदा टफिक र राचेल हागनले तयार पारेका हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण