‘बिहे नगर्दाको आनन्द अनुभव गर्न पाएँ, भगवानलाई लाख-लाख धन्यवाद’
सारांश
- भद्र घले, एक बहुआयामी व्यक्तित्व, 'नेपाल महिला सङ्गठन' की प्रथम अञ्चल सभापति थिइन्।
- उनले राजनीति, साहित्य, चित्रकला, र समाजसेवामा महत्त्वपूर्ण योगदान पुर्याइन्, र विभिन्न पुस्तकहरू लेखिन्।
- घलेले महिला अधिकारको लागि वकालत गरिन्, सरकारी क्षेत्रमा महिलालाई उचित स्थान दिनुपर्ने धारणा राखिन्।
नेपालको विकासमा पुरुषसरह महिलाको पनि ठुलो योगदान छ । नेपाली महिलाले परापूर्वकालदेखि विविध क्षेत्रमा विशिष्ट योगदान गर्दै आएका छन् । राजनीतिक, दार्शनिक, सांस्कृतिक, सामाजिक लगायत ज्ञान, विज्ञान, प्रविधि, कूटनीति, निजामती, प्रहरी, सेना, खेलकुद, यातायात आदि फाँटमा नेपाली महिलाले पुर्याउँदै आएको देन अविस्मरणीय छ । ‘प्रथम नेपाली महिला’ कार्यक्रम तिनै नेपाली महिलाहरूप्रति समर्पित छ, जसले चुनौतीका अनेक पहाड छिचोल्दै अभूतपूर्व उपलब्धि हासिल गरेका छन् ।
यस कार्यक्रममा प्रथम नेपाली महिलाका अपूर्व उत्साह, सक्रियता, सीप, कला, प्रगति, सफलता तथा प्रसन्नताका पाटाहरू खोतल्ने प्रयास गरेका छौँ । साथसाथै तत्कालीन बाधा, अड्चन, उत्पीडन, अन्योल, बेथिति र सङ्घर्ष एवं आन्दोलनका पाटा पनि यहाँहरू माझ पस्कँदै आएका छौँ ।
‘प्रथम नेपाली महिला’ शृङ्खलाको २७ औँ एपिसोड भद्र घलेका सम्बन्धमा छ । एक व्यक्ति अनेक आयामको नाम हो– भद्र घले । उनी ‘नेपाल महिला सङ्गठन’ की प्रथम ‘अञ्चल सभापति’ हुन् । जनकपुर अञ्चलको सदस्यमा चाहिँ उनी राजाबाट मनोनीत भएकी थिइन् ।
परिचय
- जन्ममिति : वि.सं. १९८८ फागुन १९
- जन्मस्थान : डिल्लीबजार, काठमाडौँ
- माता : भक्तकुमारी घले
- पिता : कृष्णबहादुर घले
- शिक्षा : शास्त्री (काशी विद्यापीठ)
- कृति : नारीको व्यथाका कथा (कथासङ्ग्रह), शक्तिरूपा नारी (कथासङ्ग्रह), मेरो सहयात्री (कथासङ्ग्रह), भावना (कवितासङ्ग्रह), कल्पना (कवितासङ्ग्रह), उपहार (कवितासङ्ग्रह), मेरो जीवन्त कविताहरू (कवितासङ्ग्रह), केही गीतिनृत्यनाटिका, राष्ट्रिय चिन्तन (निबन्धसङ्ग्रह), समयदृष्टि (निबन्धसङ्ग्रह), अस्तित्व (कवितासङ्ग्रह), राजसंस्थाप्रति नेपालीको आस्था (निबन्धसङ्ग्रह), आदिवासी तमूँ ‘के’, गुरुङको इतिहास, घलेको इतिहास, बुढ्यौली गन्थन, बुढ्यौलीको बटुलो, भुइँचालो लगायत २९२ किताब
- पदक/विभूषण : गोरखा दक्षिणबाहु (दोस्रो), शुभराज्याभिषेक पदक, शुभहीरक जन्मोत्सव पदक, दैवी प्रकोप पीडित उद्धार पदक, गद्दी आरोहण रजत महोत्सव पदक , वीरेन्द्र ऐश्वर्य पदक, रत्नश्री हीरक पदक, सुप्रबल जनसेवा श्री (तृतीय) आदि
भद्र घलेलाई चिन्न उनको राजनीतिक व्यक्तित्व मात्रै चिनेर पुग्दैन । साहित्यिक हेराइले मात्रै हेर्दा पनि भद्र घलेको पूर्ण परिचय पाउन सकिँदैन । चित्रकारिताको सेरोफेरोमा मात्रै पनि उनी अटाउँदिनन् ।
गायन, नृत्य र नाट्यकारिताको थप आँखा मात्रै पनि उनका लागि पर्याप्त हुँदैन । समाजसेवी, शिक्षा प्रेमी, मानवतावादी, आध्यात्मिक लगायत कैयन् कोण समेटेर हेर्दा मात्रै भद्र घलेको वास्तविक स्वरूप अगाडि देखा पर्न सक्छ ।
२०४७ सालपछि उनी राजनीतिबाट पन्छिन पुगिन् । उनलाई अहिलेको राजनीति पटक्कै मन पर्दैन । उनका अनुसार– अहिले राजनीति गर्ने मान्छे नै देखिँदैन । बोलीको ठेगान छैन ।
मुखपत्र (घोषणापत्र) अनुसार त नेताले बस्नुपर्यो नि, तर कोही बसेको देखिँदैन । ‘यो घिनलाग्दो अवस्थामा किन राजनीतिमा लाग्ने ?’ उनको निष्कर्ष रह्यो ।
महिलाले नयाँ बाटो समात्ने प्रयास गरिरहेकामा उनलाई खुसी लाग्छ । सहकारी, उपभोक्ता समिति तथा गैर सरकारी सङ्घ, संस्थामा महिला सहभागिता बढ्दै गइरहेकामा खुसी हुन्छिन् उनी ।
तर सरकारी क्षेत्रमा भने महिलालाई अझै उचित स्थान नदिइएको धारणा उनको छ । सबैतिर पुरुषकै खटनपटन रहेको र महिलालाई ‘पत्रु’ सम्झने प्रवृत्तिका कारण महिलाले उपयुक्त स्थान पाउन नसकेको उनको ठहर छ ।
महिलाहरू भ्रष्टाचारी पनि नहुने भएकाले सरकारले विभिन्न स्थानमा महिला सहभागिता बढाउनुपर्ने दृष्टिकोण उनको छ । १९८८ फागुन १९ गते डिल्लीबजार, काठमाडौँमा जन्मिएकी हुन् उनी ।
उनकी माता भक्तकुमारी घले र पिता कृष्णबहादुर घले हुन् । भद्र घलेको पुर्ख्यौली थलो ओखलढुङ्गाको आम्बोटे, घलेगाउँ हो ।
काठमाडौँ जन्मिएको भए पनि उनी सानैदेखि २ नं. चरिकोटको मावलीघरमा हुर्किइन् । उनका बाजे नरबहादुरले भद्र घलेलाई अक्षर सिकाएका थिए ।
उनी त्यहाँ दुर्गाकवच, बुद्धिचाणक, रामायण आदि पढ्न सक्ने भएकी थिइन् । उनका काका बर्मेली लाहुरे थिए ।
तिनै काकाले गोरखपुर लगी पढाउन थाले । त्यहाँको ‘गान्धी विद्यापीठ’ मा उनले प्राथमिक शिक्षा थालिन् ।
गोरखपुरबाट फर्किएपछि वि.सं. २००४ सालमा उनी ‘पद्मकन्या विद्याश्रम’ मा कक्षा तीनमा भर्ना भइन् । उनी चारमा पढ्दा स्कुल डिल्लीबजारमा सरेको थियो ।
यसपछि उनी २००५ सालमा सरकारी छात्रवृत्ति पाई तुलसीमेहरसँग भारतको मध्य प्रदेश, इन्दौरस्थित बर्धाको ‘गान्धी आश्रम’ पुगिन् । त्यहाँ उनले पाँचवर्ष पढेर विनीता (मेट्रिक) उत्तीर्ण गरिन् ।
यसबिच उनलाई क्षयरोगले ग्रसित पारेको थियो । रोग लागेको थाहा पाए भने पढ्न नदिइने डरले उनी नेपालै आइनन् ।
उनलाई पढ्ने र जान्ने रहरले कहिल्यै छाडेन । ‘कस्तुरबा गान्धी राष्ट्रिय मेमोरियल ट्रष्ट’ मा नर्स तालिमका लागि गइन् । ‘जनरल कोर्स’ भारतको इन्दौरमा गरेकी हुन् । ‘मिडवाइफ’ र ‘कम्पाउन्डिङ’ तालिम चाहिँ गुजरातको ‘रास’ भन्ने ठाउँमा गरिन् ।
यसपछि उनी नेपाल आएर जनकपुरमा एउटा रूखको फेदमुनि बसी नर्सको सेवा दिन थालिन् । यो त्यही थलो हो, जहाँ अहिले ‘जानकी पब्लिक अस्पताल’ रहेको छ ।
अनि, उनले बनारस गई ‘काशी विद्यापीठ, वाराणसी’ बाट आई.ए. गरिन् । वि.सं.२०१७ सालमा राजनीति, समाजशास्त्र र इतिहास विषय लिई ‘काशी विद्यापीठ’ बाटै ‘शास्त्री’ तह पार गरिन् ।
पुर्ख्यौली चिनारी दिनेक्रममा उनले ‘टुँडिखेल सम्याएका मेरा जिज्युबाजे नैनसिंह घलेले डिल्लीबजारमा पीपलको रुख लगाएका हुन्, जुन सडककिनारमा अझै रहेको छ’ भनी जानकारी दिएकी थिइन् । उनकी आमा भक्तकुमारी ‘पञ्चायती व्यवस्था’ की सशक्त राजनीतिक व्यक्तित्व ।
उनको प्रतिनिधित्व विभिन्न निकायमा रहेको थियो । भक्तकुमारी प्रशंसित तथा विभूषित पनि हुँदै आएकी थिइन् । आमाको सबैतिर राम्रो प्रभाव थियो ।
राजनीतिक क्षेत्रमा लाग्नुको पृष्ठभूमि औँल्याउँदै भद्र घलेले थप जानकारी दिए अनुसार त्यतिखेर अञ्चलाधीश डिलबहादुर श्रेष्ठ थिए । उनले जिल्ला सभापति भनेर टीका लगाई ११ पञ्चायतको जिल्ला कमिटी गठन गरी सभापति उठ्न आउनू भनेका रहेछन् ।
यसरी भद्र घले २०१८ सालमा ‘नेपाल महिला सङ्गठन’ को जिल्ला सभापति भइन् । अञ्चल सभापति चाहिँ २०१९ सालमा भएकी हुन् ।
भद्र घलेले ‘राष्ट्रिय पञ्चायत’ मा नेपाल महिला सङ्गठनबाट चारवटा चुनाव लडेकामा तीनपटक जितिन् । २०३६ सालपछि चाहिँ जिल्ला प्रतिनिधिका रूपमा लडेकी थिइन् ।
भद्र घले ‘जनमत सङ्ग्रह’ पछि ‘श्रम तथा समाजकल्याण राज्यमन्त्री’ पनि बनिन् । उनको कार्यकाल दुई वर्ष रह्यो ।
‘जनमत सङ्ग्रह’ यता ‘क्षेत्रीय प्रतिनिधि’ बनेकी भद्र घले २०५६ साल भदौ तीन गते ‘राजसभा स्थायी समिति’ की सम्मानित सदस्य बनिन् । २०४६ सालको परिवर्तनपछि उनी ‘जनजाति पार्टी’ की कोषाध्यक्ष बनेकी थिइन् ।
पार्टीको अध्यक्षता खगेन्द्रजङ्ग गुरुङले गरेका थिए । त्यतिखेर ‘साम्प्रदायिक सङ्गठन’ भनी दर्ता नगरिएकाले कामकुरो अघि बढ्न नसकेको दुखेसो पनि उनको छ ।
२०३८ सालमा स्वीट्जरल्यान्डमा आयोजित ‘अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आई.एल.ओ.)’ को अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन जाँदा नेपाली भाषामै मन्तव्य दिएर आफ्नो भाषाको गरिमा बढाएको सुखद स्मृति उनले सुनाएकी छिन् । जापान तथा मङ्गोलियामा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा पनि उनको सहभागिता थियो ।
विवाह नगरेकामा उनलाई पछुतो छैन । उनका अनुसार ‘बिहे नगर्दा जुन आनन्द अनुभव गर्न पाइएको छ, यसका निम्ति भगवान्लाई लाख, लाख धन्यवाद ।
बिहे गरेकाको बिजोग धेरै देखेकीले उनलाई लाग्यो– ‘म मनको राजा त छु ।’ गाउँघरमा महिला अपहेलित, पीडित र पिछडिएकामा उनलाई औधी दुःख लाग्छ ।
एउटा दाजु पर्नेले भाउजूलाई पिटेको घटनाले उनलाई पछिसम्म पिरोलिइरह्यो । तब त उनको भनाइ छ– ‘महिलाले आफूलाई कहिल्यै कमजोर ठान्नुहुँदैन ।
भद्र घलेका सिर्जनाले पनि यही वास्तविकता उजागर गरेका छन् । कविता, कथा, निबन्ध, गायन, गीतिनाट्य तथा चित्रकारिताका माध्यमबाट उनले नारीका वेदना, छटपटी, समस्या, मुक्ति र उत्थानका पाटा दर्साएकी छन् ।
महँगा, महँगा रङ्ग प्रयोग गर्दैमा उत्कृष्ट कला सिर्जना नहुने धारणा उनको छ । त्यसै कारण, उनले यही ध्वाँसे चित्रकारितामा जोड दिएकी हुन् ।
यसमा ढिकेनीर, बेसार, गेरू, मर्तेलको गाजलको प्रयोग गरिएको छ । उनले कसैसँग सिकेकी होइन ।
अभ्यासले गर्दा उनी राम्रो सिर्जना गर्न सफल भएकी हुन् । १५ वर्षको उमेरमै चित्रकारितामा लागेकी भद्र घलेको ‘पहिलो चित्रकला प्रदर्शनी’ २०२० सालमा भएको थियो ।
यसको समुद्घाटन राजा महेन्द्रले गरेका थिए । यसपछि पटक–पटक चित्रकला प्रदर्शनी गरिसकेकी घलेले देशबाहिर दार्जिलिङमा पनि प्रदर्शनी गरेकी छिन् ।
२३३ वटा जति चित्र थिए । तिनमा कतिपय चित्र त उनले उपहारमै दिइन् ।
अहिले दुई सय जति चित्र बाँकी रहेका छन् । २०८१ कात्तिक २१ गते दिउँसो उनकै निवासस्थलमा भेट हुँदा अचम्मलाग्दो के रह्यो भने ६ वर्षअघि र अहिलेको भेटमा कुनै अन्तर अनुभव भएन ।
साहित्यसिर्जना र समाजसेवाप्रति उनको उही उत्साह, उही उमङ्ग र उही सक्रियता देखियो । मुहारको चमक, बोलाइमा तेज र ध्येयप्रतिको स्पष्टताले ९३ वर्षीया भद्र घलेको सुस्वास्थ्यको मात्रै चिनारी गराएन ।
उनी उत्तिकै स्मरणीय, प्रशंसनीय तथा अनुकरणीय समेत रहेको भाव झल्कियो । यो उमेरमा आएर के अनुभव गरिँदैछ ? सोध्दा बुढ्यौलीको कथा, व्यथा त आफ्नै खालका छँदैछन् तर अहिलेको जस्तो आनन्दी जीवन कहिल्यै नरहेको पनि उनले बताइन् ।
साहित्य सिर्जनाबाहेक अहिले उनको मूल कार्य समाजसेवा बनेको छ । नेपाल ज्येष्ठ समाज, तमूँ गुम्बा, निखिल योग अनुसन्धान केन्द्र, भीमार्जुन पुस्तकालय, पाहुना घर, सङ्ग्रहालय, अनाथालय आदिसित उनको सम्बद्धता रह्यो ।
‘भद्रकुमारी घले सेवा सदन’ र ‘भद्रकुमारी शिक्षा सदन’ (माध्यमिक विद्यालय) मार्फत पनि उनले सेवा पुर्याइन् । काठमाडौं महानगरपालिकाले मापदण्डसम्बन्धी कडिकडाउ गर्दा धोबीखोला किनारस्थित देवीनगरमा रहेका ती संरचना भङ्ग हुन पुगे ।
यसका लागि उनी कसैलाई दोष लगाउन चाहँदिनन् । बरु, ‘बालेन’ ले ‘सदन’ लिएर उनको भार कम गरेकामा प्रसन्नता प्रकट गरेकी छिन् ।
यसै शान्त भई निष्क्रिय बस्ने स्वभाव भद्र घलेको पटक्कै होइन । देवीनगरमा बाँकी रहेका जग्गा बेचबाच गरी मैतीदेवीकै घरलाई नयाँ स्वरूप दिंदै ‘भद्रकुमारी घले सेवा सदन ऐतिहासिक अवशेष’ पुस्तकालय, सङ्ग्रहालय र आर्ट ग्यालरी’ खडा गरिन् ।
२०८० फागुन १९ गते समुद्घाटन गरिएको यस संस्थामार्फत उनी सक्रियताको बुनिरहेकी छिन् । तुलसीमेहरले आफूलाई ‘ट्रष्टी’ बनाउँदा जत्तिको खुसी अरू केहीमा नलागेको बताएकी छिन् उनले ।
राष्ट्रका विविध क्षेत्रको उन्नयनका निम्ति विभिन्न पुरस्कारको व्यवस्था पनि गरिएको छ ।भद्र घलेले अधिकांश जिल्ला भ्रमण गरेकी छिन् ।
विभिन्न देशदेशावर डुलेकी छिन् । उनका विदेशभ्रमणमा जर्मनी, बेल्जियम, फ्रान्स, वेलायत, स्वीट्जरल्यान्ड, जापान, रुस, मङ्गोलिया, थाइल्यान्ड, चीन, भारत आदि देश छन् । साहित्यसिर्जनामा उनको विशेष प्रवृत्ति रहेको छ ।
- नारीको व्यथाका कथा (कथासङ्ग्रह),
- शक्तिरूपा नारी (कथासङ्ग्रह),
- मेरो सहयात्री (कथासङ्ग्रह),
- भावना (कवितासङ्ग्रह),
- कल्पना (कवितासङ्ग्रह),
- उपहार (कवितासङ्ग्रह),
- मेरो जीवन्त कविताहरू (कवितासङ्ग्रह),
- केही गीतिनृत्यनाटिका,
- राष्ट्रिय चिन्तन (निबन्धसङ्ग्रह),
- समयदृष्टि (निबन्धसङ्ग्रह),
लगायत २९२ वटा कृति उनका प्रकाशित छन् ।
उनले गोरखा दक्षिणबाहु (दोस्रो), शुभराज्याभिषेक पदक, शुभहीरक जन्मोत्सव पदक, दैवी प्रकोप पीडित उद्धार पदक, गद्दी आरोहण रजत महोत्सव पदक , वीरेन्द्र ऐश्वर्य पदक, रत्नश्री हीरक पदक, सुप्रबल जनसेवा श्री (तृतीय) आदि जस्ता पदक/विभूषण पाएकी छिन् ।
धार्मिक सहिष्णुताकी पक्षपाती, गान्धीवादी उनी राजा महेन्द्रको व्यक्तित्वबाट अत्यन्तै प्रभावित छिन् । मुलुकको आर्थिक, सामाजिक, मानसिक विकासका लागि राजामहेन्द्रसँग विशालधारणा रहेको उनको अनुभूति छ । शिक्षा, विकास, संस्कृति र मानवताका निम्ति धेरै काम गर्न बाँकी रहेको उनको धारणा छ । उनको योगदानको कदरस्वरूप विभिन्न संस्थाबाट उनले अनेक पदक, पुरस्कार प्राप्त गरेकी छिन् । जोस, जाँगर र क्रियाशीलताकी प्रतिमूर्ति भद्र घले सबैका लागि प्रशंसनीय, अनुकरणीय तथा अविस्मरणीय रहेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण