बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘भूपरिवेष्टित मुलुकहरूको विकासका लागि क्षेत्रीय सहकार्यमा जोड दिनु पर्छ’

आइतबार, १५ असार २०८२, १० : ३६
आइतबार, १५ असार २०८२

सारांश

  • मन्त्री देवेन्द्र दाहालले भूपरिवेष्टित मुलुकहरूको विकासका लागि क्षेत्रीय सहकार्यमा जोड दिए।
  • उनले नेपाललाई कनेक्टिभिटीको माध्यमबाट समुद्री पहुँच पुर्‍याउन क्षेत्रीय सहकार्य आवश्यक रहेको बताए।
  • नेपालले छिमेकी मुलुकहरूसँग रणनीतिक करिडोरहरू र बहुआयामिक कनेक्टिभिटी नीतिलाई प्राथमिकता दिएको छ।

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपाल जस्ता भूपरिवेष्टित मुलुकहरूको विकासका लागि क्षेत्रीय सहकार्यमा जोड दिनुपर्ने बताएका छन् । 

टर्कीको ईस्तानबुलमा आयोजित ग्लोबल ट्रान्सपोर्ट कनेक्टिभिटी फोरम २०२५ लाई संवोधन गर्दै उनले भूपरिवेष्टित मुलुकहरुले पनि समुद्र सम्मको पहुँच स्थापित गर्नु पर्नेमा जोड दिए। समारोहमा ‘भूपरिवेष्टित बाट भुजडीत प्रयास मार्फत क्षेत्रीय विकासका रणनीतिक अवसरहरू’ विषयमा संवोधन गर्दै उनले सो कुरामा जोड दिएका हुन् । 

‘यदि हामी यातायात पूर्वाधारद्वारा कनेक्टिभिटी कायम गर्न सफल भयौं भने, समुन्द्री पहुँच समेत प्राप्त गर्न सकिन्छ, त्यसैले, नेपालसहित सबै स्थलबद्ध मुलुकहरूले अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्दै पूर्वाधार विकासमा संलग्न हुनु आवश्यक छ’ मन्त्री दाहालको भनाई थियो । 

नेपाल जस्ता भूपरिवेष्टित मुलुकहरूलाई ‘कनेक्टिभिटी’ (सडक सञ्जाल तथा पूर्वाधार) को माध्यमबाट समुद्री पहुँच सम्म पुर्याउन क्षेत्रीय सहकार्यको आवश्यकता रहेको उनले उल्लेख गरे । 

भूपरिवेष्टित बाट भूजडीत बन्न, सडक, रेल, र बन्दरगाहमा मात्र नभई सहकार्य, विश्वास, र साझा दृष्टिकोणमा पनि लगानी गर्नुपर्ने भन्दै मन्त्री दाहालले नेपाल सबै विकास साझेदार, छिमेकी मुलुकहरू, तथा अन्तर्राष्ट्रिय निकायहरूसँग सहकार्य गर्न तयार रहेको प्रस्ट पारे। 

छिमेकी मुलुकहरूसँगको ‘कनेक्टिभिटी’ प्राथमिकतामा

संवोधनका क्रममा उनले छिमेकी मुलुकहरूसँग जोड्ने रणनीतिक करिडोरहरुलाई प्राथमिकता दिएको पनि बताएका छन् । नेपालले बहुआयामिक तथा बहुदिशात्मक कनेक्टिभिटी नीति अङ्गीकार गरेको उल्लेख गर्दै उनले निर्माणाधीन करीडोरहरुले विशाल भूगोल र जनसङ्ख्या भएका दुई छिमेकी मुलुकहरूलाई जोड्ने उल्लेख गरे । 

विभिन्न उत्तर–दक्षिण करिडोरहरू निर्माणाधीन अवस्थामा रहेको र तिनले हिमाल देखि तराई सम्म हुँदै बन्दरगाहाहरु सम्मे जोड्ने बताए। ‘हामी चीनसँग ट्रान्स–हिमालयन कनेक्टिभिटी परियोजना अन्तर्गत राजमार्ग विस्तार र रेलमार्गको सम्भाव्यता अध्ययनमा संलग्न छौँ’ उनले भने, ‘नेपाल बङ्गलादेशका बन्दरगाहहरूसम्म पहुँच विस्तार र बिम्सटेक, बीबीआईएन जस्ता क्षेत्रीय संरचनाहरूमार्फत दक्षिण–पूर्वी एशिया सम्म जोड्ने योजनामा कार्यरत छ ।’

नेपाल प्राकृतिक विपद् बाढी, पहिरो, र भूकम्पप्रति अत्यन्त संवेदनशील मुलुक रहेको उल्लेख गर्दै मन्त्री दाहालले हिमाल, पहाड, चुरे भावर, तराई जस्ता विशिष्ट भौगोलिक अवस्था रहेको नेपालमा कमजोर माटो र मिश्रित चट्टानी संरचनामा आधारित भएका कारण पहिरोको जोखिम उच्च रहेको पनि बताए। 

हिमाली क्षेत्रका हिउँदे नदीहरू तीव्र गतिको साथ बग्ने, पहाडी क्षेत्रमा बेगवान हुने र तराईमा आई पुग्दा समेत तीव्रता कायमै हुने गरेका कारण नेपालले  हरेक वर्ष बाढी र पहिरोबाट ठुलो क्षति व्यहोर्नु परेको बताए। यस प्रकारको भौगालिक अवस्था र विशिष्टता पनि नेपालको यातायात पूर्वाधारका लागि प्रमुख चुनौती रहेको मन्त्री दाहालले प्रस्ट पारे।

२६ जुनमा टर्की पुगेका मन्त्री दाहाल लाई विमानस्थलमा टर्कीका यातायात राज्य मन्त्रीले स्वागत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप