एमालेमा ओलीको ‘विकल्प’ भण्डारी, दुवैसामु के–कस्ता चुनौती ?
सारांश
- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किइन्, जसले पार्टीभित्र हलचल ल्यायो।
- भण्डारीको पुनरागमनलाई एमालेमा ओलीको विकल्पको रूपमा हेरिएको छ, तर कतिपयले ओली र भण्डारी मिलेर अगाडि बढ्ने विश्वास व्यक्त गरे।
- विश्लेषकहरूका अनुसार, भण्डारीको आगामी भूमिका, नीति, र रणनीति एमालेको आन्तरिक राजनीति र कम्युनिस्ट एकताका लागि महत्त्वपूर्ण हुनेछ।
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेसँगै पार्टीको आन्तरिक राजनीतिमा ‘हलचल’ पैदा भएको छ ।
जननेता मदन भण्डारीको ७४ औँ जन्मजयन्तीका अवसरमा शनिबार आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले पवित्र उद्देश्यका साथ नेकपा एमालेबाट आफ्नो राजनीतिक यात्रालाई निरन्तरता दिने घोषणा गरेपछि एमालेमा हलचल पैदा भएको हो । एमालेमा ओलीको विकल्प कोही छैन भनेर नेताहरूले खुलेआम भनिरहेका वेला भण्डारीको पुनरागमन त्यसैको जबाफ भनेरसमेत टिप्पणी हुन थालेको छ ।
‘दशौँ राष्ट्रिय महाधिवेशनपछि पनि हाम्रा धेरै नेताहरूले एमालेमा ओलीको विकल्प छैन भन्ने गरेका थिए । यसले पार्टीभित्र उकुसमुकुस छँदैथियो’, एमालेका एक पदाधिकारीले भने, ‘७० वर्षे र दुई कार्यकालको व्यवस्थासमेत मिच्ने प्रयत्न भइरहेका वेला भण्डारीले पार्टीमा सक्रिय हुने घोषणा गर्नु त्यसैको जबाफ हो ।’
सक्रिय राजनीतिमा फर्कने भण्डारीको घोषणाले उनलाई आगामी दिनमा नेकपा एमालेको ११ औँ महाधिवेशनमार्फत अध्यक्ष बन्ने र २०८४ को निर्वाचनमा संघीय सांसद बन्ने ढोका खुलेको चर्चा एमालेभित्रै बढ्दो छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा ७० वर्षे उमेर हद असफल भैसकेको भन्दै पुनः अर्को कार्यकाल पनि अध्यक्ष हुने आकांक्षा व्यक्त गरेको केही दिनमै भण्डारीको सक्रिय राजनीतिमा फर्कने घोषणाले ओलीको भित्री चाहनामा धक्का लागेको उनीहरूको विश्लेषण छ ।

हुन पनि एमालेमा पछिल्लो समय ‘ओली नै एमाले र एमाले नै ओली’ भन्ने भाष्य निर्माण हुँदै गएको थियो । ओलीलाई टक्कर दिनसक्ने नेताहरू माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमहरू एमालेबाट दशौँ राष्ट्रिय महाधिवेशनअघि नै बाहिरिएकाले पनि ओली निर्विकल्पजस्तै बन्न पुगेका थिए । ओली आफैँले पनि अझै २०–२५ वर्ष नेतृत्व नछोड्ने सार्वजनिक रूपमै घोषणा गरेको अवस्थामा विद्या पक्षका एमाले नेता–कार्यकर्ताहरू उनलाई सक्रिय राजनीतिमा फर्काउन चाहन्थे । काठमाडौँको राष्ट्रिय सभा गृहबाट भण्डारीले शनिबार सयौँ नेता–कार्यकर्तामाझ पार्टीमा फर्कने घोषणा गर्दा त्यहाँ उपस्थित एमाले नेता–कार्यकर्ताले भण्डारीलाई ताली बजाएर स्वागतमात्रै गरेनन्, यो स्वागत आगामी दिनमा एमालेमा ओलीको विकल्पको रूपमा व्याख्यासमेत गर्न भ्याए । तर कतिपय कार्यकर्ता आगामी दिनमा ओली र विद्या भण्डारी मिलेरै अगाडि बढ्नेमा विश्वस्तसमेत देखिन्थे ।
‘विद्या भण्डारी र केपी ओली भनेर होइन कि आपसमा मिलेर जाने वेला भयो भनेर उहाँहरू दुवैले महसुस गर्नुभएको छ’, शनिबार राष्ट्रिय सभागृहमा पुगेका एक केन्द्रीय सदस्यले भने, ‘बाहिरबाट हेर्दा विद्या र ओलीबिच खटपट वा धु्रवीकरण बढ्छ कि भन्नेजस्तो त देखिन्छ तर त्यो अवस्था हुन नदिन अब दुवै नेताले ध्यान दिनुपर्छ र दिएकै पनि हुनुपर्छ ।’
भण्डारीले एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेको केहीवेरमै एमाले महासचिव शंकर पोखरेलले उक्त घोषणालाई केही शंकाको दृष्टिले हेरे, जसलाई कतिपयले विद्याको पुनरागमनलाई पोखरेलले नरुचाएको रूपमा समेत व्याख्या गरेका छन् । यद्यपि महासचिव पोखरेलले एमालेविरुद्ध धु्रव खडा गर्ने अवसरवादी तत्त्वहरू सल्बलाउन सक्नेतर्फ संकेत गर्दै पूर्वराष्ट्रपति भण्डारी एमालेको विकास र समृद्धिको आकांक्षाबाट बाहिर जान नसक्ने विश्वास व्यक्त गरे ।
‘मलाई लाग्छ हाम्रो सम्माननीय पूर्वराष्ट्रपति नेकपा एमालेको विकास र समृद्धिको आकांक्षाबाट बाहिर जान सक्नुहुन्छ भन्ने म ठान्दिनँ,’ महासचिव पोखरेलले भने, ‘सामाजिक सञ्जालमा अनेक प्रकारका प्रवृत्ति देखा परिराखेका छन् । त्यसका नाममा कतिपय अवसरवादी तत्त्वहरू सलबलाइराखेका छन् ।’

पोखरेल त्यतिमा मात्रै रोकिएनन्, यसअघि २०७९ को निर्वाचनका वेला पार्टीमा देखाइएको धु्रवीकरणको प्रसङ्ग पनि उनले निकाले ।
महासचिव पोखरेलले त्यसवेला आफू र एमाले उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेलबिच धार जन्माउने प्रयास भएको तर सफल नभएपछि अहिले अर्कोतिर खेतीपाती सुरू भएको बताए ।
‘शंकर पोखरेल र विष्णु पौडेलका नाममा धार जन्माउने कोसिस भए । कित्ताकाटको प्रयत्न नभएको हो र ?,’ प्रश्न गर्दै पोखरेलले भने, ‘आज हेर्नुभयो भने शंकर पोखरेल र विष्णु पौडेल भन्ने कित्ताकाटको आवश्यकता हरायो । त्यो खेतीपाती अर्कातिर सुरू भयो ।’
पोखरेलको यो अभिव्यक्ति एमालेमा विद्या भण्डारीको इन्ट्रीपछि विद्या र ओलीबिच ध्रुवीकरणको प्रयास हुनेतर्फ संकेत थियो । ‘यसरी एमालेलाई कमजोर पार्न ध्रुव खडा गर्ने प्रवृत्ति एमालेको हितमा हुँदैन’, महासचिव पोखरेलको भनाइ छ ।
उल्लेखनीय छ, पोखरेलले भण्डारीलाई रोक्न विधानमै व्यवस्था गरेर जानुपर्ने मत सचिवालय बैठकमै राखेका थिए । तर उनको प्रस्तावलाई अन्य सचिवालय सदस्यहरूले साथ नदिएकाले उनी पछि हट्न बाध्य बनेका थिए ।
महासचिव पोखरेलमात्र होइन, एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि यही संकेत गरेका छन् । मदन जयन्तीका अवसरमा प्रमुख अतिथिका रूपमा सहभागी भएर समय अभावले पहिल्यै बोलेर हिँडेका प्रधानमन्त्री ओलीले बम–बारुद पड्कनेदेखि धु्रवीकरणको चर्चा हुन थालेको भन्दै बाहिर चर्चा भएजस्तो केही नहुने, बरु पार्टी एकता कायम भएर जाने बताए । भण्डारीले आफ्नो कुरा सुन्न गरेको आग्रहलाई समयको अभावले सुन्न नसकेको बताएका ओलीले विद्याजीले के भन्नुहुन्छ भन्ने आफूलाई थाहा भएको र पहिलेदेखि नै सुन्दै आएकोसमेत बताएका थिए ।

त्यतिमात्रै होइन, ओलीले एमाले नेतृत्व निकै अप्ठ्याराहरूसँग जुध्दै यहाँसम्म आइपुगेको र मदन भण्डारीकै सवालमा पनि अनावश्यक लाञ्छना र आरोप लाग्ने गरेको प्रसङ्ग कोट्याएका थिए । ‘एमाले नेतृत्वमाथि हमला, निन्दा, विरोध भइरह्यो । उसवेला मदन भण्डारीलाई पनि फुत्त दुलाबाट निस्किएर नेता हुन पाइन्छ ? भनेकै हो’, ओलीले भने, ‘मदन भण्डारी फुत्त दुलाबाट निस्किएर नेता हुनुभएको थिएन । भूमिगत काम गरेको धेरै भएको थियो ।’
त्यसपछि अध्यक्ष ओलीले मदन भण्डारीमाथि पनि लाञ्छना र आरोप लागेको प्रसङ्ग कोट्याए । ‘मदन भण्डारीका सन्दर्भमा धेरै लाञ्छना लगाइए, चरित्र हत्या गरिए । चारवटी कि कति वटा श्रीमती छन् भनेर आरोप लगाइयो’, उनले भने, ‘यस्तो अनेक दुर्वाच्य ! अनेक बोलियो ! सहकारीमा ठगेर हिँडेको आदि इत्यादि भनेर आरोप लगाइयो । कुनै सम्पर्क सम्बन्ध नभएका विषयमा शतप्रतिशत झुट, लाञ्छनाहरू लगाइए ।’
- विद्यालाई ओली समेट्ने पहिलो चुनौती
त्यसो त पूर्वराष्ट्रपतिजस्तो सम्मानित पदमा रहिसकेको व्यक्ति सक्रिय राजनीतिमा नआएकै राम्रो भन्ने कोणबाट यसअघिदेखि नै विश्लेषण हुँदै आएको थियो । यद्यपि संविधानले नरोकेको अवस्थामा व्यक्तिकै निर्णयमा भरपर्ने भएकाले यसबारे थप बहस गरिरहन उपयुक्त नहुने धेरैले बताउँदै आएका थिए ।
भण्डारीमात्र होइन, उनकै कार्यकालमा उपराष्ट्रपति भएका नन्दबहादुर पुन पनि माओवादीको सक्रिय राजनीतिमा फर्किसकेका छन् ।
एउटा सामान्य व्यक्ति पार्टीमा आउनु र जानुले त्यति अर्थ राख्दैन तर पूर्वराष्ट्रपति र उपराष्ट्रपति भएका व्यक्ति सक्रिय राजनीतिमा आउनुले राजनीतिक सन्देश र सम्बन्धित पार्टीमा कुनै न कुनै रूपमा अर्थ राख्ने विश्लेषकहरूको भनाइ छ ।
राजनीतिक विश्लेषक झलक सुवेदीको बुझाईमा एमालेको सक्रिय राजनीतिमा विद्या भण्डारीको पुनरागमनसँगै उनले आगामी दिनमा लिने नीति, रणनीति र नेतृत्वको प्रश्न मुख्य रहन्छ । एमालेको आन्तरिक राजनीति र कम्युनिस्ट एकताकै सन्दर्भमा पनि विद्याले आगामी दिनमा चाल्ने कदम महत्त्वपूर्ण हुने सुवेदी ठान्छन् ।

‘वामपन्थी एकताबारे उनले के नीति लिन्छन्, त्यसमै भरपर्छ । तर एमालेमा ओलीभन्दा बाहेक विद्या भण्डारी नेतृत्वमा आइन् र उनले एकताको पहल गरिन् भने हुन पनि सक्छ भन्ने एकपक्षको बुझाई छ’, सुवेदीले रातोपाटीसँग भने, ‘यद्यपि अहिले नै उनले पहल गर्ने–नगर्ने केही नभनेको तर उनले पहल गर्दा ओलीसँग भन्दा उनीसँग एकता गर्न सहज हुन्छ कि भन्ने बुझाई छ ।’
ओलीको विकल्पका रूपमा भण्डारी एमालेमा आउन खोजेको र ल्याउन पनि खोजेको देखिएको सुवेदीको बुझाई छ । ‘विद्या अब पार्टीको सदस्यमात्रै भएर बस्न वा मरेपछि पार्टीको झण्डा ओढाइयोस् भनेर त आएकी होइनन् होला’, उनले भने, ‘विद्या आफू आउन चाहेकी हुन् र आउने क्रममा अरुको साथ पनि लिएकी हुन् । दुवै पक्षको स्वार्थ मिलेको हो ।’
सुवेदीले अब ओली र विद्या दुवैबिच सल्लाह र सहमतिमा पार्टीका काम–कारवाही र निर्णय भएमा सहज हुने बताए । ‘ओली दुई पटक पार्टी अध्यक्ष र पटक पटक प्रधानमन्त्री भएको अवस्था हो भने विद्या राष्ट्रपति भइसकेको र एउटै पार्टीमा रहेपछि आगामी दिनमा सल्लाह गरेर यसरी जाउँ भन्दा नै एमालेमा एकता कायम रहन्छ’, सुवेदीको सुझाव छ ।
अर्का राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेल ओलीले अहिलेसम्म हिँडेको बाटोविरुद्ध हिँड्नु विद्याका लागि पहिलो चुनौती रहेको बताउँछन् ।
‘विद्या आफूलाई पार्टीभित्र स्थापित गर्नुपर्ने पहिलो चुनौती देखिन्छ’, पोखरेलले भने, ‘ओलीका झोलेहरूले त्यति सहजै नस्वीकार्न सक्छन् ।’
विद्या भण्डारी सक्रिय राजनीतिमा आएसँगै मदन भण्डारीको नाममा ओलीले गर्ने राजनीति फुस्किएको पोखरेलको विश्लेषण छ । ‘ओलीको हातबाट फुस्केर विद्याको हातमा गएपछि उनलाई चुनौती हुन्छ । अर्कोतिर ओलीलाई पनि साथै लिएर हिँड्नुपर्ने चुनौती विद्यासामु हुन्छ । त्यो भएन भने आमनेसामने हुने निश्चित छ ।’
भण्डारीले सहज रूपमा त्यो ठाउँ पाउँछु भन्ने नसोचेको पनि पोखरेलको बुझाइ छ । ‘भण्डारीले रोजेको नै चुनौतीको बाटो हो । किनभने उहाँले सहज रूपमा प्लेटमा सजाएर त्यो ठाउँ मैले पाउँछु भनेर सोचेको देखिँदैन’, पोखरेलले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण