बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अर्थ

रुग्ण चार उद्योग बेच्न सरकारले अघि बढायो प्रक्रिया

सम्पत्ति मूल्याङ्कन गर्न परामर्शदाता नियुक्तका लागि आशय पत्र माग
सोमबार, १६ असार २०८२, १८ : ०५
सोमबार, १६ असार २०८२

सारांश

  • सरकारले बन्द रहेका चार सरकारी उद्योग बिक्री गर्न प्रक्रिया अघि बढाएको छ।
  • अर्थ मन्त्रालयले उद्योगहरूको सम्पत्ति मूल्यांकनका लागि परामर्शदाता नियुक्तिको प्रक्रिया थालेको छ।
  • आगामी बजेटमा उल्लेख भए अनुसार मन्त्रालयले पहिलो चरणमा चार उद्योगको मूल्यांकन थालेको हो।

काठमाडौँ । सरकारले बन्द अवस्थामा रहेका चार सरकारी उद्योगहरू बिक्री गर्न प्रक्रिया अघि बढाएको छ । अर्थ मन्त्रालयले रुग्ण उद्योगहरूको सम्पत्ति मूल्याङ्कन गर्न परामर्शदाता नियुक्तिको प्रक्रिया अघि बढाएको हो । उक्त प्रक्रियाका लागि मन्त्रालयले यसका लागि आशय पत्र मागेको छ ।

मन्त्रालयले पहिलो चरणमा जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना, नेपाल मेटल कम्पनी, नेपाल ओरियन्ट एन्ड म्याग्नेसाइटको सम्पत्ति मूल्याङ्कन (भ्यालुयसन) का लागि परामर्शदाता नियुक्त गर्न प्रक्रिया थालनीको लागि आशय पत्र मागेको छ । 

यही असार २३ गतेसम्म जनकपुर चुरोटको सम्पत्ति मूल्याङ्कनको आशय पत्र पेस गर्ने भनिएको छ । यस्तै, असार २३ गते नै आशय पत्र खोल्ने मन्त्रालयले जनाएको छ ।

त्यस्तै, मन्त्रालयले बुटवल धागो कारखाना, नेपाल मेटल कम्पनी, नेपाल ओरियन्टको सम्पत्ति मूल्यांकनका लागि असार २७ गतेलाई आशय पत्र पेस गर्ने मिति तोकिएको छ ।

उक्त उद्योगहरूको लागि सोही दिन बोलपत्र खोल्ने जानकारी मन्त्रालयले दिएको छ । अर्थ मन्त्रालयका अनुसार रुग्ण चार उद्योगहरूको सम्पत्ति मूल्यांकनका लागि  परामर्शदाता नियुक्त गरेर मात्रै प्रक्रिया अघि बढ्ने छ ।  

सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना, नेपाल मेटल कम्पनी, नेपाल ओरियन्ट एन्ड म्याग्नेसाइट, गोरखकाली रबर उद्योग, हेटौँडा र उदयपुर सिमेन्ट उद्योगलगायतका सार्वजनिक प्रतिष्ठानको विद्यमान अवस्था र व्यावसायिक सम्भाव्यताको अध्ययन गरी सरकारी लगानी व्यवस्थापन गरिने उल्लेख गरेको छ ।

बजेटमा उल्लेख गरे बमोजिम नै मन्त्रालयले पहिलो चरणमा चार उद्योगको सम्पत्ति मूल्याङ्कन थालेको मन्त्रालयले जनाएको छ । गत वैशाख १५ गते बसेको मन्त्रीपरिषद्ले सात रुग्ण उद्योगको सम्पत्ति ‘व्यवस्थापन’ गर्ने निर्णय लिएको थियो ।

उक्त दिन मन्त्रिपरिषद्ले जनकपुर चुरोट कारखाना लिमिटेड, गोरखकाली रबर उद्योग लिमिटेड, उदयपुर सिमेन्ट उद्योग लिमिटेड, नेपाल मेटल कम्पनी लिमिटेड, हेटौँडा सिमेन्ट उद्योग लिमिटेड, बुटवल धागो कारखाना लिमिटेड र नेपाल ओरियन् म्याग्नेसाइट प्रालि गरी सात प्रतिष्ठानको सरकारी लगानी व्यवस्थापन गर्न अर्थ मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयपछि अर्थ मन्त्रालयले सात उद्योगको अध्ययन अघि बढाएको छ । अर्थ मन्त्रालयले वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख सेवन्तक पोखरेलको संयोजकत्वमा समिति गठन गरेर अध्ययनको काम गरिरहेको छ ।

सात उद्योगहरूमध्ये उदयपुर र हेटौडा सिमेन्ट उद्योग मात्र सञ्चालनमा छन् । तर,  गोरखकाली, जनकपुर, ओरियन्ट, बुटवल धागो कारखाना बन्द भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप