कर्णालीको बजेटप्रति असन्तुष्टि : प्रदेशसभा बैठकमै सांसदद्वारा बजेट किताब च्यातियो
सारांश
- कर्णाली प्रदेश सभामा माओवादी केन्द्रका सांसद रणसिंह परियारले बजेट पुस्तिका च्यातेर विरोध जनाए।
- सांसद परियारले बजेट विभेदकारी भएको र गरिब जनताको हित विपरीत भएको आरोप लगाए।
- उनले मन्दिर निर्माणमा धेरै बजेट र दलित समुदायको आयआर्जनमा कम बजेट विनियोजन भएकोमा असन्तुष्टि जनाए।
सुर्खेत । कर्णाली प्रदेश सभामा विपक्षी दल नेकपा (माओवादी केन्द्र) का सांसद रणसिंह परियारले सरकारले प्रस्तुत गरेको बजेट किताब च्यातेका छन् ।
सोमबार बसेको प्रदेश सभा बैठकमा सामाजिक र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको बजेटमाथिको छलफलका क्रममा बोल्दै उनले बजेट विभेदकारी र गरिब जनताको हित विपरीत भएको भन्दै रातो किताब च्यातेर विरोध जनाएका हुन् ।
सांसद परियारले बजेट उत्पादनमुखी नभई मन्दिर र मूर्ति निर्माणजस्ता अनुत्पादक क्षेत्रमा केन्द्रित भएको आरोप लगाए। ’यो बजेट गरिबको पक्षमा छैन,’ उनले आक्रोशित हुँदै भने, ’यसले कर्णालीका गरिब र निमुखा जनताको भावनामाथि कुठाराघात गरेको छ ।’
उनले बजेटमा मन्दिर र देवस्थलका लागि १२ करोड रुपैयाँभन्दा बढी छुट्याइएको तर गाई चराउने खर्क व्यवस्थापनका लागि जम्मा १० लाख रुपैयाँ राखिएको भन्दै असन्तुष्टि पोखे ।
त्यस्तै, दलित समुदायको आयआर्जनका लागि छुट्याइएको ५ करोडको बजेट पनि अपर्याप्त र वितरणमुखी मात्र भएको उनको टिप्पणी थियो ।
उनले बजेट विनियोजनमा मन्त्रीको गृह जिल्ला र आफ्नो जिल्ला हुम्लाबिच ठुलो विभेद गरिएको तथ्याङ्क पनि प्रस्तुत गरे ।
विगतमा सरकारले ल्याएको ‘एक पालिका, एक नमुना विद्यालय’ जस्ता कार्यक्रमलाई निरन्तरता नदिएको र आफ्नो निर्वाचन क्षेत्रका सिमाली आवासीय विद्यालय तथा अन्य विद्यालयका लागि सिफारिस गरिएका योजनाहरूमा बजेट नपरेकोमा पनि उनले आपत्ति जनाए ।
आफ्नो मन्तव्यको अन्त्यमा उनले बजेट पुस्तिका हातमा लिएर भने, ’यो बजेट गरिब जनताको पक्षमा छैन ।’ यति भन्दै उनले बजेट किताब च्यातेर फालेका थिए ।
उनले यस्तो बजेटको पक्षमा उभिनुभन्दा जनतासँग माफी माग्न तयार रहेको तर अन्याय नसहने चेतावनी दिए ।आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल चलिरहँदा सांसद परियारले यो प्रतीकात्मक विरोध गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण