आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : कुलिङ पिरियडमा ‘किर्ते’ देखि भद्रगोल महानगरसम्म

मङ्गलबार, १७ असार २०८२, २२ : ००
मङ्गलबार, १७ असार २०८२

आज २०८२ असार १७ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

  • बजेट सम्बन्धी सूचना चुहावट

 आगामी आर्थिक वर्ष (०८२/०८३) को बजेट प्रस्तुत हुनुअघि नै चुहावट भएको विषयलाई अन्ततः कर्णाली प्रदेश सरकारले कमजोरी भएको स्वीकार गरेको छ । बजेट चुहावटको दोष प्रदेश सभा सचिवालयलाई लगाएका अर्थमन्त्री राजीवविक्रम शाहले अन्ततः बजेटका दस्तावेज पठाउँदा व्यवस्थापकीय कमजोरी भएको स्वीकार गरेका हुन् ।

  • पोखराको स्मार्ट हवाई इन्धन डिपो

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन भण्डारणका लागि निर्माण गरिएको अत्याधुनिक डिपो सञ्चालनको अन्तिम चरणमा पुगेको छ । नेपाल आयल निगमले करिब ७७ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न गरेको यो डिपो आगामी साउन दोस्रो सातादेखि सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

  • प्राकृतिक ग्यास

पश्चिम नेपालमा प्राकृतिक ग्यासको भण्डारण भेटिएपछि यतिवेला सरकार यसको परीक्षण उत्पादनको तयारीमा जुटेको छ । चिनियाँ प्राविधिक टोलीको सहयोगमा दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा गरिएको ड्रिलिङबाट एउटा कुवामा मात्रै १ खर्ब १२ अर्ब घनमिटर बराबरको प्राकृतिक ग्यास रहेको पत्ता लागेको हो ।

  • कुलिङमा किर्ते

 जनप्रतिनिधिको सर्वोच्च थलो संसदबाट पारित निजामती कर्मचारी विधेयकमा ‘किर्ते’ गरिएको विषयले मंगलबार दिनभर चर्चा पायो । सांसदहरूले नै थाहा नपाउने गरी विधेयकमा ‘बाहेक’ शब्द घुसाएको भन्दै यसबारे के सत्तापक्ष के प्रतिपक्ष ? सबै सांसदहरू नै अचम्मित भए ।

  • भद्रगोल महानगर

काठमाडौँ महानगरपालिकामा जनप्रतिनिधि र कर्मचारीबिचको समन्वय अभाव तथा व्यक्तिगत ‘इगो’का कारण समग्र कामकारबाही अस्तव्यस्त बनेको छ । विशेषगरी, नगर प्रमुख बालेन्द्र शाह (बालेन) र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबिच ६ महिनादेखि जारी टकरावले महानगरलाई बन्धक बनाएको हो ।

  • विद्याको कम्ब्याक

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी १० वर्षपछि पार्टीको सक्रिय राजनीतिमा फर्किएको घोषणाले नेकपा एमाले वृत्तमा ठुलै हलचल ल्याएको छ । एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७४ औँ जन्मजयन्तीको अवसरमा शनिबार पूर्वराष्ट्रपति भण्डारीले पुनः पार्टी राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् ।

  • शानदार जित

रौनक श्रीवास्तव एक्लैले १ सय ६८ रन बनाउँदा र विपिनले चार विकेट लिँदा नेपालले एसीसी पुरुष यू–१६ इस्ट जोन कप क्रिकेटमा भुटानमाथि २ सय ९८ रनको सहज जित निकालेको छ । सोलानगोर मलेसियामा नेपालले दिएको ३ सय ५९ रनको विशाल लक्ष्य पछ्याएको भुटानले ३२ ओभर २ बलमा समपूर्ण विकेट गुमाउँदै मात्र ६० रन बनायो ।

  • न्यायालय

अग्नि सापकोटालाई सभामुखमा रोक्न माग गर्दै २०७६ माघ १० गते सर्वोच्च अदालतमा दायर मुद्दा अझै किनारा लागेको छैन । २०७६ माघ १२ गते पहिलो पटक पेसी तोकिएकोमा हेर्न नमिल्ने भएको उक्त मुद्दामा सोही वर्षको माघ १४ गते कारण देखाऊ आदेश जारी भएको थियो । 

ठमाडौँ महानगरपालिकाअन्तर्गत नगर प्रहरीविरुद्ध उच्च अदालत पाटनमा रिट निवेदन दायर भएको छ । 

म्युजिसियन दीपक शाक्यलाई निर्घात कुटपिट गर्नेलाई ललितपुर जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद कोइरालाले ‘उन्मुक्ति’ दिएको घटना बाहिरिएको छ । 

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री दाबी गर्दै अन्तरिम आदेशका लागि मुकुल ढकालले दायर गरेको रिट हेर्न नभ्याइने भएको छ । 

  • राजस्व लक्ष्य

चालु आर्थिक वर्षमा सरकारले कुल १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ बराबरको राजस्व उठाउने लक्ष्य लिएको थियो । आर्थिक वर्ष सकिन डेढ महिना बाँकी हुँदा भने सरकारले नयाँ आवको बजेटमा उक्त लक्ष्यलाई संशोधन गरेर १२ खर्ब ६७ अर्ब ३९ करोड रुपैयाँमा झार्‍यो । जुन सुरु अनुमानको ८९.३० प्रतिशत बराबर हो । 

  • मनसुनका एक महिना

 गत जेठ १५ देखि यही असार १६ गतेसम्म ६७४ वटा मनसुनजन्य विपद्का घटना भएका छन् । ती घटनामा  ३१ जनाको मृत्यु भएको छ भने ११२ जना घाइते भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप